१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युद्ध पर्यटकीय क्षेत्र बन्दै पिली

यहाँका घरघरमा मिटर जडित खानेपानीका धारा, सिँचाइ, पोखरी, टेलिकम टावर, कालिका माविको भवन निर्माणका काम जारी
तुलाराम पाण्डे

पिली, कालीकोट — खाडाचक्र ७, पिलीकी ७१ वर्षीया देउकला मल्ललाई पिली घटनाबारे सम्झिँदा अझै कहाली लाग्छ । १४ वर्षअघि माओवादी आक्रमणको अन्तिम फौजी निशाना बनेको पिलीमा सेनालाई रासन पुर्‍याउन सहयोग गर्ने देउकलाका पति शक्ति मल्ललाई तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।

युद्ध पर्यटकीय क्षेत्र बन्दै पिली

पिली घटनामा ६५ सेनासहित सय बढीले ज्यान गुमाएका थिए भने त्यत्तिकै संख्यामा घाइते अंगभंग भएका थिए । माओवादीले ६० नेपाली सेना अपहरण गरी १ महिनापछि जाजरकोटबाट मुक्त गरेको थियो । युद्धका घाउमा खाटा बस्दै गएपछि उनको दैनिकी पनि फेरिएको छ । उनले आफ्नै घरमा होमस्टे (घरबास) सञ्चालन गरी स्थानीय परिकारका खाना र वातावरण पाहुनालाई दिएर पिली चिनाउने गर्छिन् । ‘होमस्टेबाट केही आम्दानी पनि हुन्छ,’ उनले भनिन्, ‘ठूलो कुरा त देश विदेशीसँग भेट हुन्छ ।’ उनले पुराना कुराले मन अशान्त भए पनि नयाँ विकासले संसार यस्तै रहेछ भन्ने महसुस हुन थालेको सुनाइन् ।


शान्तिप्रक्रियाको आधार बनेको पिली घटनालाई स्मरण गर्न र नेपालको सशस्त्र द्वन्द्वलाई भावी पुस्ताले पनि जानकारी पाउन भन्ने उद्देश्यले साबिक शान्ति मन्त्रालयले युद्धपर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेको थियो । खाडाचक्र नगरपालिकाले पनि पिलीलाई नगर सभामार्फत युद्ध पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने घोषणा गर्दै बजेटका लागि पहल गरेको नगर प्रमुख जसीप्रसाद पाण्डे बताए । उनले पिलीमा घरघरमा मिटर जडित खानेपानीका धारा, सिँचाइ, पोखरी, टेलिकमको टावर, कालिका माविको भवन निर्माणलगायत काम भएको जानकारी दिए ।


घोषणा भए पनि बजेट नहुँदा गत वर्षसम्म कामले गति लिन सकेको थिएन । यस वर्ष कर्णाली प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरी ३ उपभोक्ता समितिमार्फत पिलीमा ३ भवन, सिँढीसहितको पैदल मार्ग र त्यसको डिलमा स्टिलको रेलिङ हाल्ने काम गरिरहेको छ । सदरमुकाम मान्मबाट २० किमि पूर्व रारा जाने बाटोनजिकै पर्ने पिलीमा ४० लाखको बाटोसहित युद्ध संग्रहालय, ६० लाखमा स्मारक भवन र ५० लाखमा घरबासका लागि पक्की भवन निर्माण भएका छन् । काम सबै सकेर ‘फिनिसिङ’ भइरहेको पिली युद्धपर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष पुत्रबहादुर मल्लले बताए ।


संरक्षण समितिले दीपक कार्की, दर्न मल्ल र रतनबहादुर मल्ल अध्यक्ष रहेको ३ निर्माण उपभोक्ता समिति बनाएर निर्माण गरिरहेको छ । पिलीलाई सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेटसहित योजना दिएपछि वैशाखमा सम्झौता भएर जेठमा काम सुरु गरेको खाडाचक्र ७ का वडाध्यक्ष रजबहादुर मल्लले बताए । ‘भौतिक संरचनाका काम भइरहेका छन्,’ उनले भने ‘संग्रहालयमा युद्धमा प्रयोग भएका दुवै पक्षका हातहतियार र युद्ध सामग्री र स्मारक भवनमा पिली भिडन्तमा ज्यान गुमाएकाहरूको तस्बिर राखिनेछ ।’ उनले सामग्रीका लागि नेपाली सेनासँग समन्वय भइरहेको जनाए । पिलीमा भवन, बाटोसहित स्मारकको मर्मर्त सुधार, चौतारी पनि बनाइनेछ । क्रमागत बजेटबाट डाँडामा भ्युटावर, चिडियाखाना पनि निर्माण गर्ने योजना रहेको प्राविधिक लवराज शाहीले बताए ।


‘युद्ध हुँदासम्म गाउमै बस्न पाइएन,’ जिसस सदस्य अक्कलबहादुर मल्ले भने, ‘शान्तिसँगै सडक आएपछि गाउँ फेरियो, हाम्रो पनि दैनिकी फेरियो ।’ उनका अनुसार कालीकोटको १८औं जिल्ला परिषदले युद्ध पर्यटकीय गाउँ घोषणा गर्ने नीतिगत निर्णय गरी पर्यटन मन्त्रालयमा पठाएको थियो ।


खाडाचक्र ६ मा पर्ने दाहा तलसेरालाई ‘सपना’ को गाउँ र पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन साबिक दाहा गाविसले नीतिगत निर्णय गरेको थियो । तत्कालीन फौजी हमलाले पिलीलाई चिनाएपछि गाउँमा भोट तान्न सबै राजनीतिक दलका नेता कार्यकर्ता युद्ध पर्यटकीय क्षेत्रको नारा लगाएका थिए । पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन नेकपाका नेता/कार्यर्कर्ता पनि सक्रिय देखिन्छन् । ०६२ साउन ३२ गते कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक निर्माण कार्यदल रहेको क्याम्पमा चारैतिरबाट घेरा हालेर माओवादीले आक्रमण गरेका थिए ।

प्रकाशित : असार २५, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?