सामुदायिकमा विज्ञान भवन

विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थी संख्या बढ्ने विद्यालयको अपेक्षा
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिकाको मूलडाँडास्थित शिव माविमा सुविधा सम्पन्न विज्ञान भवन निर्माण गरिएको छ । साबिक जिल्ला शिक्षा कार्यालय र शारदा नगरपालिकाको सहयोगमा ४ कोठासहितको दुईतले भवन निर्माण गरिएको हो ।सामुदायिक विद्यालयमा सुविधायुक्त विज्ञान प्रयोगशाला स्थापना भएपछि पठनपाठन गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

शारदा नगरपालिकाको मूलडाँडास्थित शिव माविमा निर्माण गरिएको सुविधासम्पन्न विज्ञान भवन ।तस्बिर ः विप्लव/कान्तिपुर

भवन निर्माणका लागि शिक्षा कार्यालयबाट १८ लाख, नगरपालिकाबाट १८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । अभिभावकले ९ लाख रुपैयाँ लगानी र श्रमदान गरेपछि भवन निर्माण पूरा भएको हो । ४५ लाख रुपैयाँमा भवन निर्माण पूरा भएको प्रधानाध्यापक डिल्ली हमालले बताए ।

नवनिर्मित भवनमा विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालन गरिने उनको भनाइ छ । ‘प्रयोगशाला नहुँदा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या थियो,’ उनले भने, ‘भवन निर्माण सकिएकाले अत्याधुनिक प्रयोगशाला स्थापनाको तयारी गरिएको छ ।’

प्रयोगशाला स्थापनापछि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्ने विद्यालयको तयारी छ । यही शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गरिने हमालको भनाइ छ । विद्यालयमा अहिले ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थी संख्या बढ्ने विद्यालयको अपेक्षा छ ।नयाँ भवन निर्माण भएपछि कक्षा ११ र १२ को पठनपाठनको तयारी थालिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर कवरले बताए ।

‘विद्यालयका सबै भवन पुराना भएकाले प्लस टु सञ्चालन गर्न समस्या थियो,’ उनले भने, ‘अब विज्ञान संकायमा पनि कक्षा ११ र १२ को पढाइ सुरु गर्नसक्ने अवस्थामा पुगेका छौं ।’ विज्ञान भवनको उद्घाटन गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै लगिएको जनाए ।

उनले सबै सामुदायिक विद्यालयको गुणस्तर बढाउन पूर्वाधार निर्माणमा विशेष जोड दिइएको जानकारी दिए । ‘पूर्वाधार र प्रविधि थप गरी पहिलो चरणमा सबै माविलाई नमुना बनाउन लागेका छौं,’ उनले भने, ‘नगरका सबै सामुदायिक विद्यालयको गुणस्तर बढाउन गुरुयोजना निर्माण गरिएको छ, योजना कार्यान्वयनका लागि आगामी वर्ष पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

प्रकाशित : असार २४, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

थबाङ र होलेरीले मिडिया सम्मेलन गर्ने

कान्तिपुर संवाददाता

रोल्पा — पर्यटकीय महत्त्व र विकास गतिविधि सार्वजनिक गरी संचारमाध्यममार्फत प्रचारप्रसार गर्ने उद्देश्यले रोल्पाका दुई गाउँपालिकाले आउँदो आर्थिक वर्षमा मिडिया सम्मेलन गर्ने निर्णय गरेका छन् । जिल्लाको उत्तरी थबाङ र दक्षिणी रुन्टीगढी गाउँपालिकाले मिडिया सम्मेलन आयोजना गर्ने योजना बनाएका हुन् । 

शान्ति प्रक्रियापछि विकास गतिविधि र पर्यटकीय सम्भावनाले चर्चामा रहेको थबाङ गाउँपालिकाले आफ्ना गतिविधि चर्चामा ल्याउन र स्थानीय योजना निर्माणमा साथ खोज्न आगामी मंसिर महिनामा थबाङमा प्रदेश ५ स्तरीय मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीमगरले पत्रकार महासंघ र लेखक/स्तम्भकारसँगको समन्वयमा ऐतिहासिक गाउँ थबाङमा मिडिया सम्मेलन आयोजना गर्ने निर्णय भएको बताए ।

‘थबाङको विकासमा मिडियाको समेत महत्त्वपूर्ण योगदान भएकाले यहाँ सम्मेलन आयोजना गरी थप छलफल गर्ने योजना छ,’ गाउँपालिकाका प्रमुख घर्तीमगरले भने, ‘सम्मेलनमार्फत पत्रकार र लेखक/स्तम्भकारको भेला गराई यथार्थ सूचना बाँड्ने योजना बनाएका छौं ।’ उनले तत्कालीन सशस्त्र द्वन्द्वकालीन समयको तुलनामाथबाङ अहिले फेरिएको पनि बताए ।

मिडिया सम्मेलन आयोजना गर्ने निर्णयलाई गाउँसभाले समेत अनुमोदन गरेको गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँपालिकाले गरेका गतिविधिको प्रचार गराउन र छलफल एवं बहस गर्न रुन्टीगढी गाउँपालिकाले सबै प्रदेशका सञ्चारकर्मीलाई भेला गराउन बजेट विनियोजन गरेको छ । होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्न नीतिगत निर्णय भएको गाउँपालिका प्रमुख बालाराम बुढामगरले बताए ।

रुन्टीगढी गाउँपालिकाले गत वर्ष होलेरीमा साहित्य र विकाससम्बन्धी दुईवटा भिन्नाभिन्नै सम्मेलन आयोजना गरेको थियो । गाउँपालिकाको गुरुयोजना बनाउन विकास विशेषज्ञसहितको विकास सम्मेलन आयोजना गरेर तीन दिनसम्म विकास मोडेल, पर्यटकीय सम्भावना र स्थानीय उत्पादन वृद्धिका सवालमा छलफल गरिएको थियो ।

साहित्य, संस्कृति र सनातनी विश्वासको विकास गर्न र स्थानीय गतिविधिलाई राष्ट्रिय चर्चामा ल्याउन होलेरीमै अक्षर सम्मेलनसमेत आयोजना गरिएको थियो । सम्मेलनमा मुलुकमा नाम चलेका साहित्यकार र सर्जकलाई होलेरीमा बोलाएर स्थानीय महत्त्वका बारेमा लेख्न उत्साहित पारिएको थियो ।

जिल्लाको जलजला क्षेत्रको विकास गर्नगुरुयोजना बनाउन थालिएको छ । जलजला, होलेरीलगायतका महत्त्वपूर्ण स्थानको विकास गर्न स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले समेत विभिन्न योजना बनाउने गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले ती योजनालाई साझा रूपमा बुझेर स्थानीय तहमा कार्यान्वयन गर्न सके प्रभावकारी हुने बताए ।

प्रकाशित : असार २४, २०७६ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्