२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वृक्षरोपण गर्दै राउटे

रुख काट्ने र मास्ने मात्र नभई वनको संरक्षण गर्नुपर्छ भन्ने भावना जगाउन वृक्षरोपणमा लगाइएको
कृष्णप्रसाद गौतम

(गुराँस, दैलेख) — फिरन्ता जातिको रूपमा चिनिने राउटे समुदायमा लामो समयदेखि जंगल संरक्षण र खेती गर्नु हुँदैन भन्ने मान्यता थियो । काठका भाडाकुडा बनाउन राउटे समुदायले लामो समय जथाभावी जंगल फँडानी गरे । तर, पुरानो मान्यतालाई फेर्दै राउटे समुदाय वृक्षरोपणमा सक्रिय भएका छन् । 

वृक्षरोपण गर्दै राउटे

गुराँस गाउँपालिका–५, ठाँटीमा बस्दै आएका राउटे समुदाय ४ दिनयता वृक्षरोपणमा व्यस्त छन् । राउटे युवा दलबहादुर शाही र प्रकाश शाहीले सामुदायिक वनको खाली क्षेत्रमा टिमुर, काउलोलगायत बिरुवा रोप्न व्यस्त बनेको बताए । उनीहरूले बस्ती नजिकैका खाली क्षेत्रमा उनीहरूले वृक्षरोपण गरिरहेका हुन् । जथाभावी वन फँडानी गर्दै आएका राउटे जनप्रतिनिधि र सामाजिक अभियन्ताले मनाएपछि वृक्षरोपण गर्न राजी भएका हुन् । गाउँपालिकाले उनीहरूलाई परिचालन गरेर करिब ५ हजार विभिन्न बिरुवा लगाउन थालेको छ । वृक्षरोपण गरेर खाली ठाउँलाई हराभरा बनाउन खोजिएको राउटे मुखिया शिवराज शाहीले बताए । ‘केही वर्षयता जथाभावी रूख फँडानी गर्न छोडेका छौं,’ उनले भने, ‘अहिले आफैंले फँडानी गरेर नांगो भएको डाँडालाई हरियाली बनाउन वृक्षरोपणमा सहभागी भएका हौं ।’ उनका अनुसार दैनिक ५१ राउटे वृक्षरोपणमा खटिएका छन् ।


उनीहरूलाई वृक्षरोपणका लागि गाउँपालिकाले विभिन्न औजार उपलब्ध गराएको छ । रूख काट्ने र मास्ने मात्र नभई वनको संरक्षण गर्नुपर्छ भन्ने भावना जगाउन वृक्षरोपणमा लगाइएको गाउँपालिकाले जनाएको छ ।

उनीहरूलाई नै वृक्षरोपणमा संलग्न गराएपछि वन संरक्षणप्रति अपनत्व बोध भएको जनप्रतिनिधिको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राउटेलाई रोजगारी दिई वृक्षरोपणमा लगाइएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । उनका अनुसार राउटेलाई कार्यक्रममा समावेश गरिएको थिएन । सोसेकलगायत सामाजिक संस्था र केही नागरिक अगुवाले प्रस्ताव ल्याएपछि उनीहरूलाई मनाउन केही समय खर्चिनुपरेको उनी बताउँछन् ।

‘सुरुमा उनीहरूले मानेको भए २० दिनको रोजगारी दिन सकिन्थ्यो,’ गाउँपालिका अध्यक्ष ओलीले भने, ‘तर आर्थिक वर्ष सकिन लागेकाले हाललाई ९ दिनको रोजगारी दिई वृक्षरोपणमा सहभागी गराइएको हो ।’


रोजगार कार्यक्रमअन्तर्गत राउटेले दैलेख–सुर्खेत सडकदेखि अस्थायी शिविरसम्म डेढ किलोमिटर गोरेटो बाटोसमेत निर्माण गरेका छन् । उनले आगामी वर्षमा समेत राउटेलाई रोजगारी दिने योजना बनेको जानकारी दिए । गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक मोहन पौडेलले राउटेलाई रोजगारीमा सहभागी भएबापत प्रतिव्यक्ति दैनिक ५ सय १९ रुपैयाँ ज्याला दिइने जानकारी दिए । त्यसका लागि २ लाख ७० हजार रकम विनियोजन गरिएको उनको भनाइ छ । उनका अनुसार डेढ किलोमिटर बाटो राउटेले एकै दिनमा खनेका थिए । बाटो खनेपछि उनीहरूलाई सडकसम्म आउजाउ गर्न सजिलो भएको छ ।


सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतिनी खोला किनारबाट एक महिनाअघि राउटे समुदायले गुराँस गाउँपालिका ५, कान्छीबजार नजिकै बस्ती सारेका हुन् । बस्तीमा ४६ परिवारका १ सय ४६ राउटे बस्दै आएका छन् । उनीहरू कल्याल, रास्कोटी र राजवंशी ठकुरी हुन् । पछिल्लो समय उनीहरू सामाजिक बन्दै गइरहेको गाउँपालिका अध्यक्ष ओलीले बताए । उनका अनुसार उनीहरूकै सीप प्रयोग गरी आगामी वर्ष रोजगारी दिने गाउँपालिकाको योजना छ ।


प्रकाशित : असार २२, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?