२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

हिंसा र लागूऔषध नियन्त्रण अभियान

ज्योति कटुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरी कार्यालयले हिंसा र लागूऔषध नियन्त्रणका विशेष अभियान सुरु गरेको छ । कर्णालीका १० जिल्लामै सुरु अभियान ७९ स्थानीय तहका ७ सय १८ वडामा लक्षित छ । 

हिंसा र लागूऔषध नियन्त्रण अभियान

प्रदेश प्रहरीले महिलामाथि हुने हिंसा र लागूऔषध नियन्त्रणका लागि वडास्तरसम्मै अभियान सञ्चालन गरिएको जनाएको छ । हिंसा र लागूऔषध नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखी अन्य घटनासमेत न्यूनीकरण गर्न खोजिएको प्रदेश प्रहरीको भनाइ छ । महिला हिंसा, लागूऔषध दुर्व्यसनी, ओसारपसार, बेचबिखन तथा दुर्घटना न्यूनीकरणका लागि अभियान आरम्भ गरिएको प्रदेश प्रहरी प्रमुख (डीआईजी) पूर्णचन्द्र जोशीले बताए । उनका अनुसार कार्ययोजना बनाएरै अभियान सञ्चालन गरिएको हो ।


‘महिला हिंसा र बलात्कारका घटना बढ्नुको प्रमुख कारण लागूऔषध र मदिरा सेवन हो,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा जोशीले भने । यस्तै प्रदेश प्रहरीले ट्राफिक जरिवाना रकम बैंकमार्फत दाखिला गर्ने नयाँ व्यवस्था मिलाएको छ । यो कार्यान्वयनमा आएपछि प्रहरीलाई सिधै रकम दिनु नपर्ने जोशीको भनाइ छ । यो व्यवस्थाले ट्राफिक प्रहरी र चालकबीच हुने अवैध लेनदेन नियन्त्रण हुने उनी बताउँछन् ।


‘अब कागजपत्र नबोक्दा ट्राफिक प्रहरीसँग रसिद काटेर मात्र पुग्दैन,’ उनले भने, ‘बैंकमा भौचर भरेपछि मात्र ट्राफिकले काजगपत्र उपलब्ध गराउने नयाँ नियम बनाइएको छ ।’ उनले त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए ।


प्रकाशित : असार १९, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?