अझै बनेनन् कर्णाली राजमार्गका पुल

ज्योति कटुवाल

(दैलेख) — कर्णाली राजमार्गमा अझै २५ पुल निर्माणाधीन छन् । लामो समयसम्म पुल नबन्दा कर्णाली राजमार्गमा यात्रुले विभिन्न सास्ती भोग्दै आइरहेका छन् । पुल नहुँदा वर्षायाममा राजमार्गको यात्रा थप जोखिमपूर्ण बन्ने गरेको छ । 

अझै बनेनन् कर्णाली राजमार्गका पुल

कर्णाली राजमार्गका विभिन्न खण्डमा ०६८ बाट पुल निर्माण सुरु गरिएको थियो । विश्व बैंकको सहयोगमा सडक विभागले पुल निर्माणका लागि विभिन्न खण्डमा ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पालतडा, कानेखोला, दहीखोला, पातलेखोला, मट्टेखोला, रतिखोला, छेडाखोला, लोहाखोलालगायत पुलको काम हुदैछ । राजमार्गमा पुल नबन्दा दैनिक ५ देखि ८ घण्टा गाडी जाम हुने गरेको यात्रुको गुनासो छ ।


राकमकर्णालीका तेजबहादुर कार्कीका अनुसार राकमको जाक्सीमा ठेकेदार कम्पनीको लापरवाहीले ४ वर्षदेखि पुलको काम अगाडि बढ्न सकेको छैन । उनका अनुसार पुल निर्माणका क्रममा ठेकेदार काम छाडेर भागेपछि काम अलपत्र परेको हो । ‘हिजोआज पानी परेपछि दैनिक ४ देखि ८ घण्टासम्म सवारी साधन जाममा पर्ने गरेका छन्,’ उनले भने, ‘निर्माण कम्पनीले ५ पटकसम्म प्याद थपेर पनि अझै काम पुरा गर्न सकेको छैन ।’ यसअघि सडक डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले दैलेख र सुर्खेतको सिमानासम्म बन्न लागेका पुलमा जेठभित्रै सवारी साधन गुड्ने बताएका थिए । तर, मध्यअसार लाग्दा पनि राजमार्गका पुलहरू पूर्ण भएका छैनन् ।

जुम्ला(कालीकोट सडक खण्डअन्तर्गत ७ पुल निर्माणाधीन अवस्थामा छन् । पुल निर्माणको जिम्मा लिएका अधिकांश ठेकेदार लामो समयदेखि सम्पर्कविहीन बनेपछि पुल निर्माणको कामले तिव्रता पाउन नसकेको हो ।

सडक डिभिजन कार्यालय, सुर्खेतका अनुसार दैलेख–सुर्खेत–जुम्ला सडकमा १ सय ३२ किमि पुल बनाउन थालिएको छ  । बोटखोलामा २ करोड ६८ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता गरेको एमएस/जयबुद्ध/नेपाल मेघाबुल्डर जेभीले पनि पुल निर्माणको काममा ढिलाइ गरिरहेको छ । त्यस्तै कुमालेखोलामा पुल निर्माणको काम आधाभन्दा बढी बाँकी छ । २ करोड २८ लाखको लगानीमा निर्माण हुन लागेको पुल निर्माणका लागि एमएस/रोशन/श्याम शंकर जेभीले सम्झौता गरेको थियो । दुबै पुलका लागि २०७४ सालमा सम्झौता गरिए पनि चालु आर्थिक वर्षमा सम्पन्न हुने छाटकाट छैन ।


गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलामा पुल नबन्दा वर्षा लागेसँगै सवारी साधन अबरुद्ध हुन थालेका छन् । खोलामा पानीको बहाब बढेपछि साना सवारी साधन तार्न स्थानीयले ढाड सेवा सुरु गरेका छन् । पुल नबन्दा अछाम, कालिकोट, मुगु र जुम्लाका सैयौं यात्रु दैनिक बिचल्लीमा पर्ने गरेका छन् । रति खोलाबाट राकमकर्णाली हुँदै जुम्ला(कालिकोट र अछामका विभिन्न स्थानमा सडकमा पनि पुल निर्माणको काम वर्षौदेखि अलपत्र परेको छ ।


प्रकाशित : असार १८, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?