१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अन्योलमा नगरसभा

मुगु / डोल्पा — छायानाथरारा नगरपालिकाका सबै वडाध्यक्ष वडाबाट सिफारिस गरिएका योजना नपरेको भन्दै विरोधमा उत्रिएपछि नगरसभा अन्योलमा परेको छ । असार १० भित्र नगरसभा सञ्चालन गरी आगामी आवको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने नीतिगत व्यवस्था भए पनि नगरसभा अनिश्चित बनेको छ ।

नगरपालिकाका १४ वटै वडाका अध्यक्ष वडाको बजेट एकिन नभएसम्म नगरसभा हुन नदिने अडानमा छन् । गत जेठ २३ गते कार्यपालिका बैठकको बहुमतले असार ७ गते नगरसभा सञ्चालन गर्ने निर्णय गरिएको थियो । वडाध्यक्षको विवादले सभा अनिश्चित बन्दै गएको नगरपालिकाले जनाएको छ । नेकपाका ७ र कांग्रेसका ७ वडाध्यक्षले मागप्रति नगर प्रमुख गम्भीर नभएको आरोप लगाएका छन् ।


‘वडा तहमा जनमुखी योजना स्वीकृत हुनेगरी बजेट छुट्याउनुपर्ने हाम्रो माग हो,’ वडा २ का अध्यक्ष परेकराज चौलागाईंले भने, ‘खर्च नै नहुन नसक्ने योजनामा नगरले बजेट विनियोजन गर्न खोजेको छ ।’ नगरले सम्पूर्ण वडाध्यक्षलाई गत जेठ १६ गते र २७ गते पत्रचार गरी वडास्तरमा माग भई आएका योजना नगरमा पेस गर्न पत्राचार गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए । ‘तर त्यसबेला अधिकांश वडाबाट योजना आएनन्,’ उनले भने, ‘अहिले सीमित बजेटमाथि बार्गेनिङ गर्न खोजिएको छ ।’ गत वर्षको नगर सभामा पनि कार्यपालिकाका १६ सदस्यले बिरोध गर्दै एक सातासम्म तालाबन्दी गरेका थिए ।


एक मात्र स्थानीय तहको बजेट सार्वजनिक

डोल्पाका ८ स्थानीय तहमध्ये एकमात्र स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला गाउँपालिकाबाहेक स्थानीय तहले तयारी नपुगेको भन्दै बजेट सार्वजनिक नगरेका हुन् । मुडेचुला गाउँपालिकामा फोन सेवा अवरुद्ध भएपछि गाउँसभाबारे जानकारी लिन समस्या भएको छ ।


बाँकी ६ स्थानीय तहले यार्सा संकलनलगायत विभिन्न कारण देखाई बजेट सार्वजनिक गर्न नसकेको जनाएका छन् । मुडेचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले बजेट सार्वजनिक गर्ने काम अन्तिम चरणमा पुगेको जनाएका छन् । सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा केन्द्र विवादका कारण नगरसभा बस्न नसकेको जनप्रतिनिधिले जनाएका छन् ।


काइकेलगायत माथिल्लो डोल्पाका छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाको गाउँसभा यार्चा संकलनको सिजन नभएका कारण हुन नसकेको हो । त्यस्तै ती स्थानीय तहमा बैंक स्थापना नहुँदा चालु आर्थिक वर्षका योजनाको भुक्तानी लिन जनप्रतिनिधि सदरमुकाम आउने गरेकाले पनि गाउँसभा सम्पन्न गर्न समस्या भएको छ ।


अधिकांश समय सदरमुकाम धाउनुपर्ने बाध्यताका कारण गाउँसभा बस्न समस्या भइरहेको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताए । मंगलबारदेखि बिहीबार बेलुकीसम्म जिल्लाभरको टेलिफोन सेवा अवरुद्ध भएपछि थप समस्या भएको जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित : असार १४, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?