कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गुर्भाकोटमा ‘एक घर, एक रोजगार’

ज्योति कटुवाल

सुर्खेत — गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई वार्षिक न्यूनतम रोजगारी दिन ‘एक घर, एक रोजगार’ कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले गरिब, विपन्न र पिछडिएको समुदायका युवालाई रोजगारी दिनेगरी कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

आगामी आवदेखि कार्यक्रम सुरु गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको हो । त्यस्तै नगरपालिकाले महिलाका लागि ‘उपप्रमुख उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने नीति बनाएको छ । कार्यक्रमअर्न्तगत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिनेछ । नगरले नगरसभामा पेस गरेको नीति तथा कार्यक्रमअनुसार ‘एक घर, एक धारा’ अभियान पनि सुरु गर्ने भएको हो ।


घरघरमा खानेपानी पहुँच पुर्‍याउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यस्तै ‘एक घर, एक करेसाबारी’ अन्तर्गत कृषि उत्पादनको विविधीकरण र विशिष्टिकृत गर्न कम्तीमा १५ कृषक तथा समूहलाई कृषि ऋण उपलब्ध गराउन थालिएको नगरप्रमुख हस्त पुनले बताए ।


उनका अनुसार ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान गरिनेछ । आव ०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पुनले एक घरका एक जनालाई न्यूनतम सय दिन रोजगारी दिइने जनाए । उनका अनुसार युवालाई कृषि कर्म, पर्यटन, होमस्टेलगायत व्यवसायमा जोड्ने नगरको नीति छ ।


चालु आवमा ४५ किमि नयाँ सडकको ट्र्याक खोलेको नगरपालिकाले आगामी आवभित्र सय किमि सडक पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । नगरपालिकाले पुराना सडक स्तरोन्नति, नगर गौरवका सडकको कालोपत्रे गर्नुका साथै मेहलकुना–बडाखोली सडकलाई चन्द्रमार्ग नामकरण गर्ने प्रस्ताव सभामा पेस गरेको छ ।


नीति तथा कार्यक्रममा आगामी आवमा २ सय खर र परालको छाना भएका घरलाई जस्तापाता लगाउने उल्लेख छ । ‘यसका लागि जस्तापाता खरिदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ,’ नगर प्रमुख पुनले भने, ‘आगामी ३ वर्षभित्र गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौं ।’

प्रकाशित : असार १३, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?