बादी समुदायको आयआर्जन बन्द

आर्थिक अभावले बादी समुदायका बालबालिका पढाइबाट वञ्चित, हातमुख जोर्नकै लागि अर्काको घरमा श्रम गर्न बाध्य
भीमबहादुर सिंह

जाजरकोट — ६० वर्षीय बुद्धिमान बादीको परिवार नलगाड नगरपालिका ७, काल्लागेस्थित नलगाड खोला किनारमा बस्दै आएको छ । बुद्धिमानले ३ महिना अघिसम्म नलसिंहगाड खोलामा मारेको माछा बेचेको कमाइबाट २१ जना परिवारको गुजारा चलाउँदै आएका थिए । सोही ठाउँका देवीलाल बादीको १० जनाको गुजारा पनि माछा मारेरै चलेको थियो ।

उनीहरू मात्र हैन, काललागेमा बस्दै आएका २ दर्जन बादी परिवार नलसिंहगाडमा मारेका माछा बिक्रीबाटै दैनिक गुजारा धान्दै आएका थिए । बादी समुदाय माछा मार्नकै लागि विगत ३२ वर्ष अघिदेखि काललागेको ऐलानी जग्गामा बस्दै आएका छन् । माछा मारेरै दैनिक गुजारा चलाउने बादी परिवारको आय आर्जनको स्रोत भने विगत ३ महिनायता बन्द भएको छ ।

नलगाड नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका नदी तथा खोलामा माछालगायत जलचर प्राणी मार्न प्रतिबन्ध लगाएपछि बादी समुदायको आयआर्जन बन्द भएको हो । नलगाडले वैशाख १ गते देखि ठूली भेरी, नलसिंहगाडलगायत खोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ ।

अन्य कुनै पनि पेसा व्यवसाय नभएका बादी परिवार नलसिंहगाड खोलामा माछा मारेर आम्दानी गर्न नपाएपछि बेरोजगार बनेका छन् । यतिबेला काल्लागेका बादी समुदायलाई खाद्यान्न तथा लत्ताकपडा जुटाउनु मुस्किल परेको छ । जग्गा जमिन र अन्य पेसा नहुँदा विचल्ली भएको स्थानीय प्रजीत बादीले बताए ।

‘काल्लागेका १ सय ५० बादीको आय आर्जनको मुख्य स्रोत नै नलसिंहगाड खोलाको माछा हो,’ उनले भने, ‘खोलामा माछा मार्न नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको उनले छ ।’ उनले नलसिंहगाडमा माछा मार्न प्रतिबन्ध लागेपछि कतिपय बादी परिवार भारततर्फ विस्थापित भएको जानकारी दिए ।

जाजरकोटको नलगाड नगरपालिका ७, काल्लागेका केदार बादी जाल मर्मत गर्दै ।तस्बिर : भीमबहादुर/कान्तिपुर


टोलका बालबालिकादेखि वृद्धले रातदिन खोलामा माछा मार्ने पेसा अँगालेका छन् । आर्थिक अभावले बादी समुदायका बालबालिका पढाइबाट वञ्चित हुँदै आइरहेका छन् । बालबालिका पढाइसमेत छाडेर माछा मार्न अग्रसर देखिन्छन् । ‘माछा मार्न नपाए अब के खाएर बाच्ने ?’ अञ्जना बादीले भनिन्, ‘अहिले आसपासका क्षेत्रमा मजदुरी गर्ने गरेका छौं ।’ महिला तथा बालबालिकाले घरमा बसेर जाल बुन्ने, पासा पट्याउनेलगायत काम गर्ने उनको भनाइ छ । उनका अनुसार पुरुषले खोलामा पासा थाप्ने तथा जाल हानेर माछा मार्ने गरिरहेका थिए ।

नलसिंहगाड खोलामा मारेको आलो माछा प्रतिकिलो ५ सयमा बिक्री हुने गरेको थियो । काल्लागेकासहित सक्ला, दल्ली, सरुखोला, थलह, छेडा, रावतगाउ, कुदु, फेरालगायत दर्जन खोलामा जिल्लाका ५ सय बादी परिवार माछा मारेर गुजारा गर्न वाध्य छन् । केही बादी परिवारले माछा मार्न प्रतिबन्ध भएपछि मजदुरी गर्न थालेका छन् ।

बादी समुदायलाई माछा मार्ने पेसामा सीमित नराखी अन्य सीपमूलक तालिम दिलाएर क्षमता वृद्धि गर्ने योजना रहेको नलगाड नगरप्रमुख टेकबहादुर रावलले बताए । बादी समुदायका युवा–युवतीलाई होजियारी, सिलाइकटाइ, सिकर्मी, डकर्मी वाइरिङलगायत उद्यममा जोड्न खोजिएको रावलको भनाइ छ ।

बादी समुदायको आर्थिक अवस्था मध्यनजर गर्दै नगरपालिकाले प्रतिपरिवारलाई ३०/३० किलोका दरले चामल वितरण गरेको गाउँपालिकाले जनाएको छ । नलसिंहगाड खोला तथा नदीमा माछालगायत जलचर प्राणीको संरक्षण गर्न माछा मार्ने रोक लगाएको रावल बताउँछन् । दिनहुँजसो नदी र खोलामा पासो थापेर, करेन्ट लगाएर, विष हालेर, जाल हानेर माछालगायत जलचर प्राणी मार्दा पर्यावरणमा असर परेपछि प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित : असार १०, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालयमा किशोरी शिक्षा

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई जीवन उपयोगी सीप प्रदान गर्न किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरणमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, किमुचौर र वीरेन्द्र मावि गर्पामा किशोरी शिक्षा कक्षा सञ्चालन गरिएको हो । 

किशोरी कक्षामार्फत किमुचौरमा २ सय ३० र गर्पाका करिब १ सय ५० छात्रालाई विभिन्न जीवनउपयोगी सीपबारे प्रशिक्षण दिइएको छ । किशोरावस्थामा आउने विभिन्न परिवर्तन, महिनावारी, बाल विवाह, प्रजनन समस्यालगायत विषयमा जानकारी दिई सचेतना अभियान सञ्चालन गर्न लागिएको हो । कक्षामा किशोरावस्थामा आउने समस्या, हुने परिवर्तन, गर्भावस्था, जन्मान्तर, बालविवाहका कारण तथा असर, कानुनी प्रावधानलगायत विषयमा सचेतना दिइनेछ ।

त्यस्तै महिला हिंसा, प्रजनन स्वास्थ्य, पोषण, खोप, वित्तीय साक्षरतालगायत विषयवस्तुमाथि छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । किशोरी शिक्षाअन्तर्गत विभिन्न विद्यालयमा महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य, प्रजनन अधिकार, वालविवाह न्युनीकरणलगायत विषयमा कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले बताए । उनका अनुसार कार्यक्रमले बालिकाको नेतृत्व विकासमा समेत टेवा पुगेको छ । उनले किशोरी शिक्षामार्फत महिला र पुरुषबीचको विभेद घटाउन खोजिएको जानकारी दिए ।

कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले सामाजिक कुरितीको अन्त्य गर्न बालिकालाई किशोरी शिक्षाको खाँचो रहेको बताए । ‘भविष्यमा महिलाको आर्थिक सशक्तीकरणका लागि समेत किशोरी शिक्षाले मद्दत गर्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘विभिन्न कुरिती न्यूनीकरणका लागि किशोरी शिक्षा दिएर बालिकामार्फत अभियान सञ्चालन गर्न लागेका छौं ।’

उनले यसअघि विद्यार्थीमार्फत सञ्चालन गरिएका सचेतना कार्यक्रमको राम्रो प्रभाव देखिएको जनाए । किशोराबस्थामा देखा पर्ने विभिन्न समस्या समाधानका लागि गाउँपालिकाभरिका विद्यालयका छात्रालाई प्रशिक्षण दिइने उनको भनाइ छ । गाउँपालिकामा बढो बालविवाह न्यूनीकरण गर्न किशोरी शिक्षा प्रभावकारी हुने उनी बताउँछन् ।

गाउँपालिकाका उपाध्यक्ष तीला बुढा मगरले किशोरीले आफ्नो जीवनमा आउने परिवर्तनलाई सहज रुपमा लिन् सकुन भन्दै कार्यक्रम सञ्चालन गरिएको बताइन् । ‘आफूले सिकेका सीप र ज्ञान बालिकाले परिवारका अन्य सदस्यलाई जानकारी गराउने अपेक्षा छ,’ उनले भनिन् ।

प्रकाशित : असार १०, २०७६ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×