२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मोबाइल चार्ज गर्न ५० रुपैयाँ

मुगु — गमगढी बजारमा विद्युत् अबरुद्ध हुँदा सर्वसाधारणले ५० रुपैयाँ तिरेर मोबाइल चार्ज गर्न बाध्य छन् । विद्युत् नभएको फाइदा उठाउँदै ब्यापारीले जेनेरेटरमार्फत मोबाइल चार्ज गरेको ५० रुपैयाँ लिने गरेका हुन् । 

जेनेरेटर चलाएका पसलमा मोवाइल चार्ज गर्न कर्मचारी विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ । मगगाढ साना जलविद्युत् आयोजनाको पावरहाउसमा खरावी आएपछि विद्युत सेवा अबरुद्ध भएको छ । २ साताअघि पावरहाउसमा रहेको पाइपबाट पानी चुहिन थालेपछि विद्युत् सेवा बन्द भएको हो । मौसम परिर्वतन भइ घाम नलाग्दा सौर्य ऊर्जा चार्ज गर्नसमेत समस्या भइरहेको

स्थानीयको गुनासो छ ।


स्थानीयका अनुसार अनुसार व्यवसायीले जेनेरेटरबाट फोटोकपी गरेको २० रुपैयाँ लिने गरेका छन् । ल्यापटप चार्जको १ सय रुपैयाँ लिने गरिएको स्थानीयको भनाइ छ । जेनेरेटर चलाउन १ सय ६५ रुपैयाँ प्रतिलिटर इन्धन किनेर सेवा दिनु परिरहेको कार्की फोटो स्टुडियोका कमलराज कार्कीले बताए ।


विद्युत् समस्याले जिल्ला अस्पतालको एक्सरे, भिडियो एक्सरे र ल्याव परीक्षण सेवा अबरुद्ध भएको छ । विद्युत् नहुँदा जटिल समस्या भएका विरामी समस्यामा पर्न थालेको अस्पतालका डा. डबल मल्लले बताए । उनले अस्पतालमा जेनेरेटर र सौर्य ऊर्जा नहुँदा समस्या भएको जनाए । ‘विरामीलाई राति उपचार गर्नसमेत समस्या भएको छ,’ उनले भने, ‘गर्मी मौसम सुरु भएसँगै अस्पतालमा विरामीको चाप बढिरहेको छ, तर उपचार प्रभावित भइरहेको छ ।’


उनले अस्पतालमा दैनिक ७० देखि ९० जना विरामी उपचारका लागि आउने गरेको जनाए । बिरामीलाई खकार, रगत, दिसापिसाब जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् । प्रयोगशालाका सबै मेसिन अबरुद्ध भएपछि रोग पत्ता लगाउन समस्या भएको उनीहरूको भनाइ छ ।


गमगढी बजार, कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, ताल्चालगायत २ हजार ५ सय घरधुरीमा आयोजनाले विद्युत् सेवा दिएको छ । बिद्युत् सेवा अबरुद्ध हुँदा नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवासमेत प्रभावित भएको छ । चार दिनदेखि गमगढी बजारमा रहेका मुगु र रारा एफएमले प्रशारण बन्द गरेका छन् ।


विद्युत् आयोजनाको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । १ सय ३० मिटर नहरमा सिमेन्ट प्लाष्टर गर्ने काम सकिएको आयोजना प्रमुख शिवप्रसाद पाण्डेयले बताए ।

प्रकाशित : असार १०, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?