२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुम्पानी–दुनै सडक निर्माण अन्तिम चरणमा

असार मसान्तभित्र निर्माण पूरा गरी सडक विभागलाई हस्तान्तरण गर्ने सेनाको तयारी

डोल्पा — जाजरकोट–डोल्पा सडकअन्तर्गत सुम्पानीदेखि दुनैसम्मको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले सुम्पानीसम्मको सडकको ट्र्याक यसअघि नै निर्माण सम्पन्न गरेको थियो । ट्र्याक खोल्नुअघि नै बनेको करिब १४ किमि सुम्पानी–दुनै खण्डलाई चौडा बनाउने र मोड सुधारको काम अन्तिम चरणमा पुगेको हो ।

सुम्पानी–दुनै सडक निर्माण अन्तिम चरणमा

यसअघि सेनाले जाजरकोट–डोल्पा सडकको १ सय १८ किमिमध्येको १ सय ४ किमिमा ट्र्याक खोल्ने काम सम्पन्न गरिसकेको छ । असार मसान्तभित्र दुनैसम्म सडक चौडा गराएर हस्तान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको सडक निर्माण कार्यदल प्रमुख, प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । उनका अनुसार दुनैदेखि सुम्पानीसम्मको सडक जिविसमार्फत ड्रिल्प परियोजनाले यसअघि निर्माण गरेपछि जिप चल्दै आएका थिए ।


पहाडीले सुम्पानी–दुनै खण्डमा पर्ने विभिन्न भीरमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘हामीले अन्तिम चरणको सुधारलाई तीव्र बनाउन धाउने र सुलिगाडमा बेस क्याम्प स्थापना गरी ३ स्थानबाट निर्माण गरिरहेका छौं,’ उनले भने, ‘असार मसान्तभित्र निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य छ ।’ पुल निर्माण र कालोपत्रेलगायत काम हस्तान्तरण भएपछि सडक विभागले गर्ने पहाडीको भनाइ छ ।


यो खण्डमा ७ भीर रहेकोमा खुइतेगौडा भीरको काम मात्र बाँकी छ । कालागौंडा र लोटेको भीरको काम भने यही साता सकिएको हो । खुइतेगौडाको भीर फुटाउने काम भइरहेको कार्यदलले जनाएको छ । सुम्पानीदेखि दुनैसम्मको भागमा चट्टान नभएको क्षेत्रमा निर्माणको काम यसअघि नै सकिएको छ ।


निर्माणको काम अन्तिम चरणमा पुगेपछि डोल्पालीको जनजीवन सहज बन्दै गएको जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले बताए । उनले सडक निर्माणको काम सकिएसँगै सर्वसाधारणले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाएको जनाए ।


‘सडकमा पर्ने विभिन्न खोला र नदीमा पुल निर्माण नहुँदा पल्टी गरी सामान ओसारपसार गर्नुपर्ने समस्या भए पनि स्थानीयले हिँडेर बाहिर जानुपर्ने अवस्थाबाट मुक्ति पाएका छन्,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्रीको सहज ढुवानी हुन थालेपछि मूल्य पनि घट्दै गइरहेको छ ।’


रणनीतिक महत्त्व बोकेको यो सडक छिमेकी मुलुक भारत र चीनलाई छुने छोटो दूरीको सडक हो । सडकको निर्माण २०६५ बाट जाजरकोटको पासागाडबाट थालिएको थियो । ट्र्याक मात्रै खुले पनि जिप र ट्र्याक्टर सञ्चालनमा आउँदा यात्रु र सामान ओसारपोसारमा सहज बनेको ठूलीभेरी नगरपालिका प्रमुख गणेशबहादुर शाहीले बताए ।


सेनाको सडक निर्माण कार्यदलले त्रिपुरासुन्दरी नगरपालिकाको अन्निचौरसम्म गत मंसिर ४ गते सडकको ट्र्याक खोलेको थियो । सडक उद्घाटन गर्न डोल्पा पुगेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई स्थानीयले यसअघि आन्तरिक रूपमा सञ्चालनमा आएको सडक फराकिलो बनाउन माग गरेका थिए ।


नेपाली सेनाले दोस्रो चरणमा अन्निचौरदेखि दुनैसम्मको जिम्मा पाएसँगै सडक चौडा बनाउने काम तीव्र पारिएको हो । छलगाड खोलाका कारण त्रिपुराकोट बगरको बजारसम्म जिप आउन सकेको छैन ।


सडकको ट्र्याक खुलेसँगै सरकारी तथा विकास निर्माणले प्राथमिकता पाएको जिसस प्रमुख शेरबहादुर बुढाले बताए । उनका अनुसार विकास निर्माणका सामग्री ढुवानी सहज बनेपछि अन्य विकास निर्माण पनि धमाधम भइरहेका छन् ।


सडक चौडा बनाउने काम अन्तिम चरणमा पुगे पनि राडीज्युला, तांतरगाड, चौखा, तल्लुबगर, उखुमखोला, लामाढुङ्गा, करवगाड, हरियापानी, चुंगाड, छलगाडलगायत स्थानमा पुल बनाउन बाँकी छन् । सुम्पानीसम्मको सडक सेनाले सडक विभागलाई हस्तान्तरण गरिएसँगै पुल निर्माणको प्रक्रिया सुरु हुने जनाइएको छ । तर, कुनै पनि स्थानमा अहिलेसम्म टेन्डर भएका छैनन् ।

प्रकाशित : असार ६, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?