१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाँफिकोटमा मुआब्जा वितरण

हरि गौतम

रुकुम पश्चिम — नेपाल विद्युत् प्राधिकरणले ४ सय केभी क्षमताको सबस्टेसन निर्माण गर्न थालेको क्षेत्रका किसानले मुआब्जा बुझ्न थालेका छन् । बाँफिकोट गाउँपालिका ९, भेराखेतमा खेत तथा घर भएका र सबस्टेसन निर्माणका क्रममा खेत मासिने घरधुरीले क्षतिपूर्तिबापत मुआब्जा बुझ्न थालेका हुन् । 

बाँफिकोटमा मुआब्जा वितरण

भेराखेत ज्युलामा खेत भएका ७६ घरधुरीमध्ये पहिलो चरणमा ५४ घरधुरीले मुआब्जा बुझेका छन् । प्रतिरोपनी ९ लाखका दरले ५४ घरधुरीले ६ करोड ७७ लाख रुपैयाँ स्थानीयले बुझिसकेको मुआब्जा निर्धारण समितिका सदस्य तथा वडाध्यक्ष कविराम केसीले बताए ।


उनका अनुसार सबैको बैंक खातामा जिल्ला प्रशासन कार्यालयमार्फत रकम जम्मा भएको हो । २२ घरधुरीले मुआब्जा बुझ्न बाँकी छ । उनीहरूको पनि मुआब्जा बुझ्ने प्रक्रियामा रहेको केसीले जनाए । पहिलो चरणमा ३८ र दोस्रो चरणमा १६ घरधुरीले मुआब्जा बुझेका थिए । ज्युलामा रहेका ३ घरको पनि मुआब्जा दिइने उनको भनाइ छ । १८ लाख २० हजार रुपैयाँका दरले घरधनीले मुआब्जा पाउनेछन् ।


जग्गा र घरको मुआब्जाबापत १० करोड ७७ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । भेरी करिडोर ४ सय केभी प्रसारण लाइन आयोजनाले भेराखेतमा जग्गा अधिग्रहणको काम गरिरहेको हो । हालसम्म जग्गाको मूल्य निर्धारणदेखि मुआब्जा वितरणको काम सुरु भएको आयोजना प्रमुख बलभद्र अधिकारीले बताए ।


उनका अनुसार यो आर्थिक वर्षको अन्त्यसम्ममा जग्गा सरकारको नाममा ल्याउने योजना छ । भेराखेतमा जग्गा तथा घर हुने ७६ घरधुरीमध्ये अधिकांशले केही दिनमा सबै मुआब्जा बुझिसक्ने उनले जानकारी दिए । ‘यो वर्ष आयोजनाको लागि सबै जग्गा ल्याइसक्ने कार्यक्रम हो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘प्रक्रिया नटुंगिँदा केही बाँकी रहन्छ कि भन्ने लागेको छ ।’

नामसारी हुन बाँकी रहेका, विदेशमा रहेका तथा सम्पर्कमा नआएकाको बाहेक अरू सबैको मुआब्जा केही दिनमा वितरण भइसक्ने अधिकारी बताउँछन् । आयोजनाले मुआब्जाबापत वितरण गर्नुपर्ने सम्पूर्ण रकम जिल्ला प्रशासन कार्यालयलाई दिइसकेको छ । सबैको बैंक खातामै रकम जम्मा हुने गरेको अधिकारीले जनाए । आयोजना तीन वर्षअघि सुरु भएको हो । जग्गा अधिग्रहणमा समस्या भएकाले काम भने ढिला भएको छ ।


जग्गा सरकारको नाममा आएपछि आयोजनाले उक्त जग्गा घेराबार गर्ने र आवश्यक काम थाल्ने जनाएको छ । जग्गा अधिग्रहणको काम सकिएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका साथै वातावरणीय अध्ययनसमेत गरेर आगामी वर्षको बजेटबाट मात्रै आयोजनाको कूल लागत र निर्माणका लागि लाग्ने समयबारे प्रस्ट हुने जनाइएको छ । छिमेकी जिल्ला जाजरकोटमा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत सबस्टेसनमार्फत केन्द्रीय लाइनमा जोड्ने सरकारको योजना छ ।


जिल्लामा विद्युत् विकास विभागबाट अनुमति लिएका ६ आयोजनाबाट २ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने देखिएकाले ती सबै लाइनलाई केन्द्रीय ग्रीडमा जोड्न सकिने विद्युत् प्राधिकरणले जनाएको छ । भेराखेतमा सबस्टेसन निर्माण गर्दा सडक, पुललगायतको पूर्वाधारमा विकास हुनुका साथै जिल्लामा थप रोजगारी सिर्जना हुने जनाइएको छ ।

प्रकाशित : असार ५, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?