१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णाली नदीमा जिप खोज्दै गोताखोर

(हुम्ला) — कर्णाली नदीमा खसेर १० यात्रुसहित मंगलबारदेखि बेपत्ता जिप खोज्न खापुनार्थ गाउँपालिका(५ कैलावालुमा गोताखोरको टोली पुगेको छ । जिप नदीमा खस्दा खापुनार्थ गाउँपालिकाका उपाध्यक्षसहित कम्तीमा १० जना बेपत्ता छन् ।  

कर्णाली नदीमा जिप खोज्दै गोताखोर

बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट चितवन कुरिनटारका गोताखोरको टोली हुम्ला पुगेको हो । सशस्त्रका प्रहरी निरीक्षक लक्ष्मण बस्नेतसहित १० जनाको टोली घटनास्थल पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । गोताखोर टोलीले कर्णाली नदीका तीन ठाउँमा खोजी कार्य जारी राखेको छ । ‘गोताखोर टोलीले खोजी कार्य सुरु गरेको छ,’ उनले भने, ‘दुर्घटनामा परेको जिप र यात्रु फेला परिसकेका छैनन् ।’


खार्पुदेखि गाउँपालिकाको केन्द्र याङचु जाने क्रममा लु१ज ७१६६ नम्बरको जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको थियो । जिपमा कति जना चढेका थिए भन्ने अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, जिपचालक मणिराज शाही, यात्रुहरू काठमाडौं थानकोटका राजु श्रेष्ठ, खार्पुनाथ ४ का चन्द्र हमाल, नैनसिंह भण्डारी, खार्पुनाथ ५ की वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, खार्पुनाथ १ का कौर दमाईं र उनका २ वर्षीय छोरालगायत छन् ।


दुर्घटनास्थल सिमकोटदेखि १४ किमि टाढा पर्छ । २ वर्षअघि नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको गाडी दुर्घटनामा परेको हो । उक्त जिप खार्पुनाथ यातायात प्रालिले सञ्चालन गरेको थियो । प्रालिका नाममा चारवटा बोलेरो जिप छन् । जिपहरू एउटामा १६ जना यात्रु क्षमताको रहेको प्रालिका अध्यक्ष सरोज रावतले बताए ।


खापुनार्थ गाउँ कार्यपालिकाको बुधबार भएको बैठकले दुर्घटनाप्रति शोक व्यक्त गरेको छ । अध्यक्ष कर्ण रावलका अनुसार बैठकले १३ दिनसम्म गाउँपालिकाभित्र कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरिया खर्चबापत १० हजार रुपैयाँ दिने निर्णय गरेको रावलले जानकारी दिए ।


प्रकाशित : असार ४, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?