कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२५ सयलाई रोजगारी

भीमबहादुर सिंह

जाजरकोट — जिल्लाका सातवटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रमअर्न्तगत पहिलो चरणमा जाजरकोटका २५ सय युवा/युवती रोजगारीमा जोडिएका छन् । 

२५ सयलाई रोजगारी

कार्यक्रमको मापदण्डअनुसार १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार रोजगारीमा जोडिएका हुन् । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आइतबार कार्यक्रम आरम्भ गरे । वडा ३, थाप्लेचौरमा गोरेटो बाटोको निर्माणसँगै कार्यक्रम थालनी गरिएको हो । बेरोजगारलाई वर्षमा सय दिन रोजगारी दिने उद्देश्यले सञ्चालनमा आएको कार्यक्रममार्फत थाप्लेचौरदेखि स्याँलासम्मको गोरेटो बाटो निर्माण हुनेछ । नगरपालिकाले रोजगार कार्यक्रमलाई १३ वटै वडामा सञ्चालन गरिएको जनाएको छ ।


त्यस्तै शिवालय गाउँपालिकाले पनि गत साता प्रधानमन्त्री रोजगार कार्यक्रमअर्न्तगत वडा १ र ९ बीचको मोर्कखोला कजवे निर्माण सुरु गरेको थियो । भेरी नगरपालिकामा रोजगारीका लागि ७५ सयले बेरोजगारले आवेदन दिएको रोजगार संयोजक रेश्मी राईले बताइन् । प्राप्त आवेदनका आधारमा भेरीले साढे ५ सय जनालाई पहिलो चरणमा रोजगार दिएको उनको भनाइ छ ।


‘रोजगारीका लागि १३ वटै वडामा योजना छनोट गरी निर्माण सुरु गरिएको छ,’ उनले भनिन्, ‘प्रत्येक वडामा ४ लाखका दरले रोजगार कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको छ ।’ कार्यक्रमका लागि गोरेटो बाटो, सरसफाइ, भवन, खानेपानी, व्यवसायिक कृषि उत्पादन, सिँचाइ, नदी नियन्त्रणलगायत योजना छनोट भएका छन् । एउटा वडामा १५ देखि ३० बेरोजगारले दैनिक ६ सय ५० देखि ८ सय रुपैयाँ ज्याला पाउनेगरी रोजगारी पाएको उनले बताइन् ।


कार्यक्रमअनुसार मजदुरले दैनिक ७ घण्टा काम गरेबापत ज्याला पाउनेछन् । कार्यक्रमका लागि भेरी नगरपालिकामा ५३ लाख बजेट उपलब्ध भएको छ । भेरीले कार्यक्रमका लागि १३ योजना निर्माण गर्ने जनाएको छ । कार्यक्रमबाट जिल्लाभर पहिलो चरणमा २५ सय बेरोजगारले २० दिनसम्म रोजगारी पाउने देखिएको छ ।


प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नलगाड नगरपालिकामा ४२ लाख, कुशे गाउँपालिकामा ३६ लाख, शिवालयमा २९ लाख र बारेकोट गाउँपालिकामा ३३ लाख रुपैयाँ अख्तियारी आएको छ । कार्यक्रमका लागि जिल्लामा साढे २ करोड बजेट भित्रिएको छ ।


बजेटको ७० प्रतिशत रकम श्रमिक ज्याला र अन्य रकम औजार तथा सामग्री खरिदलगायत कार्यमा खर्च हुने भएको छ । रोजगारीका लागि ७ स्थानीय तहमा ३० हजार बढीले आवेदन दिएको पाइएको छ ।

प्रकाशित : असार २, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?