कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रधानमन्त्री रोजगार कार्यक्रम : १ सय ८० लाई रोजगारी

गाउँपालिकाका अनुसार रोजगारी पाएका युवाले २९ लाख रूपैयाँका ६ योजनामा काम गर्ने र कामअनुसार दैनिक न्यूनतम ५ सय ७५ रूपैयाँका दरले पारिश्रमिक पाउनेछन्

सल्यान, सिमकोट — दार्मा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६ वडाबाट ३० जनाका दरले १ सय ८० बेरोजगार युवाले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : १ सय ८० लाई रोजगारी

रोजगारी पाएका युवाले २९ लाख रुपैयाँका ६ योजनामा काम गर्ने गाउँपालिकाले जनाएको छ । काम गरेअनुसार उनीहरूले दैनिक न्यूनतम ५ सय ७५ रुपैयाँका दरले पारिश्रमिक पाउँछन् । गाउँपालिकाका अनुसार ‘श्रम गरौं र रोजगार बनौं’ नारासहित सामुदायिक योजना कार्यान्वयनका लागि कार्यक्रम लागू गरिएको हो ।


रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाएका व्यक्तिलाई गाउँपालिकाले आवश्यक औजार तथा सुरक्षित सामग्री उपलब्ध गराइएको जनाएको छ । ‘बेरोजगारीले गरिबी बढदै गएको र जीविकोपार्जनका खाडी मुलुकमा मजदुरीका लागि जानुपर्ने अवस्था अन्त्य गर्न कार्यक्रम लागू गरिएको हो,’ अध्यक्ष नीमबहादुर केसीले भने, ‘कार्यक्रममार्फत आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने हाम्रो योजना हो ।’ उनले आन्तरिक रोजगारीलाई प्रबर्द्धन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले युवाशक्ति वैदेशिक रोजगारीका लागि बाहिरिँदा स्थानीय विकासमा ठूलो असर परेको जनाए ।


कार्यक्रमअन्तर्गत कृषि, सहकारीलगायत अन्य क्षेत्रमा युवालाई जोड्न पहल गरिने प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुनले बताए । आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई कार्यक्रमले व्यवहारिक बनाएको उनको भनाइ छ । ‘गाउँपालिका क्षेत्रका सबै बेराजगार युवालाई कृषि तथा पशु विकासअन्तर्गत शीत भण्डार, प्लास्टिक पोखरी, कृषि उपज संकलन तथा बिक्री केन्द्र, सामूहिक तथा सहकारी खेतीलगायत काममा लगाइनेछ,’ उनले भने, ‘त्यस्तै व्यावसायिक खेती, पशुपालन, वन कार्यक्रम, सहकारीलगायतमा पनि युवालाई आबद्ध बनाउने हाम्रो योजना छ ।’


गाउँपालिकाका अधिकांश युवा रोजगारीका लागि भारत तथा खाडी मुलुकमा जान बाध्य छन् । रोजगार कार्यक्रमले ऊर्जा, सिँचाइ, नदी नियन्त्रण, बाँध, जलविद्युत्लगायत योजना निर्माणमा सहयोग पुर्‍याउने जनप्रतिनिधिको अपेक्षा छ । युवालाई होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रवर्द्धन, होमस्टे सञ्चालन, सडक, यातायात, शिक्षा, खेलकुद, पुनर्निर्माण, सामुदायिक पूर्वाधारलगायत क्षेत्रमा परिचालन गर्ने योजना गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाले अन्य कार्यक्रममार्फत पनि युवालाई रोजगारी दिने योजना अगाडि बढाएको अध्यक्ष केसीको भनाइ छ ।


रोकियो ताक्लाकोटको मजदुरी

गाउँमै रोजगार पाउन थालेपछि हुम्ली युवा ताक्लाकोट र भारत जान छोडेका छन् । विगत वर्षमा मजदुरी गर्न ताक्लाकोट र भारतका विभिन्न गाउँमा जाने युवाले अहिले गाउँमै रोजगारी पाइरहेका हुन् ।


गत वर्षसम्म बैशाख लागेपछि जिल्लाका विभिन्न गाउँ सुनसान हुन्थे । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएपछि युवा गाउँमै विभिन्न विकासका काममा सक्रिय बन्न थालेका छन् । गत वर्षसम्म जिल्लाका विभिन्न ठाउँबाट यो सिजनमा ३ हजार बढी युवा कामको खोजीमा ताक्लाकोट जान बाध्य थिए । गाउँमै काम पाएपछि युवा उत्साही भएका छन् । सिमकोट गाउँपालिकाले रोजगार कार्यक्रमअन्तर्गत १ सय ६० जना युवालाई रोजगारी दिएको जनाएको छ ।


बेरोजगार रहेका १८ वर्षदेखि ५८ वर्षसम्मका युवा/युवतीले गाउँमै रोजगारी पाएपछि विकास निर्माणमा समेत सहयोग पुगेको छ । गाउँको विकास पनि हुने र रोजगारीसमेत पाइने भएकाले कार्यक्रममा सहभागिता जनाएको सिमकोट गाउँपालिका (३ की आङगेल लामाले वताइन् । ‘आफ्नै गाउँमा रोजगारी पाइएको छ,’ उनले भनिन्, ‘त्यसैले अधिकांश युवाको आकर्षण रोजगार कार्यक्रममा छ ।’ उनले रोजगार कार्यक्रम लागू भएपछि स्थानीय सरकारको अनुभूति भएको बताइन् ।


यसअघि जिल्लाका अधिकांश युवालाई रोजगारीका लागि ताक्लाकोट जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका (३ की दोर्चीअङजुक लामाले बताइन् । उनी पनि यसअघि वर्षमा ६ महिना पुराङ वा ताक्लाकोटमा रोजगारीका लागि जान बाध्य थिइन् । ‘अहिले गाउँमै रोजगारी पाइएको छ,’ उनले भनिन्, ‘यही रोजगार पाइएपछि किन जानु बाहिर ?’ कार्यक्रमले विपन्न युवामा खुसीयाली ल्याएको उनको भनाइ छ । सिमकोट ३ का वडाध्यक्ष ताक्लाजिक्मेत लामाले गाउँपालिकाका ८ वडाबाट २० जनाका दरले युवा/युवती छनौट गरी रोजगार कार्यक्रममा समाबेश गरिएको बताए । उनका अनुसार छनौट भएका युवालाई विभिन्न विकास योजनामा श्रममा लगाइएको छ ।


‘गरिबीको अन्त्य गरी गाउँमै रोजगारी सिर्जना गर्न कार्यक्रम सुरु गरिएको हो,’ उनले भने, ‘कार्यक्रममार्फत विभिन्न विकास योजनालाई तीव्रता दिइरहेका छौं ।’ उनले कार्यक्रममार्फत रोजगारी पाएका युवाको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको जानकारी दिए । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले कार्यक्रममा युवाको आकर्षण बढेको बताए । ‘अन्य बेरोजगार युवालाई पनि कार्यक्रममा समेटै लैजाने हाम्रो योजना छ,’ उनले भने, ‘पालिकाभर युवा लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन गरिरहेका छौं ।’


बैशाख महिनामा गाउँपालिकाले वेरोजगार युवा/युवतीको लगत संकलन गरेको थियो । गाउँपालिकाका अनुसार सिमकोटमा ५ हजार युवा वेरोजगार रहेको तथ्यांक छ । मापदण्डमा परेका १ सय ६० जना युवालाई पहिलो चरणमा रोजगारीमा लगाइएको अध्यक्ष लामाले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हर्कबहादुर शाहीले अभिमुखीकरण कार्यक्रम आयोजना गरी रोजगारीमा लगाइएको बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?