कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कर्णाली राजमार्गको दुर्दशा : यात्रु धकेल्छन् गाडी

राजमार्गको अधिकांश स्थान वर्षाको पानीले बगाएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्छ
तुलाराम पाण्डे

कालीकोट — निर्माण सकिएको दशक नबित्दै कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक ठाउँ–ठाउँमा भत्किएको छ । सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किमिको सुर्खेत–जुम्ला सडक ठाउँ–ठाउँमा भत्किएर बिजोग बनेको छ । अधिकांश भागको पिच उप्किएको छ । सडकछेउ लगाइएका सेफ्टी बार पनि भाँचिएका छन् । 

कर्णाली राजमार्गको दुर्दशा : यात्रु धकेल्छन् गाडी

५ वर्षदेखि निर्माण सुरु भएका खोलाका पुल पनि अझै अलपत्र छन् । जीर्ण सडककै कारण स्थलमार्ग हुँदै मुगुको रारा घुम्न आउने पर्यटक समस्यामा परेका छन् । ‘सडकको त बिजोगै रहेछ,’ ३२ जनाको टोलीसहित रारा घुम्न आएका हेटौंडाका विकास कार्कीले भने, ‘साँघुरो सडकले त्यसै सातो जान्छ, त्यही पनि बिग्रिएर गाडी चल्न कठिन छ ।’ उनले स्थानीय तहले कर्णाली राजमार्गबाट गाउँ जोड्न डोजरमार्फत खनेका ग्रामीण सडकले पनि कर्णाली राजमार्गको कन्तबिजोग बनाएको जनाए ।


रारा पुगेर फर्किएका विराटनगरका सुशील शर्माले दुई लेन पक्की सडक बनाउन आवश्यक रहेको बताए । उनले सिंजा उपत्यका र रारा तालले आन्तरिक र बाह्य पर्यटक तान्नसक्ने भए पनि पूर्वाधार कमजोर रहेकाले सरकारले लगानी वृद्धि गर्नुपर्ने सुझाव दिए । कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला खण्डको सयौं ठाउँमा कालोपत्रे गरेको अनुमानै नहुने गरी सडक बिग्रिएको जिल्ला बारका पूर्वअध्यक्ष हिक्मतबहादुर विष्ट बताउँछन् । उनले कर्णाली राजमार्गको दैखोला, घट्टे खोलाका पुल आउने वर्षामा पनि बन्न नसक्ने भएकाले यात्रुलाई झन् सास्ती हुने जनाए । उनका अनुसार मान्मको सुनार खोला, भर्ताको गगने खोला, पिली, खल्लागाडमा तत्काल सडक सुधार गर्नुपर्ने देखिन्छ ।


सुर्खेत–जुम्ला सडकको अधिकांश ठाउँमा कालोपत्रे उप्किएर जीर्ण सडकमा गुड्दै जिप । तस्बिर : तुलाराम । कान्तिपुर


राजमार्गको अधिकांश ठाउँमा वर्षाको पानीले बगाएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बनेको छ । राचुली, टाकुल्ला, सेरिघाटलगायत ठाउँमा पिच गरिएकै छैन । सुर्खेतको बांगेसिमलबाट सुरु भएर जुम्ला खलंगासम्मको र नाग्मबाट मुगु जोड्ने नाग्म(गमगडी सडकको अवस्था उस्तै छ । ९४ किमि नाग्म–गमगढी सडक पुरै कच्ची छ । ०६३ चैत ३० मा ट्र्याक खुलेको सुर्खेत(जुम्ला सडक दुई चरणमा ओटासिल कालोपत्रे गरिएको थियो ।


विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडकीज्युला १ सय ३० किमि सडक कालोपत्रे गरिएको थियो । त्यस्तै दोस्रो चरणमा खिडकीज्युलादेखि जुम्लासम्म विभिन्न ७ निर्माण कम्पनीमार्फत ओटासिल भएको हो । कालोपत्रे गरेको २ वर्ष नबित्दै अधिकांश ठाउँमा पिच उप्किएको खाडाचक्र १ का धर्मराज ताम्राकारले बताए । ‘सडक पिच भयो भनेर प्रचार मात्र भयो, दिगो भएन,’ उनले भने, ‘सुर्खेतदेखि जुम्लासम्मकै सडक दुई लेनको बनाउन जरुरी छ ।’


टाकुल्लामा निर्माणाधीन पुल । तस्बिर : तुलाराम । कान्तिपुर


कालीकोट खण्डको अधिकांश ठाउँमा पहिरो र ढुंगा खस्ने समस्या रहेको जुम्लाबाट कालीकोट आएका रमेश पोखरेलले बताए । उनले जुम्लाबाट मान्म पुग्ने बेलासम्म ५ ठाउँमा ढुंगा खसेको बताए । वर्षासँगै अधिकांश ठाउँमा पहिरो खस्ने समस्या भएकाले सडक डिभिजन कार्यालयलाई कालीकोटमै रहने गरी एक एक्साभेटर पठाइदिन आग्रह गरिएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार गत वर्ष पनि सडक विभागले डोजर कालीकोट राखेर काम गरेको थियो ।


यस वर्ष कर्णाली राजमार्गको मर्मत सुधार, पुल र ग्याबिन पर्खालका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । जसमध्ये ६ करोडको ठेक्का लागिसकेको इन्जिनियर श्रवणकुमार महताराले बताए । उनका अनुसार बर्खामा सडक सुचारु गर्न एक डोजर जुम्ला पुगिसकेको छ भने अर्को पनि विभागमा माग गरिएको छ । कार्यालयका अनुसार सुर्खेतबाट दैलेख तल्लो डुंगेश्वरसम्म ८ किमि र त्यसमाथि जुम्लासम्म २१ किमिमा फलामे बार लगाउने काम सकिएको हो । तर, त्यसरी लगाइएको बार पनि केही ठाउँमा पहिरोले भाँचिएको छ ।


दैलेख साई खोलास्थित ढलानका लागि सेटिङपछि भत्किएको पुल  । तस्बिर : तुलाराम । कान्तिपुर


बेलिब्रिज जीर्ण

कर्णाली राजमार्गको कालीकोट सेरीघाटस्थित तीला नदीमाथिको फलामे बेलिब्रज जीर्ण भएको छ । तीला नदी तार्न बनाइएको तीलामाथिको फलामे बेलिब्रिज खिया लागेर जीर्ण बनेको हो ।


जतिखेर पनि पुल खस्नसक्ने अवस्था रहेको स्थानीयको भनाइ छ । फलामे बेलिब्रिज मर्मतसम्भार गरिरहे १० वर्ष आयु हुने भए पनि बनेको १३ वर्ष पुगेको छ । पुल बनाउन सडक विभागले टेन्डर गरेको १ वर्ष पुगेको छ । तर, ठेकेदारले अझै काम सुरु गरेका छैनन् । बेलिब्रिज खसेपछि कर्णाली राजमार्ग नै ठप्प हुने खतरा रहेको नागरिक समाज कालीकोटका संयोजक कालीवहादुर मल्लले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?