२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उपभोक्ताको लगानीमा सडक

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–६ का स्थानीयले आफ्नै लगानीमा एक किलोमिटर सडक निर्माण गरेका छन् । स्थानीय सरकार र विभिन्न निकायलाई पटकपटक सडक निर्माण गर्न अनुरोध गरिए पनि बेवास्ता भएपछि स्थानीयले आफ्नै लगानी र श्रमदानमा सडक निर्माण गरेका हुन् । 

कुवाखोला हुँदै साउनेडाँडासम्मको एक किलोमिटर सडक निर्माणका लागि २२ घर परिवारले एक लाख १५ हजार रकम संकलन गरेका थिए । केही रकम अपुग भएपछि स्थानीयले सडक निर्माणका लागि श्रमदानसमेत गरेका हुन् । सडक निर्माणपछि विरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।


सडक निर्माणपछि कृषिजन्य उत्पादनले बजार पाउने र दैनिक उपभोग्य सामग्री ढुवानीमा सजिलो हुने स्थानीयको अपेक्षा छ । सरकारी निकायमा गरिएको पटकपटकको अनुरोधलाई बेवास्ता गरिएपछि उपभोक्ता नै सडक निर्माणमा जुटेको स्थानीय छविलाल नाथले बताए । उनले राजनीतिक पहुँच नहुँदा गाउँ विकासमा पछाडि परेको गुनासो गरे ।


उनले निर्माण गरिएको सडकलाई ६ मिटर चौडा बनाएर बाह्रै महिना गाडी सञ्चालन हुनयोग्य बनाइने जनाए । नगरका अधिकांश गाउँमा सडक सुविधा भए पनि आफूहरू लामो समयदेखि विकासबाट बञ्चित भएको उनको भनाइ छ ।


बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले स्थानीयले आफ्नो सडक आफै बनाउनु उदाहरणीय भएको बताए । ‘विकास निर्माणको काममा कसैलाई काखा र पाखा गरिएको छैन,’ उनले भने, ‘नगरमा आउने सिमित बजेटले सबैतिर भ्याउनुपर्ने बाध्यताका कारण गाउँसम्म सडक निर्माण गर्न सकिएको थिएन ।’ उनले उपभोक्ताले निर्माण गरेको सडक स्तरोन्नतिका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?