कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गिट्टी कुटेर पढाइ खर्च

जाजरकोट — बारेकोट गाउँपालिका–४, मैनास्थित जगत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने सुनिता बस्नेतको फुर्सदको समय गिट्टी कुटेरै बित्ने गरेको छ । उनी फुर्सद मिलाएर विद्यालय हाताभित्रै गिट्टी कुटछिन् । त्यसैबाट पढाइ खर्चको जोहो हुन्छ ।

बस्नेतजस्तै उक्त विद्यालयमा अध्ययनरत कौशिला बस्नेत, पुष्पा बस्नेत, सुनिता वोहोरा र वीरबहादुर विकलगायत बालबालिका गिट्टी कुटेर पढाइ खर्च जुटाउन बाध्य छन् ।


बालबालिकाले गिट्टी कुटेबापत १ सय २० रुपैयाँ ज्याला पाउने गरेका छन् । बालबालिकाले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गिट्टी कुटेका हुन् । पढाइ अघिपछि बचेको समयमा गिट्टी कुट्ने काम गर्ने गरेको सुनिताले बताइन् । ‘पढाइ खर्च जुटाउन विद्यालय पोसाकमै गिट्टी कुट्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम र विद्यालय ड्रेस गिट्टी कुटेको रकमले व्यहोर्ने गरिरहेका छौं ।’


गरीबीका कारण अन्य साथीहरू विद्यालयको पढाइ छाडेर यार्सागुम्बा खोज्न पाटनतिर गएको उनले बताइन् । उनी मात्र हैन, जाजरकोटका अन्य बालबालिका पनि पढाइ खर्च जुटाउन गिट्टी कुट्ने, ढुंगा बोक्ने, गोठालो लाग्ने, भाँडा माझ्नलगायत जोखिमपूर्ण कार्य गर्न बाध्य छन् ।


गरिबी, विपन्नता र चेतनाको कमीका कारण बालबालिकाले पढाइ छाडेर कडा परिश्रम गर्ने गरेका हुन् । शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षा खाद्यलगायत विषयलाई नेपालको संविधानले मौलिक हकको रूपमा व्यवस्था गरे पनि विपन्न वर्गका बालबालिका वञ्चित रहेको अधिकारकर्मीको भनाइ छ । स्थानीय देवबहादुर बोहराले राम्रो आर्थिक अवस्था बालबालिका भने सुविधा सम्पन्न विद्यालयमा अध्ययन गरिरहेको बताए । उनका अनुसार विपन्न परिवारका बालबालिकालाई पढाइ खर्च जुटाउन यार्चागुम्बु खोज्न पाटन जानुपर्ने र गिट्टी कुट्नुपर्ने बाध्यता छ ।


जुम्लाको सिमानासँग जोडिएका अन्य ग्रामीण क्षेत्रका बालबालिका साँझ–बिहान विभिन्न काममा व्यस्त हुने गरेका छन् । बोहराले जिल्लामा सयौं बालबालिका जोखिममा रहेको जनाए । ‘बालबालिका पढाइको साटो जोखिमपूर्ण कार्य गरेर जीवन निर्वाह गर्न बाध्य छन्,’ उनले भने, ‘अधिकांश बालबालिका बाबुआमा गुमाउँदा जोखिममा परेको पाइएको छ ।’ कतिपय बालबालिका बाबुआमाको मृत्यु हुँदा र बाबु वा आमाले दोस्रो विवाह गर्दा बिचल्लीमा पर्ने गरेको उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?