कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सार्वजनिक कार्यक्रममा शाकाहारी खाना

हरि गौतम

रुकुम पश्चिम — जिल्लाको आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रमका लागि निश्चित आचारसंहिता बनाएको छ । नगरपालिकाले नगर तथा वडालगायत विभिन्न संघसंस्थाले गर्ने सार्वजनिक कार्यक्रमका सन्दर्भमा आयोजकले अपनाउनुपर्ने आचारसंहिता बनाएर कार्यान्वयन थालेको हो । 

सार्वजनिक कार्यक्रमको खानपिनदेखि अतिथि सम्मान, सहभागी तथा समय पालनाको सन्दर्भमा आचारसंहिता बनाइएको हो । ३ नम्वर वडाको खदीमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक कार्यक्रमका लागि आचारसंहिता पारित गरेको थियो । नगरभित्र हुने सबै कार्यक्रममा साकाहारी खाना खुवाउने तथा खानेगरी आचारसंहिता बनाइएको छ ।


यसैगरी कुनै पनि सार्वजनिक कार्यक्रममा बढीमा पाँच जनाभन्दा बढी अतिथि नराखिने, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा बाहेक अतिथिलाई अबिर र खादा लाउन नपाउने त्यसको सट्टामा स्थानीय स्तरमा उत्पादित फूल तथा सामग्रीबाट बनाइएका माला लगाउन सकिने आचारसंहिता बनाइएको छ ।


कार्यक्रमका प्रमुख अतिथिले बढीमा ३० मिनेट र अन्य अतिथिले १० मिनेट मात्रै मन्तव्य राख्ने, आयोजकले २४ घण्टा अगावै प्रमुख अतिथिलाई खबर गर्नुपर्ने आचारसंहिता पनि बनाइएको छ । पत्रमा उल्लेख भएको समयमा उपस्थित नहुने अर्थात् कार्यक्रम सुरु भएको अवधि भन्दा १० मिनेट ढिला गर्ने प्रमुख अतिथि वा अन्य अतिथिलाई अतिथि बनाउन आयोजक बाध्य नहुनेसमेत आचारसंहिता बनाइएको छ ।


आयोजकले तोकिएको समयभन्दा आधा घण्टामा कार्यक्रम सुरु नगरेमा प्रमुख अतिथि, अन्य अतिथि तथा सहभागी उक्त कार्यक्रममा बस्न बाध्य नहुने गरी पनि आचारसंहिता बनाइएको छ । ‘हाम्रो नगरपालिकाको ५१ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छ,’ नगर प्रमुख गोर्खबहादुर केसीले भने, ‘विभिन्न कार्यक्रम गर्दा, अनुगमनमा जाँदा सकिनसकी, भ्याइनभ्याइ मासुको व्यवस्था गर्ने परिपाटी हटाउन आचारसंहिता नै बनाइएको हो ।’ सार्वजनिक कार्यक्रममा खसी, कुखुरा काट्नैपर्ने परिपाटी बनेकाले समस्या भएको उनको भनाइ छ ।


मासुले मात्रै धेरै व्ययभार घट्ने ठहर कार्यपालिकाले गरेको छ । नगरपालिकामा दैनिकजसो कुनै न कुनै कार्यक्रम भइरहेका हुन्छन् । हरेक दिन मासु खाँदा स्वस्थबर्द्धक पनि नहुने र व्ययभार पनि बढ्ने भएकाले आचारसंहिता नै बनाइएको नगर प्रमुख केसीले बताए । यसबाट धेरै मासु खाने संस्कृति घट्ने भनाइ उनको छ । आचारसंहिता नै बनाएपछि समूह, समितिलाई मासुका लागि दुःख गर्नुपर्ने थप खर्च गर्नुपर्ने बाध्यता टरेको छ ।


कार्यक्रममा हुने लापरबाहीलाई रोक्न अतिथि तथा आयोजकलाई पनि आचारसंहिता लगाइएको नगर कार्यपालिकाले जनाएको छ । कार्यक्रमका अतिथि लामो समयसम्म कार्यक्रममा नआइदिने आएर पनि घण्टौं भाषण गर्ने परिपाटीको अन्त्यका लागि अचारसंहिता बनाइएको हो । ‘नगरका धेरै कार्यक्रममा हामी अतिथि र सहभागी हुन्छौं, यस आचारसंहिताले हामीलाई नै कस्न खोजेका हौं,’ नगर प्रमुख केसीले भने । समयमै कार्यक्रम सुरु नहुँदा तथा नसकिँदा कार्यक्रमको भाव नै बिग्रिरहेको भनाइ उनको छ ।


आचारसंहिताअनुसार कार्यक्रमका प्रमुख अतिथिले सुरुमा मन्तव्य राख्ने छन् त्यो पनि ३० मिनेटभित्र मात्रै । त्यसपछि अन्य अतिथिले मन्तव्य राख्नेछन् । अन्य अतिथिले बोल्ने समयसीमा १० मिनेटको मात्रै राखिएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?