१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

१५ वर्षदेखि पाटीकै बास

सडकले बिचल्ली
‘प्रतीक्षालयमा बसेरै खान नपुग्ने भएकाले पेट पाल्न गाउँगाउँ गएर मादल मर्मतको काम गरिरहेको छु’
विप्लव महर्जन

(सल्यान) — सडक निर्माणका क्रममा घर भत्किएपछि शारदा नगरपालिका १, शान्तिनगरका ६० वर्षीय वीरबहादुर बादी १५ वर्षदेखि सार्वजनिक प्रतिक्षालयमा बस्न बाध्य छन्  । वर्षौदेखि प्रतिक्षालयमा बस्दा बादीले स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको छ  ।

१५ वर्षदेखि पाटीकै बास

शान्तिनगर–खलंगा सडक निर्माणका क्रममा घर भत्किए पनि उनले क्षतिपूर्ति पाउन सकेनन् । पत्नीको मृत्यु भइसकेको र एकमात्र सन्तान छोरीको बिबाह भएकाले उनी प्रतिक्षालयमा एक्लै बस्दै आएका छन् । बादीले पुर्ख्यौली पेशाबाटै जीविकोपार्जन गरिरहेका छन् ।

मादल मर्मत गरेर बिहान–बेलुकीको गुजारा गर्दै आइरहेको उनले जनाए । शारिरीक रुपमा कमजोर बन्दै गए पनि कसैले सहयोग नगरेको उनको गुनासो छ । जीविकोपार्जनमा समस्या हुन थालेपछि गाउँ गाउँमा गएर मादल मर्मत गर्ने गरिरहेको उनले बताए ।

खुला प्रतीक्षालयमा बस्दा चिसोले हातखुट्टा र शरीर दुख्ने गरेको उनको गुनासो छ । ‘प्रतिक्षालयमा बसेरै खान नपुग्ने भएकाले पेट पाल्न गाउँगाउँ गएर मादल मर्मत गर्ने गरिरहेको छु, आसपासका स्थानीय मादल लिएर यही मर्मतका लागि आउने गरेका छन्,’ उनले भने, ‘एउटा मादल मर्मत गरेवापत दुईदेखि ६ सय रुपैयाँसम्म कमाउने गरेको छु, जसोतसो गुजारा चलिरहेको छ ।’

पहिले बस्ने घर हुँदा नयाँ मादल निर्माण गर्ने गरेका उनले अहिले मर्मतमात्रै गर्छन । ‘भएको सानो घर बाटोले लग्यो,’ उनले भने, ‘बस्ने ठाँउ नभएपछि प्रतिक्षालयमा बस्दै आइरहेको छु ।’ गर्मीयाममा खासै समस्या नभए पनि वर्षा र हिउँदमा सास्ती हुने गरेको उनको भनाइ छ ।

हिउँदमा चिसोका कारण रातभरी आगो बालेर जाग्राम बस्ने गरेको उनी बताउँछन् । वर्षामा पानी परेको दिन जाग्राम बस्नुपर्ने वा आफन्तको घरमा शरण लिन जानुपर्ने बाध्यता रहेको उनले जनाए । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले गाउँका २० बादी परिवारलाई घर बनाइदिए पनि आफूलाई बेवास्ता गरेको उनको गुनासो छ ।

बाँया आँखामा समस्या आउन थाले पनि रकम अभावमा उपचार गर्न नसकेको बादीको भनाइ छ । ‘बाँया आँखाले देख्न छाडेकाले काम गर्न झन कठिनाई भएको छ,’ उनले भने, ‘६० वर्ष पुगे पनि सरकारी निकायले कुनै सहयोग गरेका छैनन् ।’ प्रतिक्षालयमा छाना बाहेक चारैतिर खुल्ला भएकाले बृद्धको अबस्था दयनीय बन्दै गएको स्थानीय संगीता नेपालीले बताइन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?