लिफ्ट प्रविधिले हटायो दुःख

हरि गौतम

(रुकुम पश्चिम) — चौरजहारी नगरपालिका १२, पातीहाल्नकी मंगली ओलीले केही दिनदेखि घर नजिकैबाट खानेपानी बोक्ने थालेकी छिन्  । घर नजिकै बनेको धाराबाट पानी बोक्दा उनलाई सजिलो त छ नै अन्य कामकाज पनि प्रभावित भएका छैनन्  ।

लिफ्ट प्रविधिले हटायो दुःख

यसअघि २ घण्टाको पैदल हिँडेर पानी बोक्ने गरेकी ओलीले घर नजिकैको पानी भर्न पाउँदा दंग छिन् । सोही ठाउँका ७० वर्षीय महावीर डाँगीले पनि घरनजिकैबाट पानी त भर्न पाएका छन् नै । टाढाबाट घर नजिकै पानी आउने प्रविधिदेखि भने उनी अचम्मित छन् ।

गाउँभन्दा धेरै तल पर्ने सिस्नेरी खोलाको पानी माथि गाउँसम्म पुगेपछि उनले आश्चर्य व्यक्त गरे । ‘गाउँ वरिपरि र गाउँभन्दा माथि पानीका मुहान छैनन्,’ डाँगीले भने, ‘तलको पानी माथि आउने हामीले सोचेका थिएनौं आफैले देखियो ।’ उनले टाढाको पानी गाउँ उक्लिएपछि सहज रुपले पानी खान पाइएको बताए ।

गाउँमुनि रहेको खोलाको पानी गाउँसम्म पुगेपछि ओली र डाँगी मात्रै होइन पातीहाल्नको साथै टुनीगैरा, बडगाँरा, खुइल्याई पोखरी र थारीहालेका ८२ घरधुरी खुसी भएका छन् । सिस्नेरी–सानीखोर्या–पातीहाल्ना लिफ्ट सिँचाइ उपभोक्ता समितिले लिफ्ट प्रविधिमार्फत भर्टिकलतर्फ ५ सय र पाइप बिछ्याउँदा १८ सय मिटर तलको पानी गाउँ उकालेपछि त्यस क्षेत्रको वषौंदेखिको खानेपानीको चाहना पूरा भएको हो ।

लिफ्टमार्फत गाउँमा खानेपानी पुगेपछि वर्षौदेखि टाढाबाट पिठ्युमा पानी बोक्दै आएको बाध्यता पनि टरेको छ । खानेपानी निर्माण थालिएको एक वर्षपछि पातीहाल्ना टाकुरीमा पानी पुर्‍याइएको निर्माण उपभोक्ता समिति अध्यक्ष हरिबहादुर केसीले बताए । लिफ्ट खानेपानी आयोजना निर्माणमा हालसम्म ५७ लाख रुपैयाँ खर्च भएको छ ।

जसमा नगरपालिकाले ४५ लाख रुपैयाँ खर्चेको छ भने १४ लाख बराबरको श्रमदान स्थानीय उपभोक्ताले गरेका छन् । आयोजना सम्पन्न गर्नका लागि ७३ लाखको स्टामेट भएको वडाध्यक्ष टिकाराम ओलीले बताए । घरघरमा धारा जडान गर्ने क्रम छिटै सुरु हुने उनले बताए ।

आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानीलाई प्राथमिकताका साथ अघि बढाइरहेको नगर प्रमुख विशाल शर्माले बताए । उनले नगरभरी खानेपानी पुर्‍याउन विभिन्न योजना निर्माणको चरणमा रहेको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?