१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

७० वर्षमा नागरिकता

मुगु — सोरु गाउँपालिका ६ की जानसरा कार्कीले ७० वर्षको उमेरमा नागरिकता पाएकी छिन् । सोरुकोटमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनले ७० वर्षको उमेरमा नागरिकता पाएकी हुन् ।

नागरिकता अभावमा उनी सबै सरकारी सुविधाबाट वञ्चित थिइन् । उनी मात्र होइन, शिविरमा ६० वर्ष पूरा भएका दुई दर्जन बढी ज्येष्ठ नागरिकले बल्ल नागरिकता पाएका छन् ।


नागरिकता प्रमाणपत्र पाएपछि ज्येष्ठ नागरिकमा सामाजिक सुरक्षा भत्तालगायत अन्य सरकारी सुविधा पाउने आशा छ । घरबाट २ दिन हिँडेर जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्दा उनी नागरिकताबाट वञ्चित थिइन् । ‘एक त उमेर ढल्किएपछि नागरिकता पाएँ, त्यो पनि घर नजिकै,’ उनले भनिन्, ‘धेरै खुसी छु, अब सरकारबाट केही सुविधा पाउने आश पलाएको छ ।’


सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले उनलाई नागरिकता उपलब्ध गराएका हुन् । भौगोलिक विकटताका कारण धेरै स्थानीय नागरिकतालगायत सरकारी सुविधाबाट वञ्चित रहेको भेटिएको उनको भनाइ छ । शिविरमा ३ सय ७१ जनालाई नागरिकता उपलव्ध गराइएको उनले जानकारी दिए ।


जिल्ला प्रशासनका अनुसार १ सय ३४ महिला र २ सय ३७ जना पुरुषले नागरिकता पाएका हुन् । नागरिकता बनाउन सदरमुकाम आउँदा सास्ती हुने र धेरै खर्च लाग्ने भएकाले अधिकांश बासिन्दा नागरिकताबाट वञ्चित थिए । सोरु गाउँपालिकाको ११ वटै वडाका बासिन्दालाई लक्षित गरी शिविरको आयोजना गरिएको थियो । सोरुकोटमा इलाका प्रशासन सेवा केन्द्र स्थापना गरिए पनि कर्मचारी अभावले दुई वर्षदेखि केन्द्र कामविहीन छ ।


तीनदिने शिविरमा अन्य सरकारी कार्यालले समेत सेवा प्रवाह गरेका थिए । करिब ४ सयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ भने १६ जनाले जग्गा दर्ता गरेका छन् । २२ जनाको जग्गा नामसारी गरिएको र २ सय २७ जनाको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ । शिविरमा ३ हजार २ सय ३७ पशुको उपचारसमेत गरिएको थियो ।


शिविरबाट भिई, धैनकोट, कालै, नार्थपु, फोतु, जिमालगायत गाउँका बासिन्दा लाभान्वित भएको सहायक प्रजिअ ढकालले जनाए । शिविरको व्यवस्थापन सोरु गाउँपालिकाले गरेको हो । शिविरमार्फत विपन्न नागरिकले घरदैलोमै सरकारी सेवा पाएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । पहिलोपटक नागरिकता प्रमाणपत्र पाएका स्थानीयलाई सरकारी सेवा प्रवाहमा जोड्न गाउँपालिकाले पहल गर्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?