१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विपत् व्यवस्थापन सिकाउँदै सेना

ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — रानीघाटको छेवैमा ५/७ वटा खर र परालले छाएका साना झुपडी । नदी किनारका लस्करै झुपडीमा एक दशकअघि आएको बाढी सम्झँदा अहिले पनि स्थानीय त्रसित हुन्छन् । त्यही बस्तीको एक झुपडीमा शनिबार भने दन्दनी आगो बल्यो । आगो निभाउने भन्दा पनि कसले आगलागी गरायो भन्नेमै स्थानीयबीच विवाद सुरु भयो ।

विपत् व्यवस्थापन सिकाउँदै सेना

आगो अरू घरमा पनि सल्किने क्रममा थियो । एक्कासि नेपाली सेनाको टोली आयो र केहीबेरमै आगो नियन्त्रणमा लियो ।


यो सत्य घटना भने होइन, सेनाले विपतका बेला गर्ने अभ्यासको नमुना हो । कृत्रिम अभ्यासका क्रममा केही सुरक्षाकर्मीले आगलागीमा परेका घर भत्काउँदै घाइतेलाई उपचारका लागि अस्पतालतर्फ दौडाए । केही जवानले क्षणभरमै आगो नियन्त्रणमा लिन सफल भए । प्रहरीको टोली भने आसपासका क्षेत्रका बासिन्दालाई सतर्क बनाउन जुटिरहेको थियो । त्यहीबेला खोला किनारमा विभिन्न संघ–संस्था र विपत व्यवस्थापनको अर्को टोली राहत लिएर पुग्यो ।


बाढी र पहिरोको उच्च जोखिम रहेको रानीघाटमा बर्खा सुरु हुनुअघि स्थानीयलाई सतर्क गराउन यो अभ्यास गराइएको हो । नमुना अभ्याससँगै सेनाले स्थानीय बासिन्दालाई प्रकोपबाट बच्ने उपायबारे जानकारी पनि गराएको छ । सेनासहित सुरक्षाकर्मीको टोलीले बाढी, पहिरो, आगलागीलगायत विपतबाट बचाउन ‘डेमो’ प्रदर्शन गरेका हुन् ।


दशकअघि रानीघाटका करिब २ सय परिवार बाढी पहिरोबाट विस्थापित भएका थिए । बराहताल गाउँपालिका उपाध्यक्ष शोभा शर्माले सुरुमा आफू पनि साँच्चिकै घटना ठानेर हतारिएको बताइन् । ‘पछि मात्रै थाहा भयो, कृत्रिम अभ्यास भएको रहेछ,’ उनले भनिन्, ‘प्रकोपको उच्च जोखिममा रहेको क्षेत्रमा गरिएको नमुना अभ्यास निकै प्रभावकारी भएको छ ।’ उनले नमुना अभ्यासले सबैलाई प्रकोपबाट बच्न सचेत बनाएको बताइन् ।


बाढीले घर परिवार गुमाएकी गौरीघाटकी माया गिरीले नमुना प्रर्दशनपछि आशु झार्दै उद्धार टोलीसमक्ष आफ्नो व्यथा सुनाइन् । ‘पहिल्यै यसबारे थाहा पाएको भए त्यो बेला विपत्तिको सामना गर्न सजिलो हुन्थ्यो, मेलै परिवार गुमाउनु पर्दैनथ्यो,’ उनले भनिन्, ‘नमुना अभ्यासबाट विपतका बेला अरुको भर पर्नुभन्दा आफै सक्षम हुन जरुरी रहेछ भन्ने सिकाइ भयो ।’


सरकारको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शनअनुसार नमुना अभ्यास गराइएको सबुज गणका प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले बताए । ‘सम्भावित विपतको जोखिम भएका स्थानमा यस्ता प्रकार क्रियाकलाप सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘वर्षायाम नजिकिँदै छ, विपतको सामना गर्न स्थानीयलाई सहयोग पुगोस् भनेर अभ्यास गरिएको हो ।’


अभ्यासमार्फत उच्च जोखिम भएका स्थान छनोट गरी विपतबाट प्रभावित समुदायको तत्कालै खोज, उद्धार र राहत व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रयास गरिएको उत्तर–पश्चिम पृतनाका पृतनापति सरोजप्रताप राणाले बताए । ‘भइपरी आउने विपतमा सेनालगायत सुरक्षा निकायले सञ्चालन गर्ने क्रियाकलापबारे जानकारी गराउन पनि नमुना अभ्यास प्रदर्शन गरिएको हो,’ उनले भने । नमुना अभ्यास प्रदर्शनीमा सेनाको स्थानीय गण/गुल्म, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विपत् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्ने अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?