१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

छाउप्रथा हटाए १ लाख

हरि गौतम

(रुकुम पश्चिम) — मुसीकोटलाई छाउपडी प्रथा नरहेको नगरपालिका घोषणा गरिएको छ । ठूलो तामझामका साथ बराहटाकुरा टुँडिखेलमा आइतबार आयोजित औपचारिक कार्यक्रममार्फत छाउपडीमुक्त नगरपालिका घोषणा गरियो । तर स्थानीयले घोषणा कार्यक्रम हुनुअघि कहिल्यै छाउपडी प्रथा छ भनेर सुनेकासमेत थिएनन् ।

छाउप्रथा हटाए १ लाख

मुसीकोटलाई छाउपडीमुक्त घोषणापूर्व नगरपालिका तथा अन्य सरोकारवाला निकाय कसैले पनि यस विषयमा कुनै कार्यक्रम प्रचारप्रसार पनि गरेका थिएनन् । ‘रुकुममा छाउपडी छ भनेर कहिल्यै थाहा पाएनँ,’ स्थानीय पार्वती पुनले भनिन्, ‘तर आज नगरपालिका छाउपडीमुक्त घोषणा भयो ।’ हुँदै नभएको प्रथा अन्त्य भएको घोषणा गर्नु गलत भएको बुझाइ उनको छ ।


यस विषयमा नगरपालिकाको भने आफ्नै तर्क छ । नगरप्रमुख देवीलाल गौतमले छाउपडीमुक्त नभई जिल्लामा छाउपडी प्रथा नरहेको घोषणा गरिएको तर्क गरे । ‘कर्णालीबाटै यो छाउपडीजस्तो कुप्रथा अन्त्यको प्रयास प्रदेश सरकारले गरेको छ,’ उनले भने, ‘सरकारको कार्यक्रम सफल बनाउन छाउमुक्त घोषणा गरेका हौं ।’ प्रदेश सरकारले थालेका अभियानका सूची धेरै छन् । ती सबै स्थानीय सरकारबाट गर्दा स्थानीय, प्रदेश तथा संघीय सरकार सफल हुँदा फरक नपर्ने भनाइ उनको छ । नगरभित्र मात्रै नभई जिल्लामै छाउपडी प्रथा भने नरहेको नगर प्रमुख गौतमले स्वीकारे ।


नगरका ९० प्रतिशत घरपरिवारले महिनावरी भएका महिलामाथि छाउ (छुई) बार्ने चलन नगरेको नपाइएकाले मुसीकोट नगरपालिकाभित्र छाउपडी प्रथा अन्त्य भएको घोषणा गरिएको नगर प्रमुख गौतमले बताए । त्यसको कार्यान्वनका लागि नगरपालिकाले ५ बुँदे प्रतिबद्धता जारी गरेको छ । महिनावारी भएकालाई नि:शुल्क सेनेटरी प्याड वितरण तथा प्रजनन् स्वास्थ्य र महिनावारीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको छ ।


प्रदेशको सामाजिक विकास मन्त्रालयले हरेक सामाजिक कुप्रथा अन्त्यको घोषणा गर्ने, स्थानीय सरकारलाई १ लाख नगद दिने घोषणा गरेको छ । कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति सभापति राजु नेपालीले ३ रिबन काटेर मुसीकोटलाई छाउपडीमुक्त, जातीय छुवाछुतमुक्त तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिन् । नगरभित्र कुनै पनि खालको जातीय विभेद नरहेको तथा सबै समुदायबीच आपसी सद्भावयुक्त वातावरण बनेपछि नगरपालिकालाई जातीय सद्भावयुक्त नगर घोषणा गरिएको हो । यसका लागि नगरपालिकाले १२ सूचक पूरा गरेको जनाएको छ । यसको कार्यान्वनका लागि भने ८ प्रतिबद्धता जारी गरिएको छ ।


अन्तरजातीय विवाहको प्रोत्साहन, बालीघरे प्रथा अन्त्यका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ । घरजग्गाविहीन दलित समुदायलाई आवास निर्माण, दलित बस्तीलाई जातीय सद्भावयुक्त नमुना ग्रामीण बस्ती तथा सहरी बस्ती स्थापना गर्ने, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सचेतनामूलक तथा सशक्तीकरण गर्ने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।


नगरभित्र रहेका १६ देखि २३ महिना उमेरका ४ सय ७७ बालबालिकालाई सबै खोप लगाइसकिएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जनाइएको छ । नगरभित्र अब जन्मने हरेक बच्चालाई पूरा खोप लगाउने ग्यारेन्टी भएकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको स्वास्थ्य संयोजक कमला केसीले बताइन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?