पानीका लागि जाग्राम

ट्यांकी निर्माणका क्रममा जग्गा विवाद भएपछि मर्मतको काम रोकियो, त्यसपछि खानेपानी योजनाको काम पनि ठप्प भयो
विप्लव महर्जन

(सल्यान) — खडेरीले मुहान सुकेपछि बन्गाडकुपिण्डे नगरपालिकाको मुख्य व्यापारिक केन्द्र सल्लीबजारका सर्वसाधारण रातभर जाग्राम बस्न बाध्य छन् । बजारभर एकमात्र धारा हुँदा राति पालो कुरेर सर्वसाधारणलाई खानेपानी भनुपर्ने बाध्यता छ ।

पानीका लागि जाग्राम

नजिकैका खानेपानी मुहान सुकेपछि सल्लीबजारका २ सय परिवारलाई सास्ती भएको हो । खानेपानी अभावले महिला र बालबालिका बढी समस्यामा छन् । कहिलेकाही रातभर जाग्राम बस्दा पनि नपाइएपछि खोलाको दूषित पानी उपभोग गर्नुपर्ने बाध्यता छ । खानेपानी योजना मर्मतका लागि बजेट विनियोजन भए पनि खर्च हुन सकेको छैन । ट्यांकी निर्माणका क्रममा जग्गा विवाद भएपछि मर्मतको काम रोकिएको हो ।


पानीका लागि वर्षौंदेखि सास्ती पाइरहेको सल्लीबजारकी कमला खडका बताउँछिन् । उनले नयाँ योजना निर्माण नहुँदा र पुरानो योजनाको मुहान खडेरीमा सुक्दा स्थानीयले सास्ती भोगिरहेको बताइन् । ‘बजारभर एउटा मात्र धारो छ, पानी भर्नेको भीड दिनभर हुने भएकाले राति जाग्राम बसेर पानी भर्दै आएका छौं,’ उनले भनिन्, ‘एक गाग्री पानी भर्न २/३ घण्टा कुनुपर्ने बाध्यता छ ।’ केही व्यवसायीले इनार खनेर घरमै पानीको सुविधा पाए पनि विपन्न भने समस्यामा रहेको उनले बताइन् ।


स्थानीय दीपा नेपालीले वर्षौंदेखि हिउँदको समयमा पानीको समस्या हुने गरे पनि सरकारी निकायले बेवास्ता गरिरहेको बताइन् । ‘केही वर्षअघिसम्म बजारमा ६ धारा थिए, मुहान सुक्ने क्रम बढेसँगै धाराको संख्या पनि घटे,’ उनले भनिन्, ‘सरकारी निकायले नयाँ योजना निर्माण नगर्दा सधैं खानेपानीका लागि सास्ती भोग्दै आएका छौं ।’ उनले एक महिनायता राति पालो कुरेर पानी भर्दै आइरहेको बताइन् । उनका अनुसार रातकै समयमा भीड हुने भएकाले जाग्राम बस्नुपर्ने अवस्था आएको हो । उनका अनुसार फागुनदेखि जेठसम्म बजारका बासिन्दाले पानीको समस्या बढी भोग्नुपरेको छ ।


नजिकैको भेरी नदीमा प्रशस्त पानी भए पनि आपूर्ति व्यवस्था नहुँदा समस्या भएको स्थानीयको भनाइ छ । १५ वर्षदेखि स्थानीयले हिउँदमा खानेपानीका लागि सास्ती भोगिरहेको गणेश बुढाले बताए । उनका अनुसार छिन्चु(जाजरकोट(चौरजहारी सडक खुलेपछि दुई दशकदेखि सल्लीमाबजार फस्टाएको हो । साबिक खानेपानी सब(डिभिजन कार्यालयले निर्माण गरेको योजना जीर्ण बनेपछि मुहान सुकेको हो । उनले पिउनबाहेक अन्य कामका लागि भेरी नदीको पानी प्रयोग गर्दै आएको जनाए ।


खानेपानी हाहाकार भइरहेका बेला योजना मर्मतमा विवाद भएको व्यवसायी विजय नेपालीले बताए । उनले जनप्रतिनिधिले समेत विवाद मिलाउन ध्यान नदिएको आरोप लगाए । विवाद समयमै नसुल्झिए आगामी वर्षसम्म योजना मर्मतको काम धकेलिने उनी बताउँछन् । उनका अनुसार खानेपानी अभाव सल्लीबजारलगायत नगरपालिकाका १२ वटै वडामा छ ।


बन्गाड नगरपालिका प्रमुख गोविन्दकुमार पुनले सल्लीबजारमा बृहत् खानेपानी योजनाको आवश्यकता रहेको बताए । उनले ठूलो खानेपानी योजनाको माग भए पनि नगरमा सीमित बजेट हुने भएकाले खानेपानी समस्या समाधान गर्न नसकिएको जनाए । ‘नगरका अधिकांश बस्ती डाँडामा छन्, मुहान खोलाको छेउछाउमा छन्,’ उनले भने, ‘लिफ्।्ट सिस्टमको विकल्प छैन सबै बस्तीमा पानी पुर्‍याउन ।’ उनले लिफ्ट प्रविधिको सामान्य खानेपानी योजना निर्माण गर्न पनि करोड बढी रकम खर्च हुने भएकाले समस्या भएको जनाए । उनले खानेपानी योजना निर्माणका लागि प्रदेश र संघीय सरकारसँग माग गरिएको जानकारी दिए ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?