१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

९६ घण्टामा आउँछ पानी

चुलियो खानेपानी अभाव
उपत्यकामा खानेपानी आपूर्ति गर्ने मुख्य मुहान झुप्राखोलामा पानी आधा घट्यो, अहिले प्रतिदिन ८१ लाख ६४ हजार लिटर अपुग
कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी अभाव चुलिँदै गएको छ । ९६ घण्टा बिराएर धारामा पानी आउन थालेपछि उपभोक्ता सास्ती भोग्न बाध्य छन् । 

९६ घण्टामा आउँछ पानी

आसपासका क्षेत्रका खानेपानी मुहान ५० प्रतिशतले सुकेपछि वीरेन्द्रनगर काकाकुल बनेको हो । नगरमा खानेपानी आपूर्ति गर्ने मुख्य मुहान झुप्राखोलामा पानी आधा घटेको छ । झुप्रा खोलाको मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुने गरेकोमा अहिले ४० लिटर मात्रै छ । अहिले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ‘फ्लोसेडिङ’ तालिका लागू गरी ४ दिनमा एकपटक पानी छोडिरहेको छ ।


आयोजना सुरु भएको १९ वर्षमा सबैभन्दा बढी यो वर्ष पानीको मुहान सुकेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उनका अनुसार उपत्यकामा अहिले प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । उनले अर्को मुहान खरीबोरी खोलाबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति भइरहेको जनाए ।


‘नगरपालिकाभित्र प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक हुन्छ,’ उनले भने, ‘अहिले सुक्खा खडेरी भएकाले हामीले न्यूनतम औसत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध गराइरहेका छौं ।’ उनका अनुसार संस्थामार्फत १७ हजार घरधुरीमा खानेपानी वितरण गरिएको छ । पानीको आपूर्ति घटे पनि समानुपातिक रुपमा खानेपानी उपलब्ध गराइरहेको उनी बताउँछन् ।


समस्याको दिगो समाधान : भेरी पम्पिङ आयोजना

वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ खानेपानी आयोजना एकमात्र विकल्प भएको वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी बताउँछन् । ‘आसपासमा रहेका खानेपानीका मुहानबाट आपूर्ति कम हुनु र जनसंख्या बढदै जानुले बर्सेनि खानेपानी संकट हुने गरेको हो,’ उनले भने, ‘त्यसका लागि भेरी पम्पिङ आयोजनालाई अगाडि बढाउन खोजेका हौं ।’


भेरीको पानीलाई लिफटिङ गरी खानेपानी आपूर्ति गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले गत वर्ष असारमा डीपीआर गरेको थियो । ३ करोड लागत स्टमेट अनुमान गरी ३ इनारबाट प्रतिसेकेण्ड ४ सय लिटर पानी तान्ने डीपीआरमा उल्लेख छ । योजना कार्यान्वयनका लागि संघीय सरकारले आयोजना कार्यालयको समेत स्थापना गरिसकेको छ । तर डिजाइनका क्रममा केही त्रुटि देखिएकाले पुनः डिजाइन गर्न थालिएको कार्यालयले जनाएको छ ।


डीपीआरमाथि केही विज्ञ र वैज्ञानिक सन्तुष्ट नदेखिएकाले पुनः डिजाइन गर्न थालिएको आयोजना प्रमुख पूर्णबहादुर जोहार्चनको भनाइ छ । ‘यसअघि ३ इनारबाट प्रतिसेकेन्ड ४ सय लिटर पानी तान्ने गरी डिपिआर गरिएको थियो,’ उनले भने, ‘नेपालमा अहिलेसम्म इनारबाट ३० लिटर मात्र पानी १ सेकेन्डमा तान्न सकिएको छ, त्यसैले विज्ञको सल्लाहअनुसार पुनः आयोजनाको डिजाइन गर्न लागिएको हो ।’ पुनः डिजाइनको काम सकिएपछि मात्र टेन्डर प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।


वडाका बासिन्दालाई ट्यांकरबाटै पानी

चर्को खडेरीका कारण स्थानीयले खानेपानी अभाव झेल्न थालेपछि वीरेन्द्रनगर ४ वडा कार्यालयले वडाका बासिन्दालाई ट्यांकरमा बोकेर खानेपानी उपलब्ध गराइरहेको छ ।


पहिलो चरणमा ट्यांकरमार्फत १२ हजार लिटर खानेपानी वडाका बासिन्दालाई वितरण गरिएको हो । इन्धन खर्च व्यहोरेर खानेपानी वितरण गरिएको वडासदस्य कृष्ण गौतमले बताए । उनका अनुसार प्रत्येक घरधुरीलाई ५ देखि १० लिटरसम्म खानेपानी वितरण गरिएको हो । ‘पहिलोपल्ट वडाको बजेटबाट इन्धन व्यहोरेर खानेपानी वितरण गरेका हौं,’ उनले भने, ‘खडेरी जारी हुँदासम्म खानेपानी संकट हुने भएकाले आगामी दिनमा पनि वितरणको कामलाई निरन्तरता दिइनेछ ।’

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?