यार्सा सिजन : विकास निर्माण र पठनपाठन ठप्प

गाउँमा सञ्चालित खानेपानी, बाटो, भवन, सिँचाइलगायत विकासका काम रोकिए, १ मावि, ४ निमावि र १२ प्रविमा पढाइ रोकियो

मुगु र डोल्पा — मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा यार्सा संकलनका लागि पाटनमा उक्लिन थालेपछि विकास निर्माण र पठनपाठन प्रभावित भएको छ । बालबालिकासमेत पाटन जान थालेपछि सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध हुन थालेको हो । 

यार्सा सिजन : विकास निर्माण र पठनपाठन ठप्प

गाउँपालिकाले जेठ १५ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा संकलन खुला गरेको छ । स्थानीय बासिन्दा यार्साको खोजीमा हिडेपछि गाउँमा सञ्चालित खानेपानी, बाटो, भवन, सिँचाइलगायत विकासका काम रोकिएका छन् ।


पाटनबाट यार्सा टिपेर स्थानीय गाउँ झरेपछि विकास निर्माणको बाँकी काम सुरु हुने जनप्रतिनिधि बताउँछन् । अधिकांश बासिन्दा यार्सा टिप्न जान थालेपछि १ महिनाका लागि भौतिक पूर्वाधार निर्माण तथा क्षमता विकासका काम स्थगित गर्ने अवस्था आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजाल बताउँछन् ।


गाउँपालिकाको ९ वटै वडाका मह, माग्री, सेरोक, डोल्फु, रिउस, पुवा, ताखा, खारी, दाउरालगायत गाउँका बासिन्दा लेकमा उक्लन थालेका हुन् । ७७ प्रतिशत योजनाको काम सकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार सर्वसाधारण गाउँ झरेपछि बाँकी रहेको २५ प्रतिशत काम सुरु गरिनेछ ।


गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, छापाखोलालगायत स्थानमा यार्सा पाइन्छ । यार्सा सिजनका बेला गाउँमा हिँड्न नसक्ने र केही घर कुरुवा मात्र हुन्छन् । स्थानीयले वर्षभरिको खाद्यान्न र अन्य सामग्री जोहो यार्सा संकलनवापत संकलन भएको रकमले गर्ने भएकाले गाउँ सुनसान भएका हुन् ।


यार्सा सिजनले विकास योजनामा काम गर्ने मजदुर पाइन छाडेको गाउँपालिकाका इन्जिनियर सरोज केसी बताउँछन् । ‘छोटो समयमा बढी पैसा कमाउने आशले स्थानीय पाटन उक्लिन्छन्,’ उनले भने, ‘अधिकांश काम सकिसकेका छौं, बाँकी काम असार दोस्रो साताबाट सञ्चालन गरिनेछ ।’


हिउँदमा मौसमी बसाइ र जेठ/असारमा यार्सा संकलन सिजन हुने भएकाले गाउँपालिकामा विकासका काम न्यून हुने गरेका छन् । यार्सा टिप्न जानेबाट प्रवेश शुल्क संकलनका लागि गाउँपालिकाले वडा २ का अध्यक्ष कार्मा तामाङ र अधिकृत तीर्थराज शाही नेतृत्वमा समिति गठन गरी सिरानचौर पठाएको छ । सुरक्षाका लागि १५ सशस्त्र प्रहरीको टोली पाटन क्षेत्रमा खटिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि माथिका सबै छात्रछात्रा यार्सा टिप्न जाँदा पढाइ प्रभावित हुने गरेको सेरोक निमाविका शिक्षक सिंह बुढाको भनाइ छ । उनका अनुसार गाउँपालिकामा रहेका १ मावि, ४ निमावि र १२ प्राथमिक विद्यालयको पठनपाठन यार्सा सिजनमा प्रभावित हुने गरेको हो । विद्यार्थी यार्सा टिपेर नफर्किंदासम्म सामुदायिक विद्यालयहरूमा कार्यरत ६५ शिक्षक फुर्सदिला हुने गरेका छन् ।


गाउँहरू सुनसान

डोल्पाका अधिकांश पाटनमा यार्सा संकलन सुरु भएपछि गाउँ सुनसान बनेका छन् । जगदुल्ला, भित्रवन, कागमारा, फूलबारी, कुनासा, भोक्पा, भम्पे, डोप्के, माटे, छमकुनी, बासुदा, नाउरे, सागरलगायत पाटन सोमबारबाट यार्सा टिप्न खुला गरिएका छन् ।


युवाहरू यार्सा संकलन गर्न विभिन्न पाटन गएपछि गाउँमा बृद्ध र बालबालिका मात्र रहेको सर्मीका लंकबहादुर बुढाले फोनबाटै बताए । ‘गाउँ मानवविहीन बनेका छन्,’ उनले भने, ‘बालबालिकासमेत यार्सा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द हुने क्रम बढेको छ ।’ पाटन नजिकका गाउँका बासिन्दाले पशु चौपाया पाटन क्षेत्रमै लगेका छन् ।


घरमा ताला लगाएर अधिकांश परिवार यार्सा टिप्न पाटन पुगेको ठूलीभेरी नगरपालिका ११, रहका शेरबहादुर राउत बताउँछन् । ‘गाउँमा एकाध परिवारका बुढापाका र साना बालबालिका मात्र छन्,’ उनले भने, ‘स्थानीयले वर्षभरिको परिवारको खर्चको जोहो यार्सा संकलनकै रकमबाट गर्ने भएकाले बालबालिकादेखि वृद्धसम्म पाटन जाने गरेका हुन् ।’


विद्यार्थी नआउँदा शिक्षक हाजिर गर्दै घाम तापेर फर्कने गरेको सरस्वति मावि दुनैका प्रधानाध्यापक सत्यनारायण सिंह बताउँछन् । उनका अनुसार विद्यालयमा अध्ययनरत ५ सय ६७ विद्यार्थीमध्ये ५/७ जना मात्र आउन थालेपछि पठनपाठन रोकिएको हो ।


शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका १ सय १३ विद्यालयमध्ये १ सय ९ मा शिक्षक नियमित उपस्थित भए पनि विद्यार्थी नहुँदा पठनपाठन रोकिएको छ । एकाइका निमित्त प्रमुख धनबहादुर शाहीले शिक्षक विद्यालय जाने गरे पनि हाजिर गरेर फर्कने गरेको बताए ।


अमरसिंह आधारभूत विद्यालय मुहु, हिमज्योति आधारभूत सार्कीटोल, काञ्जिरोवा आधारभूत दापु र तापीरिचा माविमा भने १ कक्षादेखि ३ सम्म मात्र पढाइ भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १७, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?