कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डढेलोले १२ हजार हेक्टर वन जल्यो

बिप्लब महर्जन

सल्यान — १० स्थानीयतहका बिभिन्न ठाँउका २२ सामुदायिक वनमा लागेको डढेलोका कारण १२ हजार हेक्टर सामुदायिक तथा राष्ट्रिय वन जलेर नष्ट भएको छ । डढेलोका कारण वनमा रहेका सयौं साना बोटबिरुवा समेत नष्ट भएका छन् । 

डढेलोले १२ हजार हेक्टर वन जल्यो

डढेलोका कारण सामुदायिक बनमा राखेको खोटो ,दाउरा, जडिबुटी नष्ट हुँदा लाखौको क्षति भएको छ । डढेलोका कारण २२ सामुदायिक वनमा तीन सय देखि आठ सय हेक्टरसम्म वन जलेर पूर्णरुपमा क्षति भएको डिभिजन वन कार्यालय प्रमुख थीरबहादुर कार्कीले बताए ।


डढेलोका कारण छत्रेश्वरीको रामकाँडा, कपुरकोटको मुलपानी र कालीमाटी गाउँपालिकाको लक्ष्मीपुरमा दर्जन घर जलेर नष्ट भएको र डढेलो निभाउने क्रममा तीनजनाले ज्यान गुमाएको उनले जानकारी गराए ।


उनका अनुसार छत्रेश्वरी गाउँपालिका ६ तुसारे सिमपानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा जलेर स्थानीय ६५ वर्षकी पेन्टी बोहरा, ४२ का खगेन्द्र बोहरा र शानपा ९ दुबेरीचौरमा वर्ष ६३ का गोबर्धन पुनको मृत्यु भएको थियो ।


जंगलमा लागेको डढेलोका कारण दर्जनबढी घर जोखिममा परेका थिए । एक महिना अघिदेखि लागेको डढेलो अहिले पनि ठाँउठाँउका सामुदायिक वनमा लागिरहेको उनले जानकारी गराए ।


डढेलो नलगाउन स्थानीय सामुदायिक वनका उपभोक्तालाई सचेत गराउँदै आएको र डढेलो लागेमा निभाउने औजार उपलब्ध गराए पनि कसैले चासो नदिएको उनले बताए । बस्ती नजिकै भएको ठाँउबाट खवर आएमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वनका कर्मचारी गएर निभाउने गरेको उनले जानकारी गराए । शारदा नगरपालिका १५ माल्नेटामा डढेलोका कारण दुर्लभ मानिने जंगली जनावर रतुवा मरेको छ ।


डढेलोले गर्दा सल्लाको खोटो उत्पादनमा कमी आउने डिभिजन वन अधिकृत कार्कीले जानकारी गराए । भौगोलिक विकटताका कारण धेरै ठाँउमा लागेको डढेलो निभाउन कठिनाई भएको छ । वनमा डढेलो लगाए पानीले बगाई ल्याएको खरानी खेतमा परे मल हुने, बस्तुभाउँका लागि घासपात छिटो पलाउने र हिडेर आउजाउमा सजिलो हुने भन्दै स्थानीयले नै डढेलो लगाउँदै आएको उनको भनाई छ । ‘हामीले रेडियोमार्फत बारम्बार जनचेतना फैलाउन सामुदायिक वनमा गएर उपभोक्तालाई तालिम दिदै आएको छौ’ उनले भने ‘उपझोक्ताले ब्यत्तिगत स्वार्थका कारण डढेलो लगाउन छाडेका छैनन् । यसले गर्दा ठूलो असर परेको छ ।’


जिल्लाका बिभिन्न ठाँउमा गएर वनमा डढेलो लागे तथा घर आगलागी भएमा कसरी निभाउने भन्ने बारे एक महिनायता बिभिन्न ठाँउमा गएर नमुना प्रदर्शन गरी स्थानीयलाई जानकारी गराउँदै आए पनि चासो नदेखाएको सशस्त्र प्रहरी कार्यालय सल्यानका प्रनाउ विमल डाँगीले बताए । जंगलमा डढेलो लगाउँदै आएको क्रममा दुई जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएको उनले जानकारी गराए । ‘एक ठाँउमा गएर निभायो अर्को ठाँउमा लगाउने गरेकाले हिजोआज बस्ती बाहेक टाढा भए र बस्तीलाई असर नपर्ने देखिएमा जान छाडेका छौ’ उनले भने ।


एक महिना अघि देखि बिभिन्न ठाँउमा लागेको डढेलो निभाउँदै आए पनि अझै केही ठाँउमा लागिरहेको उनले जानकारी गराए । सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोले वातावरण प्रदुषित बनाएको उनको भनाई छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?