कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शिक्षक नहुँदा सामूहिक पढाइ

विद्यालयका २ भवनमध्ये एक २०७२ मा आएको भूकम्पले कामै नलाग्ने गरी भत्काएको छ
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १०, मधनास्थित कालिका प्राथमिक विद्यालयमा शिक्षक अभाव भएपछि ३ वटा कक्षाका विद्यार्थीले एउटै कोठामा पढदै आएका छन् । विद्यालयमा एकमात्र शिक्षक कार्यरत हुँदा सामूहिक पठनपाठन हुने गरेको हो ।

शिक्षक नहुँदा सामूहिक पढाइ

विद्यालयमा शिक्षक दीपक थापा मात्र कार्यरत छन् । २०६४ मा स्थापना गरिएको विद्यालय सुरुमा कक्षा ५ सम्म सञ्चालित थियो । विद्यालय सञ्चालन भएको केही वर्षमा शिक्षक तथा विद्यार्थी अभाव भएपछि कक्षा ३ मा झारिएको हो ।


विद्यालयमा ४० विद्यार्थी अध्ययनरत छन् । सामुहिक पढाउँदा पठनपाठन प्रभावकारी हुन नसकेको उनको भनाइ छ । आफूमात्रै कार्यरत रहँदा विद्यालयको पढाइ गुणस्तरीय हुन नसकेको उनले बताए ।


छुट्टै राखेर एउटा कक्षालाई पढाउँदा अर्को कक्षाका विद्यार्थी खेल्न जाने गरेकाले एउटैमा राखेर पढाइरहेको थापाले जानकारी दिए । विद्यालयमा १ बाल शिक्षा सहयोगी कार्यकर्तासमेत कार्यरत छिन् । तर, उनले शिशुको मात्र पठनपाठन गर्ने भएकाले समस्या भएको विद्यालयले जनाएको छ । ‘विद्यालयको कामकाजले बाहिर जाँदा पठनपाठन बन्द हुने गरेको छ,’ उनले भने, ‘विद्यालयका प्रशासनिक कामहरू पनि गर्नुपर्ने भएकाले समस्या भइरहेको हो ।’ उनले पटकपटक शिक्षक माग गर्दा पनि विभिन्न निकायबाट बेवास्ता भइरहेको जनाए ।


बालबालिकालाई पढाउने भन्दा पनि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कसरी विद्यालयमा टिकाउने भन्ने ठूलो चुनौती भएको थापा बताउँछन् । उनका अनुसार विद्यालयमा शिक्षक मात्र होइन, अन्य पूर्वाधारको समेत अभाव छ । उनले कार्यालय सहयोगीको कामसमेत आफै गर्नुपर्ने बाध्यता रहेको सुनाए । ‘एउटा कक्षाको कोर्स पढाउँदा अर्को कक्षाको पढाइमा डिस्टर्ब हुने गरेको छ,’ उनले भने, ‘केही समय एउटा कक्षाको पढाइ सकेर अर्को कक्षाका विद्यार्थीलाई लेख्न दिन्छु अनि अर्कोलाई पढाउँछु ।’


विभिन्न कामले शिक्षक बाहिर गइरहने भएकाले विद्यार्थीहरू बेलाबेलामा पठनपाठनबाट वञ्चित हुने गरेको अभिभावकको गुनासो छ । अभिभावकका अनुसार शिक्षक अभावमा विद्यार्थीले जसरी सिक्नुपर्ने हो त्यहीअनुसार सिक्न सकेका छैनन् ।


विद्यालयका २ भवनमध्ये एक भवन २०७२ मा आएको भूकम्पले कामै नलाग्ने गरी भत्काएको छ । अहिले ३ कोठे जीर्ण भवनमा पढाइ भइरहेको छ । एउटा कोठामा बालशिक्षा र अर्को कोठामा १ देखि ३ कक्षाका विद्यार्थीलाई पढाउने गरिएको छ । तेस्रो कोठामा विद्यालयका सामग्री राखिएका छन् ।


विद्यालयले शैक्षिक सामग्री अभावको समस्यासमेत वर्षौंदेखि भोग्दै आइरहेको छ । जिल्ला शिक्षा कार्यालयको खारेजीपछि स्थानीय तहले समेत बेवास्ता गर्दा आफूले ७ महिनाको तलब नपाएको शिक्षक थापाको गुनासो छ । चालु आवदेखि शारदा नगरपालिकाले तलबको व्यवस्था गर्ने जनाए पनि अहिलेसम्म नदिएको थापाले दुःखेसो पोखे ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?