फिस्टुलापीडित ३ सय महिलाको उपचार

सुर्खेत — सुर्खेत फिस्टुला सेन्टरले प्रशब फिस्टुला भएका ३ सय महिलाको उपचार गरेको छ । यसअघि विभिन्न घुम्ती शिविरमार्फत उपचार गर्दै आइरहेको सेन्टरले १ वर्षदेखि प्रदेश अस्पतालस्थित आफ्नै भवनबाट उपचार गरिरहेको छ ।

आइएनएफ र अस्पतालको सहकार्यमा सेन्टरले सेवा दिएको हो । सेन्टरमा विदेशी विशेषज्ञ डा. शेलीसहित स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । डा. शेलीका अनुसार प्रशव अवस्थामा लामो व्यथा लागेपछि पिसाब चुहिरहने समस्या हुनु फिस्टुला हो ।


‘गर्भवतीको स्वास्थ्यमा ध्यान दिए र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिए यो समस्या समाधान गर्न सकिन्छ,’ उनले भनिन्, ‘सानैमा बच्चा जन्माउनु, गर्भवती अवस्थामा कम स्याहार गर्नु, गर्भवतीले पोषिलो खाना नखानु, असुरक्षित प्रसूति हुनुलगायत कारण यो समस्या ग्रामीण क्षेत्रमा बढ्दो छ ।’ उनले आईएनफले विभिन्न घुम्ती शिविरमार्फत बिरामीको खोजी गरी फिस्टुलाको उपचार गर्दै आइरहेको बताइन् ।


प्रशव फिस्टुला दिवसका अवसरमा बिहीबार फिस्टुला उपचार केन्द्रमा आयोजना गरिएको कार्यक्रमका सहभागीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । साइनिङ अस्पतालका व्यवस्थापक मंगल थारूले फिस्टुलापीडित महिला समाजमा अपहेलित हुनुपरेको बताए ।


प्रदेश अस्पतालकी नर्सिङ प्रमुख दीपा भट्टराईले गाउँमा गुणस्तरीय प्रसूति सेवा उपलव्ध नहुँदा फिस्टुलाको समस्या बढिरहेको बताइन् । प्रदेश अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डिनेन्ट डा. गणेश थापाले सरकारले निःशुल्क प्रदान गरेको गर्भवती जाँच सेवा लिए यो समस्या नहुने बताए । प्रदेश अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्याम कँडेलले यो समस्या महिलाको मानव अधिकारसँग पनि जोडिएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?