खानेपानी अधिकार खोज्दै उपभोक्ता

खानेपानी अभाव झेलिरहेका पलाताको धौलागोहका स्थानीयवासी नियमित कक्षा लिएपछि आफ्ना समस्याबारे जनप्रतिनिधिसँग माग राख्न थालेका छन् 
तुलाराम पाण्डे

कालीकोट — सुक्खा खडेरीग्रस्त पलाता ३, धौलागोहका स्थानीयबासी खानेपानी अधिकारका लागि सक्रिय भएका छन् । खानेपानी अभावले ६ घण्टा धारामा लाइन बस्न बाध्य यहाँका बासिन्दा खानेपानी तथा सरसफाइ अधिकार कक्षामा सहभागी हुने गरेका छन् ।

खानेपानी अधिकार खोज्दै उपभोक्ता

पलाता गाउँपालिकाले सञ्चालन गरेको दिगो खानेपानी तथा स्वच्छता परियोजनामार्फत खानेपानी तथा सरसफाइ कक्षामा सरोकारवाला नियमित उपस्थित हुने गरेका हुन् ।


नियमित कक्षाले उनीहरूलाई खानेपानी तथा सरसफाइ अधिकारबारे सचेत गराएको छ । स्थानीयले गाउँमा सञ्चालित आयोजना, उपलब्धि, दिगोपना र पारदर्शिताबारे सोधीखोजी गर्न थालेका छन् । ‘दिगो विकास लक्ष्यको ६ नम्बर बुँदाले स्वच्छ खानेपानी सबैले पाउने भनेको रहेछ,’ स्थानीय अगुवा सुमनकुमार बमले भने, ‘पलाताबासीले कहिले पानी पाउने ? जवाफ चाहियो ।’ उनले पलाताको धौलागोहमा यसअघि खानेपानी आयोजना सञ्चालन भए पनि धाराबाट पानी नझरेरै रकमको दुरुपयोग भएको गुनासो पोखे ।


गाउँपालिकाभरि खानेपानी पुर्‍याउन पलाता निर्माण कार्यदलमार्फत काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले पलाता ९ थिर्पू, वडा ७ र ८ को बेर्सनकोट र पारौटीमा एक घर, एक धारा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाए । उनले अन्य वडामा गाउँपालिका, प्रदेश सरकार र खानेपानी तथा ढल निकास विभागबाट खानेपानीका योजना परेको जानकारी दिए ।


खानेपानी सरसफाइ तथा स्वच्छता अधिकारबारे थाहा पाएपछि जनप्रतिनिधिसँग आफ्ना माग राख्न सहज भएको स्थानीय जयकृष्ण प्याकुरेलले बताए । ‘अधिकारका कुरा पनि थाहा पायौं,’ उनले भने, ‘निर्माण भएका योजना पछिसम्म टिकाइराख्न हाम्रो पनि भूमिका हुने रहेछ भन्ने जानकारी भयो ।’


उनले आफ्नो गाउँमा टाठाबाठाले योजना आफूले ल्याएको भन्दै ब्यक्तिगत बनाउने चलन रहेको पनि सुनाए । पलातामा खानेपानी पाउन लडाइ गर्नुपर्ने अवस्था रहेको पलाता २ का वडा सदस्य धनन्जय सेजुवालले बताए । ‘गाउँका मान्छे दिन रातै पालो कुरेर पानी भर्छन्,’ उनले भने, ‘खानेपानीको सबैभन्दा बढी समस्या धौलागोहको राडुनेटा र बान्जाडामा छ ।’ पलाताका १ देखि ६ वडामा पर्ने धौलागोह र खीनका बस्तीमा खानेपानी तथा सरसफाइ अधिकारबारे छलफल गर्दा स्थानीयमा खानेपानीको महत्त्व, स्रोत संरक्षण, दिगोपनाबारे सचेतना आएको गाउँपालिकाले जनाएको छ ।


खानेपानी, सरसफाइ, स्वच्छता, जनताको प्रत्यक्ष जीवनसँग जोडिएकाले सबै घरधुरीमा खानेपानी पुर्‍याउन काम गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पलाता गाउँपालिकामा तीन करोड रुपैयाँका खानेपानी योजनाका काम भइरहेको छ ।


खानेपानी सरसफाइ तथा स्वच्छता अभावमा पलातामा झाडापखाला, आउँ, रगतमासी, हैजा, म्यादी ज्वरो, जुका पर्ने, कलेजोसम्बन्धीका रोग देखिने गरेको गाउपालिकाका स्वास्थ्य संयोजक हिमाल सन्ज्यालले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?