कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालमुनि रनिङ शिल्ड

हरि गौतम

रुकुम पश्चिम — वरीपरी अग्ला पहाड । नजिकै चित्रीपाटन र पाटनमा सेताम्य हिउँ । चित्रिपाटनसँगै देखिने सिस्ने हिमालको चुचुरोमा टल्कने हिउँ । तल निरन्तर बग्ने जलीगाड । जलीगाड नजिकै मिलेको खदी गाउँ । खदी गाउँमै रनिङ शिल्ड सुरु भएको छ ।

हिमालमुनि रनिङ शिल्ड

आठबीसकोट नगरपालिकाले वडा ३ को खदीमा पहिलो पटक नगरस्तरीय रनिङ शिल्ड आयोजना गरेको हो ।


हिमालय माध्यामिक विद्यालयको प्रांगणमा नगरभित्रका विद्यालयका विद्यार्थीले विभिन्न खेलमा प्रतिस्पर्धा सुरु गरेका छन् । स्थानीय सरकार बनेपछि आठबीसकोट नगरपालिकाले पहिलो पटक नगरस्तरीय रनिङ शिल्ड आयोजना गरेको हो । खदी समुद्र सतहदेखि झण्डै दुई हजार मिटर उचाइमा छ ।


अन्य १३ वडामा रहेका विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत खदी उक्लिएका छन् । ‘वरीपरी पहाड, चित्रीपाटन, चित्रीपाटमा हिउँ र सिस्ने हिमालसमेत देख्न पाइने रहेछ,’ कालिका मावि सुन्दरपानीकी मनिषा बटालाले भनिन्, ‘नगरले आयोजना गरेको यो नगर स्तरीय रनिङ शिल्डले हिमालको नजिक पुर्‍यायो ।’ उनले खदी पुग्न बाटोमा दुःख भए पनि खदी पुगिसकेपछि भने रमाइलो लागेको बताइन् ।


खदीमा आयोजित रनिङ शिल्ड शिल्डमात्रै नभएर एउटा शैक्षिक भ्रमण पनि भएको जनता माध्यामिक विद्यालय झिन्चौरका प्रध्यानाध्यापक पूर्णबहादुर चन्दले बताए । ‘आफ्नै नगरभित्र भएर यहाँसम्म नपुगेकाहरूका लागि यो ठूलै भ्रमण हो,’ प्रअ चन्दले भने, ‘विद्यार्थीले शिल्डमा त प्रतिस्पर्धा गर्ने छन् नै बाटो र यस क्षेत्रको वातावरणले थप सिक्ने अवसर पनि जुरेको छ ।’


पर्यटकीय क्षेत्रसमेत भएकाले प्रथम नगरस्तरीय रनिङ शिल्ड खदीमा गर्ने निर्णय गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । यसअघि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड नहुने भएपछि विद्यार्थीको प्रतिभा प्रष्फुटन र अतिरिक्त त्रियाकलापमा विद्यार्थीको सहभागिता जनाउन नगरस्तरीय रनिङ शिल्ड आयोजना गरिएको उनले जनाए ।


जिल्लाका ६ स्थानीय सरकारमध्ये आठबीसकोट नगरपालिका रनिङ शिल्ड आयोजना गर्ने पहिलो नगरपालिका बनेको छ । अन्य पाँच स्थानीय सरकारले रनिङ शिल्ड गरेका छैनन् । तर सानीभेरी गाउँपालिकाले यही जेठको २४ देखि २६ सम्म गाउँपालिकास्तरीय रनिङ शिल्ड गराउने तयारी गरेको छ ।


झण्डै एक साता चल्ने शिल्डको बुधबार जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले उद्घाटन गरे । उनले आठबीसकोट नगरपालिकाले नगरभित्रका विद्यार्थी तथा बालबालिकाको सर्वांगीण विकासका लागि आयोजना गरेको शिल्ड फलदायी हुने बताए । जिल्लाका अरू स्थानीय सरकारले पनि अब यस्ता कार्यक्रम गरी बालबालिकाको चौतर्फी विकासमा लाग्नुपर्ने उनको भनाइ छ ।


प्रतियोगितामा १५ विद्यालयका झण्डै पाँच सय बढी विद्यार्थीले रनिङ शिल्डका विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । विद्यार्थीलाई भलिबल, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट र ज्याब्लिङ थ्रोमा प्रतिस्पर्धा गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?