३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जन्म र मृत्यु संस्कारमा चामल लिने बढ्दै

एलपी देवकोटा

जुम्ला — सरकारले साविक कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा नि:शुल्क वितरण गर्दै आएको २० किलो चामल लिनेको संख्या बढ्दै गएको छ । सेवाग्राहीले चामल लिन आएबापत ज्यालासमेत पाउने गरेकाले पनि खाद्य संस्थानमा चामल लिन आउनेको भीड बढेको हो । 

जन्म र मृत्यु संस्कारमा चामल लिने बढ्दै

दुई वर्षअघि सरकारले घोषणा गरेको कार्यक्रमको सुरुमा आलोचना भएको थियो । चालु आर्थिक वर्षमा तीन सय १७ घरधुरीले चार हजार तीन सय २४ किलो चामल र ज्याला बुझेका छन् ।


सेवा लिँदा जन्म वा मृत्यु दर्ता, वडाको सिफारिस, सेवा लिन आउने व्यक्तिको नागरिकतासहित घटनाको ६ महिनाभित्र खाद्य संस्थानबाट सेवा लिइसक्नुपर्ने प्रावधान छ । संस्थानका निमित्त प्रमुख सञ्जय तिमिल्सिनाले अहिलेसम्म तीन सय १७ जनाले जन्मको र ३५ जनाले मृत्यु संस्कारका लागि नि:शुल्क २० किलो चामल र ज्याला रकम लिएको जानकारी दिए ।


नगरपालिकाभित्रका नागरिकहरूले २० किलो चामल मात्रै पाउँछन् भने नगरपालिकासँग जोडिएका पातारासी, गुठीचौर र तातोपानी गाउँपालिकाका स्थानीयले २० किलो चामल र ज्यालाबापत पाँच सय रुपैयाँ पाउँदै आएका छन् ।


त्यस्तै, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिककाबाट आएकालाई २० किलो चामल र ज्यालाबापत एक हजार रुपैयाँ दिने गरिएको छ । संस्थानका अनुसार यो सुविधा सबैभन्दा बढी तिलाका र सबैभन्दा कम तातोपानीका स्थानीयले पाएका छन् ।


संस्थानका अनुसार महिनामा ३० देखि ३५ जनाले यो सेवा लिने गरेका छन् । कार्यक्रम लागू भएदेखि सिंजा क्षेत्रका तीनवटै गाउँपालिकाका बासिन्दा यो सुविधा लिन आएका छैनन् । अधिकांश पहुँचवालाले यो कार्यक्रमको बढी आलोचना गरे पनि विपन्नलाई ठूलो राहत भएको स्थानीय दत्त सुनारले बताए ।


‘घरमा महिला सुत्केरी हुँदा कतिपयको घरमा खाने चामलसमेत नहुने अवस्था छ,’ उनले भने, ‘यसले हामीलाई फाइदा पुगेकै छ, हुनेखानेले विरोध गरे भन्दैमा कार्यक्रम फिर्ता गरिनु हुँदैन ।’


सरकारले खाद्य संस्थानमार्फत नि:शुल्क दिएको चामलले मृत्यु भएको र बच्चा जन्मेको घरमा चामल खान पाइरहेको स्थानीय देवु नेपालीले बताइन् । ‘हामी नगरपालिका भित्रकाले चामल मात्रै पायौं,’ उनले भनिन्, ‘तर गाउँकाले ज्यालासमेत पाउने भएकाले सबैले यो सेवा लिनुपर्ने देखेको छु ।’


प्रचारप्रसारको अभावमा अझै विकट गाउँका बासिन्दाले यो सेवा लिन पाएका छैनन् । संस्थानको तथ्यांकअनुसार जुम्लामा आर्थिक वर्ष २०७३/७४ मा ४० जनाले आठ क्विन्टल चामलसहित ज्याला लिएका छन् । उक्त संख्या ह्वात्तै बढेर आर्थिक वर्ष २०७४/०७५ मा तीन सय १३ जनाले ६

हजार दुई सय ६० किलो चामल र ज्याला बुझेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?