१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कारागारमा चौकीदार र नाइकेविरुद्ध आन्दोलन

वीरेन्द्रनगर, सुर्खेत — कारागारमा प्रत्येक वर्ष साउनमा चौकिदार र नाइकेहरू फेरिन्छन् । यो वर्ष सुर्खेत कारागारमा भने २ महिनाअघि कारागारभित्र कोलाहल मच्चियो । यसको कारण थियो, आर्थिक चलखेल र शक्ति संघर्ष ।

चौकिदार र नाइकेले आफ्नो विरोध गर्ने कैदीलाई सरुवा गर्न खोजेपछि शनिबार साँझदेखि आन्दोलन भइरहेको छ । 'चौकिदार र नाइकेले हामीमाथि दमन र आर्थिक शोणष गर्न खोजे, त्यसको विरोध गर्दा उल्टै सरुवा गर्न खोजियो,' एक कैदीले टेलिफोनमा भने, 'कारागार प्रशासनले पनि उनीहरूको पक्ष लिएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।'


नाइके र चौकिदारले विभिन्न बहानामा कैदी-बन्दीसँग पैसा असुल्ने, नदिएमा बासी खानेकुरा खुवाउने, साबुन-मिनरल वाटरलगायत दैनिक उपभोग्य बस्तु दोब्बर मुल्यमा किन्न बाध्य तुल्याउने गरेका ती कैदीले बताए । त्यसैले चौकिदार र नाइकेलाई फेरबदल गर्नको लागि आन्दोलन थालिएको उनको भनाइ छ । 'हामीले भनेको नमानेमा बिकट जिल्लामा सरुवा गरिदिन्छौं भनेर धम्काउने गर्छन्, यहाँभित्र त ठूलो दादागिरी चलिरहेको छ,' ती कैदीले भने, 'कारागाररभित्रै हामी दोहोरो कैद भुक्तान गरिरहेका छौं ।'


कारागार प्रशासनले शुक्रबार १५ कैदीको सरुवा सिफारिस गरेको छ । उक्त सिफारिस चौकिदार तथा नाइकेको दवावमा गरिएको आन्दोलनरत पक्षको आरोप छ । आन्दोलनको कारण कारागारभित्रै कैदी र बन्दीबीच झडपको अवस्था आएपछि शनिबार चौकिदार धीरज पराजुली र नाइकेहरू केशव सारु, इन्द्र रामजाली, नमराज देवकोटालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।


सुर्खेत जिल्ला कारागारमा १ सय ९७ पुरुष र २४ महिला गरी २ सय २१ कैदी-बन्दी छन् । दुई नाबालक पनि आमासँगै बसिरहेका छन् । चौकिदार र नाइकेको व्यवहारलाई लिएर आन्दोलन चर्किएपछि महिला र बालबालिका समस्यामा परेका छन् । जेलर लक्ष्मी खरेलले सामान्य विवाद पहिलेदेखि हुने गरे पनि सरुवाको सिफारिसपछि विवाद चर्किएको बताइन् ।


'अनुशासन पालना र कानुन कार्यान्वयनको क्रममा केही दिनदेखि समस्या रहेको थियो,' उनले भनिन्, 'सरुवाको कुरा भएपछि विवाद बढेको हो ।' हालका चौकिदार र नाइेकहरूको म्याद असार मसान्तसम्म रहे पनि ती पदमा नयाँ नियुक्तिको माग उठेको छ । आन्दोलनकारी कैदी-बन्दीले चौकिदार र नाइकेहरूले बाहिरबाट मदिरा सेवन गरेर भित्र आउने, लागुऔषध ल्याएर बेच्ने, आफूले भनेको नमान्नेलाई मानसिक तथा भौतिक पीडा दिने, विभिन्न बहानामा पैसा असुल्ने आरोप लगाएका छन् ।


प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले कारागारभित्र कानुन हातमा लिन खोज्ने केही कैदीलाई सरुवाको सिफारिस गरिएको बताए । 'कारागारभित्र केही समस्या छन्, तिनको समाधानको लागि पहल भइरहेको छ,' उनले भने ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?