२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डढेलो निभाउन जाँदा जलेर एकजनाको मृत्यु, दुई घाइते 

नौ घर जलेर नष्ट 
बिप्लब महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका ६ तुसारे सिमपानीस्थित इन्द्रेनी सामुदायिक वनमा लागेको डढेलोले बस्ती छुन थालेपछि  डढेलो निभाउन जाँदा स्थानीय ६५ वर्षीया पेन्टी बोहराको जलेर मृत्यु भएको छ । आगो निभाउन गएका ४२ वर्षीय खगेन्द्र बोहरा र मायादेवी बोहरा घाइते भएका छन्। 

डढेलो निभाउन जाँदा जलेर एकजनाको मृत्यु, दुई घाइते 

घाइते दुवैलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । मायादेवी मृतक पेन्टी बोहराकी बुहारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए ।


बिहीबारदेखि लागेको डढेलो निभाउन नसक्दा शुक्रबार बेलुकी तिर तुसारे सिमपानी नजिकै रहेको बस्ती रामकाँडामा छ घर र चार गोठ गरि १० घरगोठ जलेर नष्ट भएको उनले जानकारी गराए ।


उनका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ । डढेलोका कारण रामकाँडाका जीतबहादुर रानाको दुई घर, ओमबहादुर राना, टुल्कबहादुर राना, पदमबहादुर राना, गौरीलाल लगायतको छ घर र चार गोठ जलेर नष्ट भएका छन् ।


डढेलोका कारण घर नष्ट हुनुका साथै घरमा भएका सम्पूर्ण सामग्री लत्ताकपडा, खाद्यान्न घरमा राखेको पैसा, गरगहना जलेर नष्ट भएको सामुदायिक वनका अध्यक्ष रामबहादुर बुढाथोकीले बताए ।


डढेलोले बस्ती भेटाएपछि स्थानीयलाई बचाउन शुक्रबार सुरक्षित ठाँउमा स्थानान्तरण गरिएको भए पनि बिहान डढेलो निभाउने क्रममा एकजनाको ज्यान गएको वडा अध्यक्ष चुडामणि दशौदीले बताए ।


शुक्रबार बस्तीमा लागेको आगो निभाउन प्रहरी सेना, सशस्त्र प्रहरी सफल भए पनि राति हावाहुरी चलेपछि पुनः डढेलो फैलिदाँ जोखिम बढ्दै गएको उनले जानकारी गराए ।


हुरीबतासका कारण जिल्लाका विभिन्न जंगलमा लागेको डढेलो निभाउन गाह्रो भएको सशस्त्र प्रहरी प्रमुख डिएसपी विमल डाँगीले जानकारी गराए ।

प्रकाशित : वैशाख २८, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?