कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शतप्रतिशत विद्यार्थी भर्ना 

सामुदायिक विद्यालयद्वारा शिक्षक–विद्यार्थी नियमितताका लागि हाजिरी लेखाजोखा, कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा, घरमा पठनपाठनको वातावरण बनाउन घरमै पढाइ कुना र शनिबारको कक्षा सञ्चालन 
तुलाराम पाण्डे

कालीकोट — रहरिनाथ गाउँपालिका शिक्षा क्षेत्रमा सुधार गर्ने कर्णालीको उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । गाउँपालिकामा उमेर पूरा भएका शत प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएका छन् । गाउँपालिकाले विद्यालय शिक्षा सुधारका लागि नमूना काम गरेको भन्दै शिक्षा विभागले देशकै उत्कृष्ट छैटौं स्थानीय तहको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो । 

शतप्रतिशत विद्यार्थी भर्ना 

बैशाख ११ र १२ मा काठमाडौमा आयोजित कार्यक्रममा नरहरिनाथलाई उत्कृष्ट घोषित गरेको हो । आगामी भदौ १२ मा शिक्षा दिवसको अवसरमा पुरस्कृत गरिने बिभागले जनाएको छ । गत वर्ष आधारभूत तथा निःशुल्क शिक्षा लागू सुनिश्चित भएको गाउँपालिका घोषित गरिएको थियो । सबै बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गर्ने नरहरिनाथ गाउँपालिका कर्णालीकै पहिलो हो ।


शिक्षाविद् विद्यानाथ कोइरालाको सहजीकरणमा एक वर्षअघि गाउँपालिकाले शिक्षा नीति र योजना बनाएको थियो । बालबालिकालाई जीवनसँग जोड्ने व्यवहारिक शिक्षा दिन बनाइएको योजना कार्यान्वयन गर्न सुरु गरिएको शिक्षा विभाग प्रमुख एवं गाउँपालिका प्रवक्ता गगन फडेराले बताए ।


उनले कृषि, जडिबुटी, फलफूल, तरकारी खेती, पशुपालनलगायत स्थानीय आवश्यकता र ब्यवहारिक शिक्षासम्बन्धी कार्ययोजना बनाइएको जनाए । गाउँपालिकाले बनाएको शिक्षा नीतिमा गाउँ शिक्षा समिति र वडा शिक्षा समिति गठन गर्ने, वडा शिक्षा समितिले समुदायमा आधारित शैक्षिक सूचना ब्यवस्थापन प्रणालीअनुसार समुदायको घरधुरी, जननसंख्या, विद्यालय जाने उमेरका बालबालिकाको संख्या, विद्यालय गए नगएकाको विवरण संकलन गरी विश्लेषण गर्ने उल्लेख छ । त्यस्तै सूचकमा आधारित वडास्तरीय शिक्षा योजना निर्माण गर्ने, वडा कार्यालयले भौगोलिक विकटता, सामाजिक कुरिती, आर्थिक अवस्था, भाषा, फरक क्षमताजस्ता सवालको समाधान हुनेगरी स्रोतको संकलन तथा वितरण गर्ने योजना समेटिएको छ ।


यहाँका सामुदायिक विद्यालयले शिक्षक(विद्यार्थी नियमितताका लागि हाजिरी लेखाजोखा, कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा, घरमा पठनपाठनको वातावरण बनाउन घरमै पढाइ कुना र शनिवारीय कक्षा सञ्चालन गरिरहेका छन् । हाजिरी लेखाजोखा गर्न थालेपछि विद्यार्थीको नियमितता बढेको रमा मावि कुमालगाउँका प्रधानाध्यापक हरिषचन्द्र बटालाले बताए ।


गाउँपालिकाले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाइएको जनाएको छ । दलित समुदाय, अपांगता भएका र आर्थिक रुपले विपन्न बालबालिकालाई विशेष प्याकेजसहित शिक्षा दिने नीति अगाडी बढाइएको छ । सोही नीति अनुसार यस वर्षको बजेटको ३० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको गाउँपालिकाका लेखापाल जोरासिंह बोहोराले बताए ।


उनका अनुसार गाउँपालिकाको शिक्षा नीतिमा शिक्षाको बजेट ३५ प्रतिशत पुर्‍याइने प्रतिबद्धताअनुसार गत वर्ष पाँच करोड रुपैयाँ खर्च गरिएको थियो । गाउँपालिकाले ९० प्रतिशत विद्यालयका कनिष्ठ प्रधानाध्यापक परिवर्तन गरेर स्थायी र माथिल्लो तहकालाई प्रअको जिम्मेवारी दिएको छ । नाम मात्रका ६ वटा विद्यालय मर्ज गरिएको छ ।


नरहरिनाथले शैक्षिक सुधारका लागि कार्ययोजना निर्माण गरेको उपाध्यक्ष नमशोभा बुढाले बताइन् । उनका अनुसार विद्यार्थी र शिक्षक नियमितता, शिक्षक(विद्यार्थी अनुपातमा दरवन्दी मिलान, सिनियरलाई प्रधानाध्यापक नियुक्तिलगायत काम नमूना गरिएको छ । शैक्षिक सुधारविना समग्र विकास सम्भव नभएकोले योजना बनाइएको उनको भनाइ छ ।


विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय ल्याएर सिकाउने, टिकाउने र विकाउने बनाउन आफूहरू सफल हुने उनको दावी छ । ‘एक वर्षको अवधिमा सामुदायिक विद्यालयले काचुली फेरेका छन्,’ उनले भनिन्, ‘एक वर्षमा जनअपेक्षा अनुसार धेरै काम नगरे पनि शिक्षा क्षेत्रमा देखिने गरी परिवर्तर्न गरेका छौ ।’


गाउँपालिका अर्न्तगतका ५२ विद्यालयको अनुगमन गरेर योजना बनाइएको अध्यक्ष धीरवहादुर बिष्टले बताए । ‘विद्यार्थी संख्या न्यून भएका, तर भौतिक पूर्वाधार नभएका र १५ मिनेटको दुरी भिक्रका विद्यालय मर्ज गरेका छौ ।’ ३० वर्ष शिक्षक हुँदै स्रोतब्यत्तिको रुपमा काम गरेका अध्यक्ष बिष्टले भने, ‘गाउँपालिकाले पहिलो सुधार योजना शिक्षा क्षेत्रबाटै लागु गरेको छ ।’ उनले शिक्षा सुधारका लागि काम गर्दा अदालत पनि धाउनु परेको गुनासो गरे ।

प्रकाशित : वैशाख २८, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?