कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जनप्रतिनिधि तालिम–गोष्ठीमै व्यस्त

राजबहादुर शाही

मुगु — स्थानीय सरकारका जनप्रतिनिधि तालिम गोष्ठीमै व्यस्त बन्न थालेका छन् । जिल्ला तथा प्रदेश स्तरमा आयोजना हुने तालिम गोष्ठीका कारण सरकारी कामकाजसमेत प्रभावित हुन थालेको छ ।

तालिम गोष्ठीको बहानामा जनप्रतिनिधिले सदरमुकाम र प्रदेश राजधानी सुर्खेतमा समय बिताउन थालेपछि सेवाग्राहीको काम प्रभावित हुन थालेको हो ।


विभिन्न मन्क्रालय र सरकारी तथा गैरसरकारी निकायको कार्यत्रममा जनप्रतिनिधिले बढी समय दिन थालेका छन् । सुर्खेतमा एकै महिनामा आयोजना हुने तीन/चार वटा गोष्ठीमा जनप्रतिनिधिले सहभागिता जनाउने गरेका छन् । तालिम गोष्ठीको दौडधुपका कारण एकातिर सेवाग्राहीको काम प्रभावित भएको छ भने अर्कोतिर स्थानीय तहको आर्थिक व्ययभार थपिदै गइरहेको छ ।


प्रदेशस्तरीय सहकारीको गोष्ठी सकेर जिल्ला फर्किएको दुई साता नबित्दै सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाही, खत्याडका अध्यक्ष उब्जन शाही र मुगम कार्मारोङका अध्यक्ष छिरिङक्याप्ने लामा प्रधानमन्क्री रोजगार कार्यत्रमको सम्झौता गर्न सुर्खेत झरेका छन् । लामा गाउँपालिकाको रोजगार कार्यक्रमको बाटो उद्घाटन गरेर मंगलबार सुर्खेत झरेका हुन् ।


कालाकाडा-गम्था अबरुद्ध सडक खुलाएर शाही पुनः सुर्खेत गएका हुन् । सोरु गाउँपालिका अध्यक्ष शाही दुई सातादेखि सुर्खेतमै छन् । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख पालोपालो विभिन्न गोष्ठीमा सहभागी हुन थालेपछि कर्मचारीसमेत फुर्सदिला बन्ने गरेका छन् ।


जिल्ला समन्वय अधिकारी मणीचन्द कार्कीले विभिन्न कार्यक्रमका कारण जनप्रतिनिधि बाहिर जाने क्रम बढेपछि त्यसको असर सेवाप्रवाहमा परेको बताए । उनका अनुसार स्थानीय तहमा जनप्रतिनिधि नबस्दा विकास निर्माणका कामसमेत प्रभावित भइरहेका छन् । ‘जनप्रतिनिधिकै कारण विभिन्न निर्णय गर्नुपर्ने काम रोकिएपछि कर्मचारीलाई पनि काम गर्न समस्या हुने गरेको छ,’ उनले भने, ‘अधिकांश निर्णय जनप्रतिनिधिले नै गर्नुपर्ने भएकाले स्थानीय तहमा नबस्दा काममा बाधा पुग्ने गरेको छ ।’


तालिम गोष्ठीमै समय बिताउँदा तेस्रो चौमासिकसम्म बजेट कार्यान्वयनको अवस्था न्यून देखिएको स्थानीयको गुनासो छ । जिल्लाबाट हवाइ मार्गमार्फत सुर्खेत आउजाउ गर्न प्रतिव्यक्ति दुईतर्फी भाडा १२ हजार रुपैयाँ छ । जिप रिजर्भ गर्दा कम्तिमा ३० हजार रुपैयाँ खर्च हुने गरेको जनप्रतिनिधि बताउँछन् । बिगत वर्षमा सरकारी अधिकारी सेवाग्राहीको काम छोडेर जिल्लाबाहिर गएजस्तै कामलाई जनप्रतिनिधिले निरन्तरता दिएको स्थानीयको गुनासो छ ।


जिल्ला र प्रदेशस्तरीय केही तालिम गोष्ठीमा जानैपर्ने बाध्यता भएको खत्याड गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘काम छोडर तालिम गोष्ठीमा भाग लिन हामीलाई पनि रहर छैन,’ उनले भने, ‘कतिपय तालिम गोष्ठी महत्वपूर्ण हुने गरेकाले सहभागी हुने गरेका हौं ।’


प्रदेशस्तरका अधिकांश तालिम गोष्ठी रारामा गरिनुपर्छ भनेर माग गर्दै आइरहेको छायाँनाथरारा नगरपालिका उपप्रमुख सुन्तला रोकायाले बताइन । उनका अनुसार विभिन्न निकायले रारामा कार्यक्रम गर्दा होटेलको समस्या देखाउने गरेका छन् ।

प्रकाशित : वैशाख २५, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?