कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घर फर्कंदै लिमीका बासिन्दा

जयबहादुर रोकाया

हुम्ला — जाडो छल्न गाउॅ छाडेर सहर पसेका लिमीका बासिन्दा घर फर्कन थालेका छन् । हिउँ पग्लेर बाटो खुलेपछि स्थानीयबासी धमाधम घर फर्कन थालेका हुन् । अत्यधिक हिमपात हुने लिमीका बासिन्दाले वर्षेनी हिउँ पर्नुअघि गाउँ छोड्ने गरेका छन् । 

घर फर्कंदै लिमीका बासिन्दा

लिमीबासी खेतबारी जोतेर वर्षायाममा रोजगारीका लागि तिब्बतको ताक्लाकोट जान्छन् । ९ जनाको समूह बनाएर घर जान सिमकोट पुगेका नाम्खा गाउॅपालिका(६ तिलगाउॅ पासाङ लामाले धेरैजसो घर फर्किसकेको बताए । उनका अनुसार लामो पैदलयात्रा गर्नुपर्ने भएकाले लिमीबासी समूह बनाएर फर्कने गरेका छन् । यो वर्ष हिउँदमा धेरै हिमपात भएकाले बाटो खुल्न ढिलाइ भएको उनको भनाइ छ । सदरमुकाम सिमकोटबाट लिमी आवतजावत गर्न दुइवटा मार्ग छन् ।

दुबै मार्गका बीचमा झण्डै पाॅच हजार मिटर उचाइको न्यालु र नारा लेक पार गर्नुपर्ने बाध्यता छ । दुवै लेकमा अहिले पनि बाक्लो हिउँ जमेको छ । एक दशकपछि भएको ठूलो हिमपातका कारण यो वर्ष बाटो खुल्न ढिलाइ भएको हो । बाटो नखुलेकै कारण लिमीमा रहेका सरकारी निकायसमेत बन्द छन् । हुम्लामा फागुनबाट शैक्षिक सत्र सुरु भए पनि लिमीका विद्यालय अझै बन्द छन् । स्वास्थ्य चौकी लामो समयदेखि बन्द छ ।

शिक्षक र स्वास्थ्यकर्मी अझै गाउँ जान सकेका छैनन् । लिमी आवतजावत गर्ने दुइवटा मार्गमध्ये न्यालु लेक भएर आवतजवात गर्ने मार्ग छोटो भए पनि नारा भन्दा बढी हिउँ जम्ने भएकाले हिउँ छिचोल्दै हिल्सा भएर गाउँ जाने तयारीमा रहेको लामाले बताए । हिल्सा(सिमकोट मोटरबाटोमा ७३ किलोमिटरसम्म गाडी गुड्ने भए पनि हिमपातका कारण सडक बन्द छ । नारालेक भएर सिमकोटबाट लिमीमा पुग्न एकतर्फी एक साता पैदलयात्रा गर्नुपर्छ । बैसाखको अन्तिममा घर पुगेपछि लिमीका बासिन्दा खेतीको काम सकेर पुनः रोजगारीका लागि ताक्लाकोट जान्छन् ।

लिमीका बासिन्दा वर्षेनि हिउँ नपर्दै गाउॅ छोडेर बौद्ध गुम्बा र बिहार दर्शन गर्न काठमाडौ र भारतका विभिन्न सहरमा जाने गर्दछन् । हिमपातको बेला गाउॅमा केही बृद्ध र गुम्बाका पुजारीमात्रै रहन्छन् । हिउँदको खर्च स्थानीयले तिब्बतमा रोजगारी गरेर पूर्ति गर्ने गरिरहेका छन् ।

प्रकाशित : वैशाख २४, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?