कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजधानीसँग अझै जोडिएन सम्बन्ध

जयबहादुर रोकाया

हुम्ला — कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल स्वास्थ्य बिमा कार्यक्रमका लागि एक साताअघि हुम्ला पुगे  । सोमबार सुर्खेत पुगेका उनलाई आउदा-जाँदा हवाइ मार्गमार्फत नेपालगन्जको रुट प्रयोग गर्नुपर्ने बाध्यता भयो  ।

सुर्खेत र हुम्लाको सिमकोटमा विमानस्थल भए पनि नियमित उडान नहुँदा उनलाई नेपालगन्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता भएको हो ।

सरकारी स्वामित्वको नेपाल वायु सेवा र अन्य निजी हवाइ कम्पनीले सुर्खेत-सिमकोट नियमित यात्रु उडान नगर्दा स्थानीयले झन सास्ती खेप्दै आइरहेका छन् । सडक सञ्जाल नजोडिएको हुम्लाका लागि यातायातको एक मात्र विकल्प हवाइ उडान हो । निजी एयरलाइन्स र नेपाल वायु सेवाले लामो समयदेखि नेपालगन्जबाट मात्र यात्रु उडान गरिरहेका छन् । केही समयअघि सीता एयरले सुर्खेत-सिमकोट र डोल्पा नियमित यात्रु उडान गर्ने तालिका निकाल्यो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र सिमकोट पुगेर नियमित यात्रु उडानको सुरुवात गरेको घोषणा गरे । तर कम्पनीले यात्रु उडान उद्घाटनमै सीमित बनायो । जिल्ला, प्रदेश राजधानी सिधा हवाइ सम्बन्ध स्थापित गर्न संघ र प्रदेश दुवै सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ ।

व्यक्तिगत कामले केही समयअघि सुर्खेत पुगेका स्थानीय सञ्चारकर्मी नरजंग तामाङले सुर्खेतबाट सिमकोट आउँदा नेपालगन्ज पुगेर जिल्ला र्फकनुपर्ने बाध्यता भएको सुनाए । सुर्खेतमा रहेको समयमा सुर्खेतबाट सिमकोटका लागि उडान नहुँदा स्थानीयबासी अलपत्र परेको समाचार प्रकाशित गरेपछि निजी हवाइ कम्पनीले सुर्खेतबाट सिमकोटका लागि टिकट नदिएको तामाङको आरोप छ ।

सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिन अझै केही समय लाग्ने देखिएको छ । निर्वाचित जनप्रतिनिधि सुर्खेतमा काम पर्दा, गोष्ठी वा बैठकमा सहभागी हुन जाँदा नेपालगन्ज भएरै आउजाउ गर्छन । नेपालगन्ज प्रदेश ५ मा पर्छ ।

सुर्खेतबाट सिमकोटका लागि कार्गाे उडान हुने गरेको छ । तर निजी एयरलाइन्सले यात्रु बोक्न मान्दैनन् । सबै हवाइ कम्पनीले नेपालगन्जबाट मात्रै यात्रु उडान गर्ने भएकाले करिव तीन घण्टाको सडक यात्रापछि नेपालगन्ज पुगेर हवाइ यात्रा गर्नुपर्ने बाध्यता छ । समिट एयरका सिमकोटस्थित स्टेसन इन्चार्ज गोविन्द लामाले कम्पनीले सुर्खेत-सिमकोट उडान गर्ने लक्ष्य लिएको भए पनि सुर्खेतमा यात्रु नहुँदा उडान नगरेका दाबी गरे ।

त्ाारा एयरकी सिमकोट स्टेसन इन्चार्ज सरास्वती लामाका अनुसार ताराले महिनामा एक दिन सुर्खेत-सिमकोट उडान गर्ने गरेको छ । 'तर सुर्खेतबाट हुने उडानमा यात्रु आउने गरेका छैनन्,' उनले भनिन्, 'प्रायः स्थानीयले नेपालन्जबाटै आवतजावत गर्ने गरेकाले नियमित उडानमा समस्या छ ।' तर सुर्खेतबाट पनि टिकट दिने गरेको छ भन्ने जानकारी नहुँदा स्थानीयबासी नेपालगन्ज पुग्न बाध्य छन् । सीता एयरको जहाज मौसमी छ । नियमित नेपालगन्ज वा सुर्खेत नबस्दा स्थानीयले विश्वास गर्न छोडेका छन् ।

जिल्लाका बासिन्दालाई हवाइ सेवा उपभोग गर्न पनि सहज छैन् । सिमकोटदेखि सुर्खेतसम्म ३५ मिनेटको र नेपालगन्जसम्म ५० मिनेटको हवाइ यात्रा हो । कर्णालीमा सरकारको स्वामित्व भएको नेापाल वायु सेवा निगमलगायत निजी हवाइ कम्पनी तारा, समित, सीता, मकालु एयरका जहाजले उडान भर्दै आएका छन् । यी निजी हवाइ कम्पनीमध्ये तारा र समिटले एक/एक जहाज नेपालगन्जमा सधै राख्ने गरेका छन् । सीताले पूर्वी जिल्लामा उडानको सिजन भएको बेला जहाज पूर्वतिर लैजाने गरेको छ ।

नेपाल वायु सेवा निगमले पनि सातामा दुई उडान गर्ने तालिका बनाए पनि नियमित उडान भने गरेको छैन । सरकारकै स्वामित्वमा भएको निगमले सुर्खेतबाट कर्णालीका कुनै जिल्लामा उडान गर्ने गरेको छैन । हवाइ कम्पनीले सुर्खेतबाट चार्टर तथा कार्गो उडान मात्र गर्दै आएका छन् । सुर्खेतबाट-सिमकोट आउजाउ गर्दा सात हजार भाडा दर कायम गरीएको छ ।

नेपालगञ्ज-सिमकोट हवाइ भाडा पाँच हजार एक सय लिइन्छ । सिमकोटमा उडान गर्ने हवाइ कम्पनीले सिमकोटबाट सुर्खेत जाँदा भने यात्रु बोक्ने गरेका छन् ।

प्रकाशित : वैशाख १८, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?