कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मालपोत कार्यालयको कामकाज ठप्प

जयबहादुर रोकाया

हुम्ला — जिल्ला मालपोत कार्यालयमा प्रमुख नहुँदा तीन सातादेखि कामकाज ठप्प भएको छ । प्रमुख नहुँदा कर्मचारी कामविहीन बनेका छन् । मालपोत कार्यालयमा लामो समयदेखि निमित्त प्रमुखको कामकाज चलाइरहेका लालप्रसाद ढकाल अदानचुली गाउॅपालिकामा सरुवा भएर गएपछि कामकाज प्रभावित भएको हो ।

प्रमुख नहुँदा सेवाग्राहीका सम्पूर्ण काम रोकिएका छन् । कार्यालयमा काम नभएपछि कर्मचारी हाजिर लगाएर दिनभर फुर्सदिला हुने गरेका छन् । कामका लागि कार्यालय पुगेका सेवाग्राही भने रित्तो हात फर्कन बाध्य छन् ।

अहिले निमित्त प्रमुख बनेका करार सेवाका कम्प्युटर अप्रेटर मिमसिंह नेपालीले आफ्नो दस्तखत नचल्ने भएकाले समस्या भएको गुनासो गरे । उनका अनुसार लामो समयदेखि कार्यालय प्रमुख भएर काम गरेका निमित्त प्रमुख ढकाल आदनचुली गाउॅपालिकामा गत मंसिर १ गते सरुवा भएर गएका थिए ।

ढकाललाई सम्पूर्ण काम गर्न अख्तियारी दिएकाले यसअघि कुनै काम रोकिएको थिएन । उनी रमाना लिएर गएपछि निमित्त बनेका खरिदार दिनेशप्रसाद शाह पनि सरुवा भएर चैत ७ गते अन्यत्रै गएका छन् । शाह रमाना लिएर गएपछि खरिदार कमल ओली निमित्त प्रमुख बनेका थिए ।

ओलीको समेत सरुवा भएपछि करारमा नियुक्ति पाएका नेपाली अहिले निमित्तको जिम्मेवारीमा छन् । उनले आफू निमित्त भए पनि हाजिर गरेर मात्रै बस्नुको बिकल्प नभएको बताए । अधिकार नहुँदा कामै नगरेर बस्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे ।

कार्यालयमा दैनिक आधा दर्जन बढी सेवाग्राही आउने गरे पनि रित्तो हात फर्कने गरेको उनको भनाइ छ । ‘अख्तियारी प्राप्त प्रमुख नहुँदा जग्गा राजीनामा, रजिस्ट्रेसन, कागजातका प्रतिलिपि उतार, जग्गा रोक्का, नामसारीलगायत काम लामो समयदेखि रोकिएका छन्,’ उनले भने, ‘अन्य काम अधिकारप्राप्त निमित्तबाट हुने भए पनि नामसारी भने अधिकृतस्तरका प्रमुखबाट मात्रै हुने गरेको छ ।’

सबै काम ठप्प भएको तीन साता बिते पनि बेवास्ता भइरहेको स्थानीयको गुनासो छ । मालपोत कार्यालयबाट हुनुपर्ने काम लामो समयदेखि रोकिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले स्वीकारे । उनले डोल्पाबाट हुम्ला सरुवा भएका अधिकृत नआएकाले समस्या भएको जानकारी दिए । डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दा बिरामी भएकाले आउन ढिलाइ भएको जानकारी पाएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १७, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?