कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

२ सातादेखि खाद्यान्न ढुवानी ठप्प

जयबहादुर रोकाया

हुम्ला — जिल्लामा दुई सातायता खाद्यान्न ढुवानी ठप्प भएको छ । निजी हवाई कम्पनीले ढुवानी नगर्दा ढुवानी ठप्प भएको हो । ढुवानी नभएपछि खाद्यान्न समस्या हुँदै गएको छ ।

निजी हवाई कम्पनीका जहाज पश्चिममा नभएकाले खाद्यान्न हुन नसकेको र पुरानो मौज्दात पनि सकिन थालेकाले नेपाल खाद्य संस्थानले जनाएको छ ।


संस्थानको जिल्लास्थित कार्यालयका अनुसार सरकारले यो वर्ष १२ हजार ४ सय क्विन्टल कोटा निर्धारण गरेकोमा ११ हजार क्विन्टल ढुवानी भइसकेको छ । जिल्ला खाद्य व्यवस्था समितिले १३ हजार क्विन्टल थप माग गरेकोमा सरकारले ३ हजार क्विन्टलमात्र थपेको छ । थप कोटासहित ५ हजार ४ सय क्विन्टल ढुवानी भएको छैन ।


दुई सातायता हवाई ढुवानी ठप्प भएको शाखा प्रमुख रामबहादुर बिष्टले बताए । ढुवानी हुन बाँकी कोटा मात्रै ढुवानी हुन सके समस्या न्यूनीकरण हुने उनको भनाइ छ ।


अबको केही समयपछि मानसरोवर कैलाश तीर्थयात्रा सुरू हुन्छ । त्यतिबेला निजी हवाई कम्पनीले खाद्यान्न ढुवानी गर्नुभन्दा तीर्थयात्रीलाई ओसारपोसार गर्न प्राथामिकता दिन्छन् । त्यसैले पनि अहिल्यै जतिसक्दो छिटो खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता संस्थानलाई छ । गत वर्ष समयमै ढुवानी नहुँदा दसैं–तिहारमा स्थानीयले चामल पाएका थिएनन् ।


संस्थानबाट सहुलियत मूल्यको चामल नपाउँदा स्थानीयवासी बजारको महँगो चामल उपभोग गर्न बाध्य भएका थिए । चामल किन्न नसक्नेले आटो–पिठो खाएरै दसैं–तिहार मनाउन बाध्य भएका थिए । सिमकोटमा यतिखेर चामलको मूल्य गुणस्तरअनुसार प्रतिकिलोग्राम १ सय ६० देखि २ सय ५० रुपैयाँसम्म रहेको छ ।


हुम्लामा यो वर्ष भारी हिमपातले हिउँदे बाली बिग्रेको छ । कात्तिक–मंसिरमा छरेको गहुँ, उवा हिउँले च्यापेर फस्टाउन नसकेको र हिउँ पग्लेपछि बल्ल पलाउन थालेको स्थानीय बताउँछन् । सर्केघाड गाउँपालिका, पुमाका रामचन्द्र बुढाका अनुसार पहिले चैतमै उवाले बालो हाल्थ्यो । यो वर्ष भने वैशाख आधा हुँदासमेत बालो हालेको छैन ।


संस्थानको चामल ढुवानी रोकिनु र हिउँदे बाली पनि बिग्रिनुले यो वर्ष हुम्लामा खाद्य समस्या बढ्ने स्थानीयको चिन्ता छ । संस्थानका कार्यालय प्रमुख बिष्ट संस्थानले कोटा थपे पनि निजी हवाई कम्पनीले ढुवानी नगर्दा समस्या हुने गरेको बताउँछन् । ढुवानीको लागि जति ठाउँ धाउँदा पनि समस्या समाधान नभएको उनले बताए ।


संस्थानले सिमकोट गाउँपालिका बासिन्दालाई रासनकार्डमार्फत खाद्यान्न उपलव्ध गराउने गरेको छ । यसअघि सिमकोटका बुराउँसे, हिल्दुम र स्याम्नेका बासिन्दालाई मात्र रासन कार्डबाट चामल वितरण गर्ने गरिन्थ्यो । बैशाखदेखि पुरै गाउँपालिकाका बासिन्दालाई रासनकार्डबाट चामल वितरण थालिएको हो ।

प्रकाशित : वैशाख १५, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?