४ दिनमा साढे ५ सयलाई नागरिकता

रुकुम पश्चिम — जिल्ला प्रशासन कार्यालयको संयोजनमा आठबिसकोट नगरपालिकामा आयोजना गरिएको चारदिने घुम्ती शिविरमा साढे पाँच सयले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । नगरपालिकाको १ देखि ६ नं. वडाका ५ सय ६० ले घरआँगनमै नागरिकता पाएका हुन् । 

आठबिसकोट नगरपालिकाको १, २ र ३ वडाको स्यालाखदी र ४, ५ तथा ६ नम्बर वडाको गोतामकोटमा पुगेर नागरिकता वितरण गरिएको हो । ३ नं. वडाको खदी र ४ को चौतारामा दुई/दुई दिन बसेको जिल्ला प्रशासनको टोलीले स्थानीयलाई घरनजिक पुगेर नागरिकता वितरण गरेको थियो ।


‘नेपाली नागरिकले सजिलै नागरिकता पाउनुपर्छ, तर जिल्लाको कतिपय ठाउँको भौगोलिक कठिनाइले त्यो सम्भवना कमै छ,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने, ‘त्यसैले शिविर आयोजना गरेर नागरिकता वितरण गरेका हौं ।’ दुवै स्थानमा तीन सय २७ महिलाले नागरिकता लिएको प्रजिअ रेग्मीले जनाए । वृद्ध, अपांग, अशक्त, आर्थिक रूपमा विपन्न नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।


स्थानीयलाई यसअघि सदरमुकाम आउन दुई दिन पैदल हिंड्नुपर्ने बाध्यता थियो । शिविरमार्फत ६ वटा वडाका सात सय ६६ मतदाता थपिएका छन् । शिविरमा गएको जिल्ला निर्वाचन कार्यालयको टोलीले फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।


त्यस्तै घरेलु तथा साना उद्योगमा सात उद्योग दर्ता भएका छन् भने शिविरमै खटिएको स्वास्थ्यकर्मीको टोलीले दुई सय ४३ जनाको रगत, पिसाब, सुगर तथा रक्तचाप जाँच गरेको थियो । ८८ जनाले परिवार नियोजनका अस्थायी साधन राखेका छन् ।


शिविरमै पुगेको पशु प्राविधिकको टोलीले एक हजार २० परिवारले पालेका पशुचौपायाका लागि औषधि वितरण गर्ने शिविरको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । उनका अनुसार सात हजार १६ भेडा, बाख्रा, दुई हजार एक सय ६९ वटा गाई, गोरु, ९ सय २५ भैंसी, ८३ कुकुर, एक हजार एक सय नौ कुखुरा तथा एक सय ६८ घोडा खच्चडको उपचार शिविरमार्फत भएको छ । शिविरमार्फत तीन सय ६५ परिवारलाई भिन्डी, बोडी, फर्सी र विभिन्न जातका सागको बीउ निःशुल्क वितरण गरिएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?