३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुविधा थपिँदै जनशक्ति घट्दै

एकजना डाक्टरले प्रत्येक दिन ३०/३५ जना बिरामी हेर्नुपर्ने बाध्यता

वीरेन्द्रनगर — प्रदेश अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामी सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । अस्पतालमा अत्यधुनिक स्वास्थ्य सेवा बर्सेनि थपिए पनि जनशक्ति नहुँदा सेवाग्राहीलाई भरपर्दो सेवा दिन सकिरहेको छैन ।

सुविधा थपिँदै जनशक्ति घट्दै

अस्पतालमा सिटी स्क्यान सेवाको मंगलबार उद्घाटनका लागि वीरेन्द्रनगर पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष सरोकारवालाले आवश्यक जनशक्ति उपलब्ध गराइदिन माग गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले ५० शय्याबाट तीन सय शय्याको अस्पताल बनाइए पनि काम गर्ने मानव संशाधन नभएको जानकारी गराए ।

‘तीन सय शय्याको अस्पताल असारसम्म बन्छ,’ उनले भने, ‘जनशक्ति नभए भवनमात्रै हुँदा बिरामीलाई कसरी सेवा दिन सकिन्छ ?’ अहिलेको स्थितिमा पनि एक जना डाक्टरले ३०/३५ बिरामी हेर्नु पर्ने बाध्यता रहेको खडकाले गुनासो गरे ।
"
विशेषज्ञ सेवा सञ्चालन गर्न हालका लागि शिक्षण अस्पतालबाट पासआउट चिकित्सकलाई अस्पतालको रिक्त दरबन्दीमा पूर्ति गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरे । पहिले डाक्टर दरबन्दी कम भएको अस्पतालमा समायोजनपछि झनै विकराल अवस्था आएको डा. खड्काको भनाइ छ । समायोजनले आईसीयू, एनआईसीयू, डाइलासिस र अपरेशन थियटर खाली हुने अवस्था आएको भन्दै उनले हाल अस्पतालमा कार्यरत डाक्टरलाई प्रदेशमा काम गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । ‘समायोजनपछि तीन जनामात्रै डाक्टर हुन्छौँ,’ उनले भने, ‘न्यायोचित ढंगले समायोजन भएपछि मात्रै सेवा प्रभावकारी हुन्छ ।’

प्रदेशसभा सदस्य यामलाल कँडेलले यस अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । व्यावहारिक अध्ययन नै नगरी समायोजन भएको भन्दै कँडेलले आफ्ना लागि कर्मचारी व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई नै दिइनुपर्ने माग गरे । ‘अपायक ठाउँमा स्वास्थ्यकर्मी सरुवा भएको छ,’ उनले भने, ‘अस्पतालका लागि कति र कस्ता कर्मचारी चाहिने भन्ने विषयलाई प्रदेशले नजिकबाट अध्ययन गरेर कर्मचारी व्यवस्थापन गर्न सक्छ ।’

प्रदेश अस्पतालमा मंगलबारदेखि सिटी स्क्यान सेवा सुरु भएसँगै महंगो शुल्क तिरेर बिरामी काठमाडौं तथा भारत जानुपर्ने बाध्यता हटेको छ । सरकारको अनुदानमा स्वास्थ्य विभागमार्फत अस्पतालमा सिटी स्क्यान सेवा सुरु गरिएको हो । यसअघि अस्पतालले डाइलासिस, आईसीयू, एनआईसीयूलगायत अत्याधुनिक स्वास्थ्य सेवा दिँदै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले बताए । अस्पतालले आगामी दिनमा अत्याधुनिक पोष्टमार्टम घर निर्माण, ट्रमा ब्लकको निर्माण गर्ने योजना लिएको उनले सुनाए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पताललाई आवश्यक पूर्वाधार उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले अस्पतालका लागि प्रदेश सरकारले एक अर्ब बजेट व्यवस्था गर्ने पनि जानकारी दिए ।

'समायोजन त्रुटिपूर्ण'
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको कर्मचारी समायोजन प्रक्रिया त्रुटिपूर्ण रहेको बताएका छन् । समायोजनको सबैभन्दा बढी असर स्वास्थ्य क्षेत्रमा परेको भन्दै उनले हेरफेर गर्न आवश्यक रहेको बताए । ‘चाहिने ठाउँमा डाक्टर परेको छैन,’ उनले भने, ‘जुन डाक्टर जहाँ आवश्यक पर्छ त्यहाँ हुनुपर्छ ।’ प्रदेश सरकार आफैंले आफ्ना लागि जनशक्ति व्यवस्थापन गर्न पाउनुपर्ने मन्त्री यादवको भनाइ थियो ।मन्त्री यादवले देशभर सरकारले २ सय ५१ प्राथमिक स्वास्थ्य केन्द्र र १२ सय स्वास्थ्य चौकी थप गर्ने लक्ष्य लिएको जानकारी गराएका छन् । प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न केन्द्र सरकारले आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । आगामी दिनमा उच्चस्तरीय ल्याब, अन्य उपकरण, पूर्वाधार तथा जनशक्ति थप गर्नका निमित्त सरकार चिन्तित रहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?