३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सडक नखुल्दा सास्ती

मुगु — खत्याड गाउँपालिका जोड्ने कालाकाँडा–गम्था सडक साढे तीन महिनादेखि बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ  । पुसदेखि फागुनसम्म हिमपातले बन्द सडकमा चैतदेखि जुम्लाको लुम र बुडु गाउँवासीले अबरुद्ध गराएका हुन्  ।

लुम र बुडु गाउँवासीले सडक खन्दा खेतीयोग्य जमिनमा क्षति भएको भन्दै क्षतिपूर्ति मागसहित सडक बन्द गराएका थिए । निर्माण क्रममै उनीहरूले खोलापारिबाट सडक खन्न माग गरेका थिए । तर प्राविधिक स्टमेटअनुसार खनिएको थियो । स्थानीयले ६ वर्षअघिको माग बल्झाउँदै सडक बन्द गराएका हुन् ।

सडकमै पर्खाल लगाएर उनीहरूले बन्द गराएका छन् । यसले ग्रामीण क्षेत्रका लागि ढुवानी गरिएको खाद्यान्न, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री जुम्लाको गोठिज्यूला बजारमै राख्नु परेको छ । खत्याड गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र गम्थामा दैनिक उपभोग्य वस्तु र खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताए । गम्थामा सामान पाउन मुस्किल हुन थालेपछि स्थानीय उपभोक्ता बाजुराको बोल्टिक पुगेर खरिद गर्न बाध्य छन् । अभाव देखाउँदै स्थानीय व्यापारीले ७५ प्रतिशत मूल्य बढाउँदा उपभोक्ता मर्कामा परेका छन् ।

सडक नखुल्दा आफ्नो करिब डेढ करोडको समान गोठिज्यूलामै थन्किएको गम्थाका लोकराज दाहालले बताए । सडक अबरुद्ध हुँदा विकास निर्माणका काममा समेत बाधा परेको छ । निर्माण सामग्री लामो समयदेखि ढुवानी नहुँदा समस्या भएको वडा २ का अध्यक्ष लालबहादुर मल्लले सुनाए । ‘एक पोका तेल र एक किलो चिनी पाउनै समस्या हुन थाल्यो,’ उनले भने, ‘ढुवानी अभावमा औषधिसमेत अभाव भएको छ ।’

अबरुद्ध सडक खुलाउन कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधिसँग आग्रह गरे पनि बेवास्ता भएको खत्याडका जनप्रतिनिधिले बताए । गाउँपालिका अध्यक्ष उब्जन शाहीले पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको आरोप लगाए । उनका अनुसार प्रतिनिधिसभा सदस्य गोपाल बमसहितको टोलीले मंगलबार गोठिज्यूला पुगेर स्थानीयसँग छलफल थालेको छ । सडक बन्द हुँदा स्थानीय घण्टौं हिड्न बाध्य छन् ।

प्रकाशित : वैशाख ११, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?