दुर्गमका महिलालाई आँगनमै सेवा

गाउँ पुगेको शिविरमा जिल्ला अस्पतालले ल्याब सेवा र सुनौलो परिवार नेपालले परिवार नियोजनका अस्थायी साधन उपलब्ध गरायो
हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ३, की ३० वर्षीया देवी शाहीका पाच सन्तान छन् । आफैंले परिवार नियोजनका साधन अपनाउन सजिलै सेवा लिने ठाउँ नहुदा उनले नचाहेरै पनि पाँच सन्तान जन्माइन्  ।

अबचाहि उनी ढुक्क छिन्, घरनजिकै सञ्चालनमा आएको एकीकृत घुम्ती शिविरबाट चाहेको सेवा लिन पाइन्छ । यहीबाट उनले पाँचवर्षे परिवार नियोजनको अस्थायी साधन इम्पलान्ट लगाइन् । सोही नगरपालिका ४ की ४५ वर्षीया खिउरी विकका पनि सात सन्तान छन् । उनले पनि पा“च वर्षका लागि परिवार नियोजनको अस्थायी साधन इम्पलान्ट लगाएकी छन् ।


शाही र विकमात्र होइन, नगरपालिकाका ६ वडाका ३७ महिलाले पहिलोपल्ट परिवार नियोजनको अस्थायी साधन इम्पलान्ट राखेका छन् । दुई जनाले त आईयूसीडी राखे । यसको चा“जोपा“जो मिलाइदिएको हो, जिल्ला अस्पताल र सुनौलो परिवार नेपालले । आठबीसकोट नगरपालिकाको १, २ र ३ वडा र ४, ५ र ६ वडामा गरिएको घुम्ती शिविरमा जिल्ला अस्पतालले ल्याब सेवा प्रदान गर्‌यो ।


सुनौलो परिवार नेपालले भने परिवार नियोजनका अस्थायी साधन लगाइदिनेदेखि महिलाको स्वास्थ्य परीक्षण तथा परामर्श सेवासम्म दिएको थियो । सेवा लिएबापत महिलाले कुनै शुल्क तिर्नुपरेन । ‘हाम्रो नजिक हुने स्वास्थ्य संस्थामा अस्थायी भए पनि लामो समयसम्म राख्ने साधन पाउन मुस्किल हुन्छ,’ शाहीले भनिन्, ‘घरनजिकै आफैंलाई चाहिएको सेवा आएपछि मजस्तै धेरैले सेवा लियौं ।’ १, २, ३ को खदी र ४, ५ र ६ वडाको गोतामकोट चौतारामा दुई/दुई दिन शिविर गरिएको थियो । उक्त शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता परिचयपत्र, कृषि तथा पशु सेवाको समेत सेवा प्रदान गरिएको थियो । सोही शिविरमा पुगेका स्वास्थ्यकर्मीले भने प्रयोगशाला सेवा र परिवार नियोजनको सेवा प्रदान गरे ।


यसबाट ग्रामीण क्षेत्रका महिलाका लागि ठूलो अवसर प्राप्त भएको विकले बताइन् । ‘शिविरमा ल्याइएका अरू सेवा पनि भए होलान्,’ उनले भनिन्, ‘हाम्रा लागि त परिवार नियोजन ठूलो सेवा भयो ।’ उनले घर नजिकै यस्तो सेवा पाइएकामा खुसी व्यक्त गरिन् । खदी र गोतामकोटको शिविरबाट दुई सय ८१ जनाले प्रयोगशाला सेवा लिएका छन् । जसमा ५० जनाका पिसाब परीक्षण गरिएको थियो । दुई सय ३१ जनाको सुगर परीक्षण गरिएको छ ।


दुवै ठाउँका सर्वसाधारण प्रयोगशाला परीक्षणका लागि आठबीसकोट झर्नुपर्ने बाध्यता छ । अरू सेवा गाउँगाउँ पुगे पनि स्वास्थ्यजस्तो संवेदनशील कुरालाई हरेक वर्ष गाउँ पुर्‌याउनुपर्ने महिलाले माग गरे । शिविरमा जिल्ला अस्पतालका ल्याब असिस्टेन्ट कपिल आचार्य, सुनौलो परिवार नेपालका भिजिटर प्रोभाइडर निर्मला बीसी र स्मृति जिएम खटिएका थिए । नजिक सेवा नपाउँदा दुर्गम क्षेत्रका महिला समस्यामा परेको पाइएको बीसीले बताइन् ।


दैनिक प्रयोग गरिने साधन प्रयोगमा झन्झट मान्ने र केही वर्षसम्मको अस्थायी साधन प्रयोग गर्न टाढा जानुपर्ने भएकाले समस्या भोग्नु परिरहेको उनको भनाइ छ । नजिक हुने स्वास्थ्य संस्थामा पनि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा महिलाले समस्या भोग्न बाध्य छन् । त्यसमध्ये पनि दलित समुदायका महिलाले बढी समस्या भोगिरहेको बीसीले बताइन् ।

प्रकाशित : वैशाख १०, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

२ दिन हिंडेर नागरिकता

कान्तिपुर संवाददाता

मुगु — ‍सोरु गाउँपालिका २, नचाराका २० वर्षीय दलजित नेपाली दुई दिन पैदल हिंडेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सोमबार सदरमुकाम आइपुगेका छन् । उनीसँगै नागरिकता लिन ३१ वर्षीया लक्ष्मी नेपाली पनि सदरमुकाम पुगेकी थिइन्  ।

उनीहरूमात्र होइन, सोरु गाउँपालिकाका अधिकांश बासिन्दालाई दुई दिन पैदल हिंडेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आउनुपर्ने बाध्यता छ । यही समस्याले धेरैजासो बासिन्दा नागरिकताको प्रमाणपत्रबाट वञ्चित छन् ।


स्थानीयलाई घरबाट गमगढी पुग्न दुई दिन र फर्किन दुई दिन गरी चार दिन खर्चेर सरकारी कामकाज गर्नुपर्छ । वडा कार्यालयबाट सिफारिस र अनुसूची फाराम बोकेर सातामा करिब १२ जना स्थानीय सदरमुकाम आउने गरेका छन् । ‘अरू काम वडा र गाउँपालिकामै हुने भए पनि नागरिकता लिन सदरमुकाम आउनुपर्छ,’ दलजितले भने, ‘लामो बाटो हिंडेर आउदा धेरै सास्ती खेपेका छौं ।’ अहिले पनि सरकारी सेवाका लागि सास्ती भोगिरहेकाले स्थानीय सरकारको अनुभव नभएको उनले गुनासो गरे । उनले सानो सरकारी कामकालागि पनि धेरै रकम खर्चिनुपर्ने बाध्यता रहेको जनाए ।


विकास निर्माण तथा पञ्जीकरणको काम स्थानीय सरकारबाटै गरिरहेको भए पनि जग्गा किनबेच, नागरिकता, राहदानी सिफारिसलगायत काम गर्न सदरमुकाम आउनैपर्ने नेपालीले बताइन् । उनका अनुसार सोरु गाउँपालिकाको फोतु, नार्थपु, भीई र खत्याड गाउँपालिकाको सुकाढिक, हयाङलु मुगुमकार्मारोङ गाउँपालिकाको मुगु र डोल्फुबाट सदरमुकाम आउन दुई दिन पैदल हिंड्नुपर्छ । ‘अधिकांश ज्येष्ठ नागरिक हिंड्न नसक्ने भएकाले नागरिकताबाट वञ्चित छन्,’ उनले भनिन्, ‘नागरिकता नहु“दा उनीहरूलाई गाउँपालिकाले दिने सेवासमेत दिन सकिएको छैन ।’


स्थानीयका अनुसार सदरमुकाम आई गाउँ फर्कंदा कम्तीमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँ खर्च हुने गरेको छ । सोरु गाउँपालिकाको सोरुकोटमा ०७३ मा स्थापना गरिएको इलाका प्रशासन कार्यालय एक वर्षदेखि कर्मचारीविहीन छ । कर्मचारी नहुँदा सरकारी कामकाज बन्द भएपछि स्थानीयलाई सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।


इलाका प्रशासनमा कर्मचारी बसेर काम नगर्दा ११ वटै वडावासीले सास्ती भोग्नुपरेको वडा ६ का अध्यक्ष मानप्रसाद भट्टले बताए । उनका अनुसार कार्यालय दुई कार्यालय सहयोगीको भरमा रहदा कुनै पनि कामकाज हुन सकेका छैनन् । ‘जिल्ला प्रशासन पुगेर कुनै कागज अपुग भए वा दस्तखत नमिले दोहोरो दुःख पाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले अधिकांश बासिन्दा आधारभूत सरकारी सेवाबाट समेत वञ्चित छन् ।’


कर्मचारी अभावले सोरुकोट इलाका प्रशासनबाट कामकाज हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले बताए । उनले कर्मचारी व्यवस्थापनका लागि पटकपटक गृह मन्त्रालयमा अनुरोध गरिए पनि बेवास्ता भइरहेको गुनासो गरे ।

प्रकाशित : वैशाख १०, २०७६ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्