कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१८ हजार घरमा बिजुली

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — सरकार र विभिन्न अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा सञ्चालित नवीकरणीय ऊर्जा प्रवर्द्धन कार्यक्रम (एनआरआरईपी) मार्फत १८ हजार १ सय घरधुरीमा विद्युत् सुविधा पुगेको छ । कार्यक्रमबाट कर्णाली प्रदेशमा ६४ लघुजलविद्युत् आयोजना सम्पन्न भएका छन्, जसबाट १ हजार ८ सय ५१ किलोवाट विद्युत् उत्पादन भएको कार्यक्रमले जनाएको छ ।

विद्युत् पुगेपछि स्थानीयले वर्षौंपछि दियालो बाल्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । गाउँमा विभिन्न घरेलु उद्योग खुल्ने क्रम बढ्दै गएको छ । इन्जिनियर जगदीशकुमार खोजुले सहरी क्षेत्र लोडसेडिङको चर्को मारमा परेका बेला ग्रामीण क्षेत्रका बासिन्दाले चौबीसै घण्टा विद्युत् सेवा उपभोग गर्न पाइरहेको बताए । विद्युत् पुगेपछि गाउँमा सञ्चार सुविधा पुग्नुका साथै रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ ।


कर्णालीका १० जिल्लामा पाँच वर्षीय कार्यक्रम सम्पन्न भएपछि प्रभावकारिता अध्ययन गरिरहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार एसआरआई नामक संस्थाले कार्यक्रमको स्थलगत मूल्यांकनको काम गरिरहेको छ । संस्थाका इन्जिनियर विकास अधिकारीले केन्द्रीय लाइनमार्फत विद्युतीकरण हुन वर्षौं लाग्ने ठाउँमा नवीकरणीय ऊर्जा प्रभावकारी बनेको बताए ।


उनका अनुसार कार्यक्रममार्फत ५ हजार ७ सय बायोग्यास प्लान्ट र २४ हजार १ सय सुधारिएको चुलो जडान गरिएको थियो । बायोग्यास र सुधारिएको चुलो प्रयोगले वन संरक्षणमा समेत टेवा पुर्‍याएको उनको भनाइ छ । हिमाली जिल्लामा ३ हजार ६ सय ५८ फलामे चुलो जडान गरेपछि स्थानीयको जनजीवन सहज भएको उनले जानकारी दिए ।


त्यस्तै, कार्यक्रम लागू भएका जिल्लामा लघुजलविद्युत्मा आधारित १ सय ५७ लघुउद्यम सञ्चालन गरिएका छन्, जसका कारण दिउँसोको समयमा खेर गइरहेको विद्युत् सदुपयोग भएको छ । ‘युवाले गाउँमै रोजगारी पाइरहेका छन्,’ इन्जिनियर अधिकारीले भने, ‘गाउँमै रोजगारी पाएपछि युवाफुस्ता विदेशिने क्रम घट्दै गएको छ ।’


इन्जिनियर खोजुले लघु जलविद्युत्ले गरिबी निवारण, शिक्षा, लैंगिक समानता र महिला सशत्तीकरण, वातावरणीय दिगोपन लगायतमा सहयोग पुर्‍याइरहेको बताए । ‘सडक सुविधा नपुगेका गाउँसमेत झिलिमिली हुँदा अन्य पूर्वाधारको विकासमा समेत सहयोग पुगेको छ,’ उनले भने, ‘सल्लाको दियालोको भरमा रात गुजार्ने स्थानीयवासीले अहिले अधिकांश काम विद्युत्मार्फत गर्न थालेका छन् ।’ उनले गाउँमा विद्युत् पुगेपछि घरघरमा टेलिभिजन राख्ने र विभिन्न सञ्चार साधन उपभोग गर्ने क्रम बढिरहेको जानकारी दिए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?