विद्यालय भर्ना अभियान : पहिलो दिनमा सुनसान

विद्यार्थी भर्ना अभियान सुरु भए पनि नयाँ किताब सबैले पाएका छैनन् । भर्नाको पहिलो दिन धेरै विद्यार्थीले नयाँ किताब पाएनन् ।
हरि गौतम

रुकुम पश्चिम — नयाँ शैक्षिक सत्रको भर्ना अभियानको पहिलो दिन अधिकांश विद्यालय सुनसान देखिएका छन् । फाट्टफुट्ट विद्यार्थी भर्नाका लागि विद्यालय पुगेका थिए । जिल्लाभर ६ स्थानीय तह छन् । स्थानीय सरकारले विद्यार्थी भर्ना अभियानलाई प्राथमिक दिएनन् ।

विद्यालय भर्ना अभियान : पहिलो दिनमा सुनसान

मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले यमुनानन्द नमुना मावि पुगेर ३ र ५ कक्षाका एक छात्र र एक छात्रालाई भर्ना गरे । बाँकी स्थानीय सरकारले भर्ना अभियानको सन्दर्भमा कुनै पनि औपचारिक कार्यक्रम गरेन । मुसीकोट नगरपालिकाभित्रकै अन्य विद्यालय पनि सुनसान रहे । जिल्लाका सबै विद्यालय त खुले तर भर्ना अभियानका लागि खासै नयाँ कार्यक्रम भएनन् । केहीले भर्ना गरे तर विद्यार्थी आकर्षण गर्ने खालका खास कार्यक्रम तय भएनन् ।


‘गाउँगाउँमा स्थानीय सरकार छन्, भर्ना अभियानलाई धुमधाम गराएर सबै विद्यार्थीलाई विद्यालय ल्याउने कार्यक्रम गर्नुपर्थ्यो,’ चौरजहारी नगरपालिकाका शिवलाल ओलीले भने, ‘तर अभियानको पहिलो दिन भर्नाबारे कुनै उत्साह देखिएन ।’ विद्यालयले परम्परागत ढंगबाटै भर्ना गराएको ओलीको भनाइ छ । स्थानीय सरकारको प्राथमिकतामा नपरेको भर्ना अभियान विद्यालयले पुरानै शैलीबाट सुरु गरेको भन्दै उनले यसले शिक्षामा परिवर्तन गर्न नसकिने बताए ।


स्थानीय सरकारले विद्यालयलाई भर्ना अभियान चलाउनु भन्ने निर्देशनबाहेक अरू खास केही गर्न नसकेको बताएका छन् । अभियान चलाउने र विद्यार्थी भर्ना गर्ने भन्ने निर्देशन आयो तर कसरी गर्दा थप प्रभावकारी हुन्छ भन्नेबारे स्थानीय सरकारले चासो नदिएको एक शिक्षकले बताए । यस वर्षको अभियान सरकारको बेवास्तामा परेको उनको भनाइ छ । यो वर्षको नारा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔं,’ भन्ने तय गरिएको छ ।


विद्यार्थी भर्ना अभियान सुरु भए पनि नयाँ किताब सबैले पाएका छैनन् । भर्नाको पहिलो दिन धेरै विद्यार्थीले नयाँ किताब पाएनन् । विद्यालयको लापरबाहीका कारण यस्तो भएको स्थानीयले बताए । जिल्लास्थित साझा प्रकाशनको अधिकृत विक्रेतासम्म किताब आइसके पनि विद्यालयले किताब नलैजाँदा भर्ना अभियान सुरु भएकै दिन विद्यार्थीले पाठ्यपुस्तक नपाएका हुन् ।


६ वटै स्थानीय तहमा धेरै पाठ्यपुस्तक पुगिसके पनि सबैमा पुग्न सकेको छैन । कतिपय विद्यालयले पाठ्यपुस्तक विक्रेतासँग सल्लाहमात्रै गरेका छन् । कति विद्यालय सम्पर्कमै पुगेका छैनन् । मुसीकोट नगरपालिकास्थित समीक्षा पुस्तक पसलका सञ्चालक कृष्णबहादुर ओलीले केही विद्यालयले पाठ्यपुस्तक लिए पनि केहीले अझै नलिएको बताए । ‘कति आउनुभयो, कति आउँछौं भन्ने खबर पठाउनुभएको छ, दस/पन्ध्र दिनमा सबै विद्यालयमा पुगिसक्ला,’ ओलीले भने ।


आधारभूत विद्यालय ज्यामिरेका शिक्षक इन्द्रलाल शर्माले पाठ्यपुस्तक विद्यालयसम्म नपुगेकाले विद्यालयलाई दिन नसकेको बताए । विद्यार्थी भर्ना अभियान सुरु भए पनि पाठ्यपुस्तक विद्यालयसम्म नपुग्दा विद्यार्थीलाई भर्ना भएकै दिन किताब दिन नसकिएको भनाइ उनको छ । जिल्ला पुगेकामध्ये सबै विद्यार्थीलाई पुग्ने गरी पाठ्यपुस्तक नआएको बताइएको छ । विशेषगरी आधारभूत तहको अंग्रेजी माध्यमको पाठ्यपुस्तक आउन अझै केही समय लाग्ने व्यवसायीले बताए ।


शर्माले दोहोर्‍याए

रुकुम पश्चिम (कास)– प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले १२ विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् । बालगृहमा रहेका अभिभावकविहीन ती बालबालिकालाई शर्माले भर्ना गराएका हुन् ।


आठबीसकोट नगरपालिका ९, स्थित दीपज्योति आधारभूत विद्यालयमा ती बालबालिकालाई भर्ना गरिएको हो । शर्माका तर्फबाट स्थानीय जनक बटालाले ६ बालिका र ६ बालकलाई भर्ना गरिदिएका हुन् । अघिल्लो शैक्षिक सत्रको भर्ना अभियानका दिन अभिभावकत्व ग्रहण गरेर भर्ना गरेका उनीहरूलाई यो वर्ष पनि शर्माले भर्ना गरिदिए ।


अभिभावकत्व ग्रहण गरिसकेपछि यो वर्ष पनि उनीहरूलाई भर्ना गर्न आफैं उपस्थित हुन नसक्ने भएपछि जनक बटालामार्फत विद्यार्थी भर्ना गरिएको हो । भर्नाकै दिन उनीहरूलाई वर्षभर पुग्ने शैक्षिक सामग्री पनि प्रदान गरिएको छ । विद्यालय पोसाक नगरपालिकाले दिने भएकाले शर्माले कपी र कमल सहयोग गरेका हुन् ।


शैक्षिक सत्र ०७६ को भर्ना अभियान सुरु भएको पहिलो दिन सोमबार उनीहरूलाई भर्ना गरिएको हो । शर्माले अभिभावकत्व ग्रहण गरेकामध्ये ५ जना आमाबुवा दुवै नभएका बालबालिका हुन् । आठबीसकोट नगरपालिका १२ का नवराज बुढामगर, डिल्ली बुढामगर, ५ नं.का बमबहादुर गिरी, बिर्खबहादुर गिरी र पुतली थापाका आमाबुवा दुवैको मृत्यु भएको छ ।


यसैगरी बुवाको मृत्युपछि आमाले दोस्रो बिहे गरेका कारण संरक्षणविहीन बनेका आठबीसकोट नगरपालिका–११ की डिला सिर्पाली, मनीषा सिर्पाली, ९ की सुशीला चदारा र गोपाल विकलाई पनि शर्माले अभिभावत्व ग्रहण गरेका छन् । बुवाको मृत्युपछि आमा घरबारविहीन बनेका आठबीसकोट नगरपालिका–९ का जीवन बटाला, ८ की यसुदा सार्की र आमा मारिएपछि बुवा सम्पर्कविहीन त्रिवेणी गाउँपालिका–१० रुकुम पश्चिमकी खिमा ओलीलाई पनि शर्माले अघिल्लो वर्षदेखि अभिभावकत्व ग्रहण गरेका छन् । १२ जना अघिल्लो वर्ष भर्ना भएको कक्षाबाट राम्रो अंकसहित उत्तीर्ण भएका छन् ।


संरक्षणविहीन उनीहरू आठबीसकोट नगरपालिका–११, सिमबजारस्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएका छन् । उनीहरूको भरणपोषणका लागि पनि शर्माले अघिल्लो वर्ष २ लाख ७७ हजार रुपैयाँ सहयोग गरेका थिए । कति शर्मा आफैंले र कति अरूबाट पहल गरेर बालगृहलाई आर्थिक तथा अन्य सामग्री सहयोग भएको बालगृह सञ्चालक समिति अध्यक्ष सुनीता चनाराले बताइन् ।


यो वर्ष पनि आठबीसकोट नगरपालिका, शर्मा र अन्य केहीले बालगृहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको चनाराले बताइन् । त्यसका अलावा आफैंले उनीहरूको भरणपोषणका लागि आवश्यक सामग्री जुटाउने गरेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?