१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कर्णालीमा पुगेनन् पाठ्यपुस्तक

स्थानीय निकायले समय रकम निकासा नगर्दा आधा किताब वीरेन्द्रनगरको गोदाममा

वीरेन्द्रनगर — कर्णाली प्रदेशका लागि आएका किताबमध्ये आधाभन्दा बढी वीरेन्द्रनगरमै थन्किएका छन्  । प्रदेशका विद्यालयलाई सम्बन्धित स्थानीय तहले पुस्तक खरिदका लागि बजेट समयमै निकासा नदिँदा प्रदेश राजधानीस्थित गोदाममा छ  ।

जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयले किताब गोदाममा पर्याप्त हुँदा पनि समयमै एजेन्ट नआएकाले समस्या भएको जनाएको छ । चैत १५ सम्म कर्णालीका सामुदायिक विद्यालयका लागि ८ लाख ४८ हजार ८ सय १० थान पुस्तक आएकामा करिब ५ लाख हाराहारीमा पुस्तक बिक्री भइसकेको कार्यालय प्रमुख धनबहादुर केसीले जनाए । उनले अहिलेसम्म ४ लाख ४० हजार ३ सय ६५ पुस्तक बिक्री भएको जनाए । ‘हामीसँग किताबको अपर्याप्तता छैन,’ उनले भने, ‘सूचना निकालेर एजेन्टलाई यति गते आउन आग्रह गरे पनि कोही आएनन् ।’ स्थानीय तहले विद्यालयको खातामा समयमै बजेट निकासा नगर्दा विद्यार्थी यसको मारमा परेको प्रमुख केसीको भनाइ छ ।

एजेन्ट जुनसुकै समयमा आए पनि केन्द्रमा पुस्तक पर्याप्त भएको उनको भनाइ छ । प्रमुख केसीका अनुसार मुगु र कालिकोटबाट एक/एक एजेन्टले मात्रै पुस्तक लगेका छन् । दैलेखबाट १०, जाजरकोट र सुर्खेतबाट ९/९ एजेन्टले पुस्तक खरिद गरिसकेका छन् । बजेट निकासा चाँडै भएका स्थानीय तहका एजेन्ट आएर किताब लगेको उनले जनाए ।

सुर्खेतका सबै स्थानीय तहले विद्यालयको खातामा पुस्तक खरिदको बजेट पठाए पनि हिमाली जिल्लामा बजेट निकासामा ढिलाइ भएको छ । केन्द्रले जिल्लाका पुस्तक एजेन्टलाई जतिबेला आए पनि ऐच्छिक विषयसहित सेटको २० हजारका दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीले बताए । ‘रुकुम र सल्यानलाई नेपालगन्जबाट सहज हुने भएकाले त्यहीँबाट जान्छ,’ उनले भने, ‘केही एजेन्ट आउँदै किताब लिएर गएका छन् ।’

प्रदेशका डोल्पा, हुम्ला र जुम्लामा फागुन १ गतेदेखि शैक्षिकसत्र सुरु हुने भएकाले गत माघ मसान्तसम्म पुस्तक वितरण गरिसकेको केन्द्रले जनाएको छ । मुगु, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेतमा किताब वितरण भइरहेका छन् । केन्द्रले भौगोलिक अवस्थाका आधारमा पुस्तक ढुवानीका लागि थप ढुवानी भाडा व्यवस्था गर्दै आएको छ । पुस्तकमा ९ प्रतिशत छुट दिएर केन्द्रले बिक्री गर्छ ।

माध्यमिक तहका पुगेनन् तीन बिक्री केन्द्र रहेको हुम्लामा दुईले पाठ्यपुस्तक ढुवानी गरी वितरण सुरु गरेका छन् । जिल्लामा माध्यमिक तहका पाठ्यपुस्तक पुग्न नसकेको व्यवसायीले बताए ।सर्केघाट बिक्री केन्द्रमा प्रावि तहका पाठ्यपुस्तक पुगेर पनि बिक्री वितरण भइरहेको स्थानीय सुभास शाहीले बताए । उनका अनुसार मावि तहका पाठ्यपुस्तक पुगेका छैनन् । सर्केघाट बिक्री केन्द्रबाट चंखेली र सर्केगाड गाउँपालिकाका विद्यालयमा बिक्रीवितरण गर्ने गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख वर्षबहादुर फडेराले सिमकोट केन्द्र बनाएका विक्रेताले सिमकोट, नाम्खा र खार्पूनाथ गाउँपालिकाका विद्यालयमा पुस्तक बिक्री गरेको जनाए ।

उनका अनुसार श्रीनगर बिक्री केन्द्र बनाएका वित्रेताले ताजाकोट र अदानचुलीमा फुस्तक वितरण गर्ने गरेका छन् । श्रीनगरका विक्रेताले बाजुरा र सर्केगाड बित्री केन्द्रका लागि मुगुबाट पुस्तक ढुवानी गर्ने गरेका छन् । सिमकोटमा जहाजबाट पुस्तक ढुवानी हुन्छ । बाजुराबाट ढुवानी गर्न सहज भएकाले समयमै पुगेका छन् । सिमकोटमा जहाजबाट पुस्तक ढुवानी भइसकेको छ ।लिमीका दुई आधारभूत विद्यालय अझै खुलेका छैनन् । हिमपातका कारण लिमी आवतजावत गर्ने बाटो नखुलेकाले शिक्षक जान नसकेर विद्यालय नखुलेका हुन् ।

प्रकाशित : चैत्र २७, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?