कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दमाचौरमा खानेपानी

बिप्लब महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–१ दमाचौरमा वर्षौपछि खानेपानी सुविधा पुगेको छ । खानेपानी योजना निर्माणपछि स्थानीयले दुई घण्टा टाढा गएर पानी ल्याउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । 

गाउँमा ६ धारा र ६ सिँचाइ नल्का निर्माण गरिएपछि स्थानीयले खानेपानीसँगै सिँचाइ सुविधा पाएका हुन् । खानेपानी योजनामा स्थानीयले श्रमदानसँगै केही रकम लगानी गरेका छन् । दमाचौरस्थित मैयेनीकी दुर्गी चन्दले खानेपानी योजना बनेपछि ठूलो सास्तीबाट मुक्ति पाएको बताइन् ।


वर्षौदेखि दुई घन्टा टाढाको मूलबाट पानी ल्याउँदा निकै समस्या भोग्नुपरेको उनको भनाइ छ । ‘वर्षौदेखि टाढाबाट डोकोमा पानी बोक्दा ढाड दुख्ने समस्याबाट पीडित छु,’ उनले भने,‘घर नजिकै धारा भएपछि पुराना दुःख बिर्सिदै जान थालेका छन् ।’ उनका अनुसार अहिले पानीको लागि दिनरात हुने चिन्ता हटेको छ ।


गाउँ नजिकै खानेपानी मुहान नहुँदा स्थानीयले पानीको ठूलो समस्या झेल्दै आइरहेका थिए । स्थानीय यमुना चन्दले पानीकै अभावका कारण यसअघि करिव आधा दर्जन परिवार वसाइ सरेर अन्यत्रै गएको बताइन् । ‘सधै पानीकै पिरलो हुन्थ्यो, बिहान उठेदेखि राति नसुत्दासम्म पानीकै चिन्ता हुन्थ्यो,’ उनले भनिन्, ‘खानेपानी मात्र घरमा ल्याउथ्यौ, लुगा धुन खोलामै झनुपर्ने बाध्यता थियो ।’


खानेपानी योजना सञ्चालनपछि २१ परिवारले वर्षौदेखिको खानेपानी अभावबाट मुक्ति पाएका छन् । स्थानीय बिमला चन्दले करेंसाबारीमा पनि सिँचाइ सुविधा भएपछि तरकारी खेती गर्न सजिलो भएको बताइन् । ‘करेंसाबारीमा पालोअनुसार सिँचाइ नल्का प्रयोग गर्ने गरेका छौं,’ उनले भनिन्, ‘सिँचाइ सुविधा भएपछि गाउँमा तरकारी खेती गर्ने

लहर चलेको छ ।’


बहुउद्देश्यीय पानी प्रणाली कार्यक्रमको तीन लाख ४० हजार र स्थानीयको तीन लाख ४२ हजारमा गाउँमा खानेपानी सुविधा पुगेको हो । निर्माण समितिका अध्यक्ष लेकबहादुर चन्दका अनुसार खोलेखर्क मुहानबाट करिव ९ सय मिटर टाढाको गाउँमा पानी ल्याइएको हो ।


उनका अनुसार २०४८ सालमा साविक जिल्ला विकास समितिको २० हजार बजेटबाट गाउँमा खानेपानी धारा निर्माण गरिए पनि पाइप चोरी भएपछि स्थानीयले लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका थिए ।


छत्रेश्वरी गाउँपालिका–१ का अध्यक्ष नेबबहादुर चन्दले गाउँमा पानी आएपछि स्थानीयलाई धेरै राहत भएको बताए । ‘लामो समयदेखि खोला र कुलोको दूषित पानी उपभोग गर्न बाध्य भएका स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्,’ उनले भने, ‘सिँचाइ सुविधासमेत पुगेपछि गाउँमा तरकारी खेती गर्ने क्रम बढेको छ ।’

प्रकाशित : चैत्र १४, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?