कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रित्तियो खाद्य गोदाम

राजबहादुर शाही

मुगु — जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदाम रित्तिएको छ । हिमपातका कारण दुई महिनासम्म नाग्मा–गमगढी सडक बन्द भएपछि खाद्य संस्थानको चामल सकिएको हो । 

रित्तियो खाद्य गोदाम

सडक एक साताअघि सुचारु भए पनि ढुवानी नहुँदा चामलको मौज्जात सकिएको संस्थानले जनाएको छ । सडक अबरुद्ध हुँदा सदरमुकाममा समेत विभिन्न दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । सुर्खेत, नेपालगन्ज र बर्दियाको राजापुरबाट ढुवानी हुनुपर्ने चामल नभएपछि समस्या भएको संस्थानको शाखा कार्यालयले जनाएको छ । चामल लिन गाउँबाट सदरमुकाम आएका स्थानीय रित्तो हात फर्कन बाध्य छन् ।


चामलले टनाटन भरिने खाद्य गोदाम रित्तिए पछि उपभोक्ता चिन्तित बनेका छन् । चामल लिन बसेका स्थानीयबासी रित्तो हात फर्कन बाध्य भएका हुन् । खाद्यमा चामल नभएपछि गमगढी बजारमा गहँगोमा किनेर उपभोग गर्नुपरेको स्थानीयको गुनासो छ । संस्थानका दुई ठूला गोदाम रित्तिएको निमित्त शाखा प्रमुख पुष्कर भामले बताए ।


उनका अनुसार एउटा गोदाम पुरै रित्तो र अर्कोमा करिव १२ सय क्विन्टल जापानीज चामल मात्र छ । ‘त्यो चामल प्रायः खपत हुदैन, अरु चामल सकिएपछि गोदाम रित्तिएका छन्,’ उनले भने, ‘लामो सडक अवरुद्ध हुँदा समस्या भएको हो, माथिल्ला निकायमा तत्काल चामल माग गरिएको छ ।’ सडक सुचारु भइसकेकाले केही दिनभित्रै चामल आइपुग्ने उनले जानकारी दिए । उनका अनुसार लामो समय खाद्य गोदाम रित्तिएको यो पटक हो ।


जिल्ला सदरमुकामकै खाद्य गोदाम रित्तिएपछि ग्रामीण क्षेत्रका डिपोमा चामल ढुवानी बन्द भएको छ । सोरुकोट, पुलू, हुम्लाको सर्केगार्ड र कालै खाद्य डिपोमा जिल्ला सदरमुकामबाटै चामल ढुवानी हुने गरेको छ । खाद्य गोदाममा चामल सकिएपछि एसईई परीक्षा दिने विद्यार्थी मर्कामा परेका छन् ।


यसअघि सदरमुकाम र आसपासका केन्द्रबाट परीक्षा दिने विद्यार्थीले खाद्यको चामल उपभोग गर्थे । चालु आर्थिक वर्षमा १० हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको थियो । त्यसमध्ये पाँच हजार ६ सय क्विन्टल ढुवानी भइसकेको छ । निमित्त प्रमुख भामले चार हजार चार सय क्विन्टल चामल ढुवानी हुन बाँकी रहेको जनाए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?