सुरु भएन रोजगार कार्यक्रम

मुगु — जिल्लामा प्रधानमन्क्री रोजगार कार्यत्रम अझै सुरु हुन नसकेको छैन । फागुन १ गतेबाट सुरु हुने भन्दै प्रचार गरिएको कार्यक्रम चैतमा समेत सुरु हुन सकेको छैन । 

जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथरारा नगरपालिकामा मात्र रोजगार अधिकृतको रुपमा नेत्र बुढालाई खटाइएको छ । सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकामा अझैसम्म अधिकृतस्तरका कर्मचारी नपठाउँदा कार्यक्रम सञ्चालनको अन्यौल बढेको जनप्रतिनिधिले जनाएका छन् ।


फागुन १ गतेदेखि बेरोजगार युवायुवतीको तथ्यांक संकलन गर्ने सरकारले कार्यक्रम तय गरेको थियो । नगरपालिकामा रोजगार अधिकृत आए पनि कार्यालय स्थापना नहुदा कामकाज अघि बढ्न सकेको छैन ।


नगरपालिकाले कोठा उपलब्ध नगराउँदा काम गर्न समस्या भएको रोजगार अधिकृत बुढाले बताए । ‘कार्यालय स्थापना गरी कामकाजको व्यवस्थापन मिलाउने जिम्मा स्थानीय तहको हो, मैले पटकपटक गरेको आग्रहलाई जनप्रतिनिधिले बेवास्ता गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले जिम्मेवारी अनुसारको काम अझै सुरु गर्न सकिएको छैन ।’


चालु आर्थिक वर्ष सकिन चार महिनामात्र बाँकी रहेकाले अझै काम सुरु नहुँदा तथ्यांक संकलनको काम नसकिने चिन्ता रहेको उनले गुनासो गरे । कार्यक्रम सुरु नहुँदा बेरोजगार युवामा निराशा बढ्न थालेको उनले बताए । दैनिकजसो दुई दर्जन बढी युवाले कार्यक्रमबारे सोध्ने गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?